विदेशमा पनि प्रभाव जमाइरहेका १० नेपाली स्टार्टअप



काठमाडौं । वैदेशिक रोजगारीका लागि नेपालीहरु विदेश जाने क्रम तीब्र रुपमा बढिरहँदा पछिल्लो समय युवाहरुले विभिन्न स्टार्टअपबाट रोजगारी सिर्जना गर्नुका साथै युवाहरुमा आशा जगाउने काम गरिरहेका छन् । सानो लगानीमै युवाहरुले सुरु गरेका स्टार्टअपले अब देशमै केही गर्न सकिन्छ भन्ने सन्देश दिएका छन् ।

यसले देशमै उद्यमको संस्कार त बढाएको छ कतिपय स्टार्टअपले विश्वव्यापी रुपमा प्रशंसा पनि पाएका छन् । कानुनी सेवादेखि स्वास्थ्य सेवा हुँदै ऊर्जाको क्षेत्रमा पनि स्टार्टअपहरु सञ्चालन हुने क्रम बढ्दो छ । खातापाना, निमा एकेडेमी, अक्वेस्टा, बिजुली पावर लगायत केही प्रतिनिधि कम्पनीहरु यसका उदाहरण हुन् ।

खातापाना : कानुनी सेवाको सहजीकरण

लेक्सपर्टइज नाममा सुरु भएको यो कम्पनी हाल खातापानाको नामबाट भिनिन्छ । यसले कानुनी सेवालाई अनलाइनको माध्यमबाट सहज बनाउँदै आएको छ । यसले नेपालमा धेरैभन्दा धेरै मानिसलाई आफ्नो अनलाइन प्लेटफर्मको माध्यमबाट कानुनी सेवाको पहुँच उपलब्ध गराउँदै आएको छ ।

हाल यो कम्पनी खातापानाको ठूलो छाता संगठनको रुपमा एक सक्रिय व्यवसायको रुपमा चिनिएको छ । खातापाना एक अनलाइन सेवा प्रदायक कम्पनी हो । जसले प्रत्यक्ष रुपमा विदेशी लगानी, व्यवसाय पंजीकरण, कर, कानुनी तथा न्यायिक समाधानसहित विभिन्न कानुनी व्यवसायिक सेवा प्रदान गर्छ ।

अमेरिकामा डूलाको सहायतामा स्थापित स्टार्टअप जेनबिजनेस र वाइकम्बिनेटरसँग यसलाई केही मिल्दोजुल्दो मानिन्छ । यसले व्यक्तिगत रुपमा उद्यमीहरुलाई वित्तीय व्यवस्थापको काम गरिदिन्छ । व्यवसायका लागि यसले सहज क्लाउड बेस्ड लेखा प्रणाली पनि प्रदान गर्छ । जुन उद्यमीहरुका लागि उपयुक्त हुने बताइन्छ । खातापानाको सेवाहरु पाउनका लागि यसको वेबसाइट भिजिट गर्न सकिन्छ । साथै गुगल प्ले स्टोर वा एप स्टोरमा गएर यसको एप डाउनलोड गरेर पनि सेवा लिन सकिन्छ ।

निमा एकेडेमी : अनलाइन एजुकेसन

निमा एकेडेमीले पनि आफ्नो लर्निङ प्लेटफर्ममार्फत् अनलाइन कोर्स उपलब्ध गराउँदै आएको छ । विशेषगरी १० वर्षभन्दा माथिका विद्यार्थीहरुका लागि यसले आकर्षक डिजिटल लर्निङको अवसर प्रदान गर्छ । अन्तरक्रियात्मक शिक्षामा ध्यान दिँदै यसले कुनै पनि स्थानबाट यसको उपभोग गर्न सकिने सुविधा दिएको छ । निमा एकेडेमीले शैक्षिक विषयदेखि सीपमुलक विकास र अन्य थुप्रै विषयमा अनलाइन सिकाइलाई जोड दिँदै आएको छ ।

