१५ हजार अटो डिलरको सफ्टवेयर कम्पनीमा साइबर आक्रमण



एजेन्सी । डेटा प्रदायक कम्पनी सीडीके ग्लोबलको सिस्टममा साइबर आक्रमणको घटनाका कारण बुधबार अमेरिका र क्यानडाको कार डिलरसीप प्रभावित भएको छ ।

१५ हजार अटो डिलरहरुलाई सफ्टवेयर उपलब्ध गराउने सीडीके ग्लोबलमा साइबर आक्रमणपछि सम्बन्धी समस्या देखिँदा एकै पटक काम प्रभावित भएको हो ।

सीडीकेकी प्रवक्ता लिसा फिन्नेले भने कम्पनीमा देखिएको साइबर घटनालाई कम्पनीले सक्रिय रुपमा अनुसन्धान गरिरहेको बताएकी छन् । ‘हाम्रा ग्राहकहरुका लागि अत्यधिक सावधानी र चिन्ताका कारण हामीले अधिकांश सिस्टम बन्द गरिदियौं । र जतिसक्दो छिट्टै यो समस्या समाधान गर्न लागिपरेका छौं,’ लिसाले भनेकी छन् ।

अन्तर्राष्ट्रिय मिडियाका अनुसार साइबर आक्रमणको घटनाले गर्दा सीडीकेको उत्पादन प्रयोग नगर्ने डिलरहरुले पनि समस्या झेल्नु परेको छ ।

गर्मीयाम सुरु भएसँगै यस समयलाई कार खरिदको सिजनको रुपमा लिइरहँदा सफ्टवेयर प्रदायक कम्पनीमा देखिएको साइबर घटना कार सम्बन्धी कम्पनी र निर्माताका लागि चिन्ताको विषय बनेको छ । तर सीडीकेका अनुसार सेवा अवरुद्ध भएको केही घन्टापछि कतिपय कम्पनीहरुको सिस्टम पुन: सञ्चालनमा आएको थियो ।


क्लिकमान्डु