रकम भुक्तानी माग गर्दै झापाका दुग्ध किसानले प्रधानमन्त्रीलाई पठाए ज्ञापनपत्र



झापा । दुग्ध किसानको बक्यौता रकम तत्काल भुक्तानी दिने व्यवस्था मिलाउन माग गर्दै नेपाल किसान महासंघ झापाले प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र पठाएको छ ।

जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलामार्फत महासंघका अध्यक्ष रतन थिङ्लावोको नेतृत्वमा गएको किसानको टोलीले ज्ञापनपत्र पठाएको हो ।

ज्ञापनपत्रमा नेपाली किसानले उत्पादन गरेको दूध खरिद गरी ‘मिल्क होलिडे’ अन्त्य गरिनुपर्ने, उत्पादनका आधारमा दिइँदै आएको अनुदान कार्यक्रम पुनःसञ्चालनमा ल्याइनुपर्ने, सहुलियत कृषि ऋण र पशु बीमा अनुदान कार्यक्रम परिणाममुखी बनाइनुपर्ने, कृषि बीमामा सरकारको तर्फबाट दिइने अनुदान तत्काल उपलब्ध गराएर किसानलाई बीमा वापतको रकम पाउने अवस्था सिर्जना गर्न माग गरिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादन पुर्‍याउनुपर्ने,दुग्धजन्य पदार्थको आयात रोकेर आत्मनिर्भर बनाउन पहल गर्नुपर्ने, पाउडर दूध उत्पादन केन्द्रलाई पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्ने, नेपालको आन्तरिक खपत आन्तरिक उत्पादनबाटै गर्ने अनिवार्य व्यवस्था गर्नुपर्ने, लम्पीस्किन रोगबाट पशुको क्षति व्यहोराका किसानलाई तत्काल अनुदान दिनुपर्ने, बर्खे धानको उचित मूल्य तोकी सरकारले नै खरिद गर्ने व्यवस्था मिलाउन ज्ञापनपत्रमा माग गरिएको छ ।

सरकारले तत्काल सम्बोधन गर्नुपर्ने उक्त माग पूरा नभए सडक आन्दोलनमा निस्कन बाध्य हुने चेतावनी पनि किसानले दिएका छन् । किसानले ज्ञापनपत्रमा किसानको समुन्नतिले मात्रै समग्र राष्ट्रको समुन्नति हुने भन्दै त्यसतर्फ सरकारलाई सचेत गराएका छन् ।

नेपालमा कृषि पेसामा आबद्धमध्ये ८६ प्रतिशत पशुपालन क्षेत्रमा संलग्न, देशको अर्थतन्त्रमा लगभग ६ प्रतिशत योगदान दुग्धजन्य उत्पादनको रहेको, ३० लाख घरपरिवार प्रत्यक्ष/अप्रत्य क्षरुपमा दुग्धजन्य उत्पादनमा रहेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

दुग्ध उत्पादनतर्फ किसानको आकर्षण बढ्दै गएर स्वरोजगारी सिर्जना हुने अवस्थामा सरकारी बेवास्ताका कारण पेसा नै धरासायी हुनेतर्फ गम्भीर हुन सरकारको ध्यानाकर्षण गराइएको छ । सो ज्ञापनपत्र आजै प्रधानमन्त्री कार्यालयमा पठाइदिने प्रजिअ बास्तोलाले आवश्वासन दिए ।

यसबीचमा भुक्तानी पाउनु पर्ने माग गर्दै विभिन्न किसान सम्बन्धी संगठनमा रहेका दुग्ध किसानहरुले काठमाडौंमा आन्दोलन गर्दै आएका छन् ।


क्लिकमान्डु