अक्वेस्टा : क्रप एन्ड फार्मिङ सोलुसन

अक्वेस्टाले दीगो प्रविधिको माध्यमबाट साना किसानहरुलाई व्यवसाय उकास्न र धेरै नाफा कमाउने तरिकाहरु सिकाएको हुन्छ । यो स्टार्टअपले ‘बर्सा पम्प’ नामको एक यस्तो उपकरण तयार पारेको छ, जसले ऊर्जाको आवश्यकता बिना नै छिमेकी खेतसम्म पानी पुर्‍याउन बगिरहेको जलस्रोतको शक्तिको उपयोग गर्छ । हाल देशभर ७ हजार किसानहरुले अर्गानिक र दीगो रुपमा आफ्नो कृषि व्यवसाय बढाउनका लागि यो उपकरण उपयोग गरिरहेका छन् ।

बिजुली पावर : ईभीका लागि वित्तीय समाधान

बिजुली पावर ईभीका लागि वित्तीय पहुँचताको माध्यमबाट बिजुली पावरले नेपालका सडकहरुलाई हरियाली बनाउन मद्दत गरिरहेको छ । यस कम्पनीले देशभर सुक्ष्म उद्यमीहरुको एक सञ्जाल बनाउन मद्दत गरिरहेको छ । जसले उनीहरुलाई ईभीसम्म सहज पहुँच बढाओस् । साथै यसको उपयोगबाट आम्दानी सिर्जना गर्न पनि बिजुली पावरले मद्दत गरिरहेको छ । उनीहरुको पहलबाट बिजुली पावरले नेपालमा दीगो र लाभदायी अर्थतन्त्र निर्माण गर्न काम गरिरहेको छ ।

खल्ती : वित्तीय कारोबारमा सहजता

खल्तीले थुप्रै मानिसहरुलाई आफ्नो डिजिटल वालेट प्लेटफर्मको माध्यमबाट पैसा व्यवस्थापनका लागि काम गरिरहेको छ । जसले आम उपभोक्ताहरुलाई द्रुत र सुरक्षित अनलाइन भुक्तानीको सुविधा उपलब्ध गराएको छ । पछिल्लो समय नेपालमा यसको उपभोग गर्नेहरुको संख्या अत्यधिक रुपमा बढ्दो मात्रामा छ । नेपालीहरुलाई आफ्नो सबै डिजिटल रकम एकै स्थानमा व्यवस्थित गर्ने अनुमति दिँदै खल्तीले आम उपभोक्ताहरुलाई छिटो छरितो वित्तीय कारोबारमा अभ्यस्त बनाउँदै गरेको छ ।

खालीसिसी : रिसाइक्लिङमा क्रान्ति

खालीसिसी एक पर्यावरणमैत्री स्टार्टअप हो । जसले फोहोर विक्रेताहरुलाई दैनिक रिसाइकल गर्नेहरुसँग जोड्ने काम गरेको हुन्छ । फोहो व्यवस्थापनको कामलाई सुरुदेखि अन्त्यसम्म यसले एक सहज प्रक्रिया बनाइदिएको छ । विशेषगरी रिसाइकल हुने फोहोरमैलालाई संकलन गरी उपभोक्तालाई बिक्री गरेर यसले फोहोर व्यवस्थापनको काम सहज बनाइदिएको हुन्छ ।

तर यो विधि पर्यावरणमैत्री पनि हुन्छ । साथै यस कम्पनीले हरियाली पर्यावरण निर्माणमा योगदान दिने गरी ल्यान्डफिलमा जाने रिसाइकल फोहोरको मात्रा घटाउने अभियान नै सञ्चालन गरेको छ । नेपालमा अव्यवस्थित रुपमा बनेका ठूला सहरहरुमा फोहोर व्यवस्थापनको काम झन्झटिलो र समस्याग्रस्त बनिरहँदा खालीसिसी कम्पनीले गरेको काम सिर्जनशील र उपयोगी मानिएको छ ।

एरोसन ट्वाइलेट : ग्रामीण समुदायमा दीगो सरसफाइ

जनस्वास्थ्य र सरसफाइ सुधारमा केन्द्रित भएर डिजाइन गरिएको एरोसन ट्वाइलेटको अवधारणा विशेषगरी शौचालय आवश्यकता भएका ग्रामीण क्षेत्रमा उपयोगी मानिन्छ । यस्ता ट्वाइलेटले दीगो रुपमा शौचालय सुविधाको आवश्यकता पूर्ति गरेका हुन्छन् । यस्ता सार्वजनिक शौचालयले सफा र पहुँचयोग्य शौचालयको आवश्यकतालाई मात्रै सम्बोधन गर्दैनन् । बरु सुरक्षित रुपमा फोहोर विसर्जनको प्रक्रियाबाट समुदायको समग्र विकासमा पनि योगदान पुर्‍याइरहेका छन् ।

