हाइड्रोपावरको सुरुङमार्गमा पहिलो पटक टीबीएम मेसिन प्रयोग हुँदै, दुधकोसीमा प्रयोग गर्ने निर्णय



काठमाडौं । दुधकोसी जलाशययुक्त जलविद्युत् आयोजनामा टनेल बोरिङ मेसिन (टीबीएम) प्रयोग हुने भएको छ ।

आयोजना परामर्शदाता कम्पनी इएलसी इलेक्ट्रो कन्सल्ट एसपीए (इटाली) ले टीबीएम प्रविधिबाट सुरुङमार्ग निर्माण गर्न सकिने सिफारिस गरेपछि आयोजनाले यस्तो निर्णय गरेको हो ।

‘केहि वर्षअघिसम्म दुधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाको मुख्य सुरुङ खन्ने कार्यमा टीबीएमको ‘टी’ पनि उच्चारण नगरेको अवस्था थियो, विगत ९ महिनादेखिको अथक मेहेनत, अन्तर्क्रिया, सुनकोसी-मरिणको स्थलगत अवलोकन भ्रमणहरू, विस्तृत अध्ययन, टिबीएम बनाउने कम्पनीका विज्ञहरूसँग घनिभूत छलफलपश्चात हामी यस्तो निर्णयमा पुगेका छौं,’ आयोजना प्रमुख बिमल गुरुङले भने, ‘१३ किलोमिटर लामो मुख्य सुरुङको निर्माण अब टीबीएम प्रविधिबाट निर्माण गर्ने भएका छौं ।’

उनका अनुसार विगत ९ महिना परामर्शदातालाई विभिन्न विकल्पहरू र सुझावहरू दिँदै ६ वटा पत्रहरू कम्पनीले पठाएको थियो । परामर्शदाता कम्पनीका विज्ञहरूसँग छलफल भएको थियो ।

यस्ता छन् टीबीएमका फाइदा

गुरुङका अनुसार पराम्परागत ब्लास्टिङ प्रविधिको सट्टा टीबीएमबाट मुख्य सुरुङको निर्माण गर्दा धेरै फाइदाहरु हुन्छन् । ४ किलोमिटर लामो विभिन्न अडिट सुरुङहरू खन्नु पर्दैन । जसबाट करिब ३ लाख २२ हजार घनमिटर चट्टान र माटो खन्ने काम घट्छ । ८ किलोमिटर सहायक सडकहरू बनाउनु पर्दैन। करिब २ लाख २६ हजार घनमिटर कंक्रिट कम हुन्छ । मुख्य र अडिट सुरुङहरू खन्न करिब ३,६०० टन विष्फोटक पदार्थ चाहिदैन् ।

‘पुरानो विधिमा ३ किलोमिटरसम्म लामा अडिट सुरुङहरूको स्लोप भित्रतिर अर्थात् नेगेटिभ स्लोप भएको कारणले निर्माणताका पम्पिङ गर्नुपर्दा र माटो निकाल्ने क्रममा उकालो हिँड्नुपर्दा ठुलो धनराशी र समय खर्च हुने अवस्था थियो,’ गुरुङले भने, ‘अब टीबीएम प्रविधिमा त्यो खर्च बचत हुनेछ ।’

उनका अनुसार मानवीय हताहत करिब शून्य जस्तै हुनेछ । भौगर्भिक जोखिम र अनिश्चितताहरू सारभूतरूपमा घट्नेछ । सुरुङको चट्टान र माटो खन्ने काम ठूलो मात्रामा घटेको तथा ८ किलोमिटर सडक बनाउनु नपर्ने कारणले गर्दा वातावरणीय प्रभाव घट्ने भएको छ ।आयोजना अनुसार लागतको तुलना गर्दा अन्य आयोजनाहरूमा टीबीएम प्रविधि करिब दोब्बर नै पर्ने देखिन्छ । दुधकोसीमा चाहिँ अडिट सुरुङहरूलगायत विभिन्न कार्यहरू र वातावरणीय असर घट्ने भएकोले हालको दर विश्लेषण र अन्य लागतहरू हेर्दा दुवै प्रविधिहरूमा खर्च करिब समान हुने देखिएको छ ।

नेपालमा जलस्रोत तथा सिंचाइ विभागअन्तर्गत भेरी-बबई र सुनकोशी-मरिण डाइभर्सन आयोजनाहरूको मुख्य सुरुङहरूको निर्माण कार्य टीबीएम प्रविधिबाट सफलतापूर्वक सम्पन्न भइसकेको छ । जलविद्युतमा दुधकोसी जलाशययुक्त आयोजना टीबीएम प्रविधि प्रयोग गर्ने नेपालको पहिलो जलविद्युत आयोजना हुने भएको छ ।

६३५ मेगावाटको दुधकोसी जलविद्युत् आयोजना निर्माणको तयारी भइरहेको छ । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी मार्फत आयोजना निर्माण गर्ने योजना छ । अहिले आयोजनामा लगानी जुटाउने गृहकार्य भइरहेको छ ।

१ खर्ब ६० अर्ब रुपैयाँ लागत गरिएको यो परियोजना एसियाली बिकास बैंक (एडीबी) लगायतका दातृ निकायहरु इच्छुक छन् । सहवित्तियकरण मार्फत लगानी हुने आयोजनाको नेतृत्व एडीबीले गर्ने विषयमा छलफल चलिरहेको छ ।

एडीबीकै अनुदान सहयोगमा यो परियोजनाको विस्तृत अध्ययन र डिजाइन भएको हो ।

यो आयोजनाबाट वार्षिक रुपमा ३ अर्ब ४४ करोड ३० लाख युनिट ऊर्जा उत्पादन हुनेछ । उत्पादित बिजुली प्रस्तावित सुनकोसी-ढल्केबर ४०० केभी प्रसारणलाइन मार्फत राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिनेछ ।

आयोजनाबाट खोटाङ, ओखलढुंगा र सोलुखुम्बुका ३ हजार ८७६ हेक्टर जमिन प्रभावित हुनेछ । १ सय ६२ घरपरिवार पूर्ण रुपमा विस्थापित हुनेछन् । ९८८ घर आंशिक रुपमा प्रभावित हुने अध्ययनले देखाएको छ ।


क्लिकमान्डु