अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेपछि मुख्यसचिव स्वतः निलम्बन, कसले पाउला निमित्तको जिम्मेवारी ?




काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै मुख्यसचिव वैकुण्ठ अर्याल स्वतः निलम्बनमा परेका छन् ।

सञ्चार मन्त्रालयको सचिव हुँदाको समयमा सुरक्षण मुद्रण केन्द्रको बजेटबाट अन्तःशुल्कको स्टिकर खरिद गराउँदा राज्यकोषमा हानी नोक्सानी पुर्याएको भन्दै अख्तियारले आइतबार उनीसहित १२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १७ अनुसार मुद्दा दर्ता भएसँगै मुख्य सचिव अर्याल स्वतः निलम्बित भएका हुन् । दफा १७ मा सार्वजनिक पद धारण गरेको कुनै व्यक्तिविरुद्ध मुद्दा दायर गरे पछि मुद्दा किनारा नभए सम्मको अवधिभर त्यस्तो व्यक्ति स्वतः निलम्बन हुने व्यवस्था छ ।

मुख्यसचिव अर्याल निलम्बनमा परेसँगै सरकारले अब अर्को कुने एक सचिवलाई निमित्त मुख्यसचिवको जिम्मा दिनुपर्ने छ । सरकारले प्रधानमन्त्री कार्यालयभित्रैबाट एक सचिवलाई निमित्तको जिम्मा दिन सक्ने वा वरिष्ठताका आधारमा हाल गृहमन्त्रालयका सचिव एकनारायण अर्याललाई जिम्मेवारी पनि तोक्न सक्छ । हाल मन्त्रिपरिषद्को कार्यालयमा सचिव रहेकी लिलादेवी गड्तौलालाई पनि निमित्त दिन सक्ने सम्भावना छ ।


क्लिकमान्डु