किसानलाई दुधको पैसा नदिएको डीडीसीले कर्मचारीलाई भत्ता बाँड्ने, आज पनि किसानद्वारा डीडीसी घेराउ



काठमाडौं । दुध बिक्री गरेवापत पाउनु पर्ने भुक्तानीको माग गर्दै दुग्ध किसानहरुले बिहिबार पनि लैनचौरस्थित दुग्ध विकास संस्थान(डीडीसी) को केन्द्रीय कार्यालय घेराउ गरी आन्दोलन गरिरहेका छन् ।

दुधको बक्यौंता रकम नआउँदासम्म डीडीसीमा घेराउ र धर्ना कार्यक्रमलाई निरन्तरता दिइने केन्द्रीय दुग्ध सहकारी संघले जनाएको छ । संघको अगुवाइमा विभिन्न जिल्लाबाट आएका २ सयभन्दा बढी दुग्ध किसानहरु डीडीसीको केन्द्रीय कार्यालय घेराउ गरी धर्ना दिँदैछन् ।

संघका महासचिव राम आचार्यका अनुसार सयौंको संख्यामा उपस्थित रहेका सुरक्षाकर्मीको घेरा तोडेर किसानहरु आन्दोलनमा ओर्लेका छन् । डीडीसीले किसानलाई करिब ७ महिनाको २ अर्बभन्दा बढी रकम तिर्न बाँकी छ । निजी क्षेत्रका डेरी उद्योगले भने करिब ४ अर्ब रुपैयाँ भुक्तानी गरेको छैनन् ।

किसानलाई बक्यौता रकम उपलब्ध नगराउने डीडीसीले भने हालै कर्मचारी र सञ्चालक समितिका पदाधिकारीलाई भने भत्ता बितरण गर्ने निर्णय गरेको छ ।

पूर्वनिर्धारित कार्यक्रमअनुसार बुधबार डीडीसीको केन्द्रीय कार्यालय घेराउ गर्न पुगेका किसानलाई लछाडपछाड गर्दै सुरक्षाकर्मीले करिब डेढ सय जनालाई पक्राउ गरी सोह्रखुट्टे प्रहरी कार्यालयमा राखेको थियो । पक्राउ परेका किसानलाई बुधबार दिउँसो मुक्त गरिएको थियो ।

नेकपा एमालेका सचेतक महेश बर्तौला प्रहरी कार्यालयमै गएर आन्दोलनरत किसानको बारेमा जानकारी लिँदै आन्दोलनप्रति ऐक्यवद्धता जनाएका थिए ।

बुधबार संसदको बैठकमा केही सांसदहरुले दुधको भुक्तानी नपाएको किसानले भुक्तानी माग्दा पक्राउ गरिएको घटनाको निन्दा गर्दै तत्कालै भुक्तानी उपलब्ध गराउन सरकारसँग माग गरेका थिए ।


क्लिकमान्डु