हनीगाइड एप्स : आउटडोर एडभेन्चर्स

हनीगाइड एपले सर्वोच्च शिखर सगरमाथा, अन्नपूर्ण र घोडेपानी पदमार्गमा पर्यटकहरुका लागि पथप्रदर्शकको काम गर्छ । यो प्रविधिले विशेषगरी त्यस हिमाली पदयात्रामा पर्यटकहरुको सुरक्षा र पथप्रदर्शकको काम गरेको हुन्छ ।

साथै यो एपले पदयात्राको बारेमा जानकारी दिनाले पर्यटकहरुलाई निकै सहज र उपयोगी हुने गरेको छ । यससँगै हनीगाइडले पदमार्गीलाई अनलाइनबाट सेवाका लागि अग्रिम बुक गर्न सक्ने सुविधा पनि उपलब्ध गराउँछ ।

पाइला टेक्नोलोजी : रोबोटिक्स एन्ड एआई डेभलपमेन्ट

पाइला टेक्नोलोजी एउटा एआई तथा रोबोटिक्स कम्पनी हो । जसले आम मानिसको दैनिक जीवनमा उपयोगी हुने रोबोटहरु उत्पादन तथा विकास गरिरहेको छ । ग्राहक सेवादेखि, व्यापार सहायता तथा च्याटबट सम्म कम्पनीले रोबोट विकासको नयाँ उपाय खोजिरहेको छ ।

इसेवा : डिजिटल पेमेन्ट वालेट

इसेवा एउटा सहज डिजिटल वालेट एप हो । आम मानिसलाई जहाँबाट पनि जहाँसुकै द्रुत रुपमा भुक्तानी गर्न यो एप सहज विधि मानिन्छ । नियमित घरायसी बिल तिर्नेदेखि अनलाइन सपिङ गर्न पनि यो उपयोगी मानिन्छ । इसेवा वित्तीय कारोबारलाई सुविधाजनक र सुरक्षित बनाउने लक्ष्यसहित आम उपभोक्तामाझ लोकप्रिय छ ।

पछिल्लो समय इसेवा ग्रामीण क्षेत्रमा समेत प्रयोगमा आउँदै गरेको छ । विशेषगरी मोबाइल रिचार्ज, किनमेल, बिजुली, इनेटरनेट लगायतको बिल तिर्ने जस्ता भुक्तानीका लागि घन्टौं लाइन बस्नुपर्ने बाध्यतालाई इसेवाले अत्यन्त सहज र छिटोछरितो बनाइदिएको छ ।

यी १० वटा स्टार्टअपले पछिल्लो समय देशको अर्थतन्त्रमा उल्लेखनीय योगदान दिँदै आएका छन् । विभिन्न क्षेत्रमा सिर्जनशील व्यवसायको रुपमा स्थापित यी व्यवसाय सानो लगानीबाटै सुरु भएर अहिले देशभर विशाल र लोकप्रिय व्यवसायको रुपमा स्थापित छन् । युवाहरु विदेशिने क्रम तीब्र भइरहँदा यस्ता व्यवसायले स्वदेशमै केही गर्न सकिन्छ भन्ने आशा जगाएको देखिन्छ ।

यस्तै सीर्जनशील योजनाबाट सुरु भएका यस्तै दुई स्टार्टअप सञ्चालन गर्ने दुई युवतीहरु यसै वर्ष फोर्ब्सको ३० वर्षमुनिका प्रभावशाली ३० युवाहरुको सूचीमा पर्न सफल भए । ह्याप्पी माइन्ड्सको सञ्चालक काठमाडौंकी श्रिया गिरी र भिगान डेरी सञ्चालक काजोल सेठिया २०२४ को ‘३० अन्डर ३० फोर्ब्स सोसल इम्प्याक्ट’को सूचीमा पर्न सफल भए । नगण्य लगानी तर सीर्जनशील योजनाबाट सुरु गरेका स्टार्टअपले छोटो समयमै उनीहरुलाई विश्वभर चिनाइदिएको छ ।


क्लिकमान्डु