ऋणले ५ वर्षमा मुलुक ध्वस्त हुने बाटोमा पुग्छः सांसद घिमिरे



काठमाडौं । नेपाली कांग्रेसका सांसद श्यामकुमार घिमिरेले सार्वजनिक ऋणले वित्तीय अवस्थामा मुलुक ध्वस्त हुने बाटोमा अग्रसर भएको बताएका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र अर्थ मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै सांसद घिमिरेले चालु खर्च मुलुकले धान्न नसक्ने गरी अत्याधिक रुप वृद्धि भएको बताए ।

मुलुकमा यही रुपमा चालु खर्च वृद्धि हुँदै जाँदा आगामी पाँच वर्षसम्म पनि टिक्न नसक्ने अवस्था देखिएको उनको भनाइ छ । सार्वजनिक वित्तीय खर्च अत्याधिक बढेर २४ खर्ब सार्वजनिक ऋण पुग्दा समेत आगामी आर्थिक वर्षमा अर्थमन्त्रीले ६ खर्ब ऋण थप्ने गरी सार्वजनिक ऋण ३० खर्ब रुपैयाँ पुर्‍याउन लागेको भन्दै घिमिरेले आपत्ति जनाए ।

उनले साँवा ब्याज भुक्तानी लगायतका वित्तीय व्यवस्थापन बढ्ने अवस्था देखिएकाले त्यो आधारमा खर्च थपिँदै जाँदा पाँच वर्ष भन्दा बढी मुलुक चलाउन मुस्किल हुने बताएका हुन् ।

रणनीतिक सडकहरुमा एक वर्ष बजेट दिने र अर्को वर्ष बजेट कट्टा गरी सडक पूर्ण नगर्ने प्रवृत्ति राम्रो नभएको उनले बताउ ।

सिन्धुलीको कमला नदी नियन्त्रणको नाममा राज्यको धन खेर फालिएरहेको उनले बताए ।।

नदी नियन्त्रणको लागि आवश्यक बजेट व्यवस्थापन गर्न नसक्ने भन्दै नदी नियन्त्रण कार्यालय खारेज गर्न सुझाव दिए ।

उनले कमला नदी नियन्त्रण कार्यालय र कर्मचारी राखेर राज्यको पैसा दुरुपयोग गर्ने काम बाहेक अरु केही नदेखिएको बताए ।


क्लिकमान्डु