कोशी प्रदेश : आगामी आर्थिक बर्षको लागि ३५ अर्ब २७ करोड



विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँ विनियोजन गरेको छ ।
प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले प्रदेशसभामा आज उक्त बजेट प्रस्तुत गरेका हुन् ।

कोशी प्रदेश सरकारले पूर्वाधार विकासका लागि १० अर्ब ४१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । प्रदेशसभामा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षका लागि पूर्वाधार विकासका लागि १० अर्ब ४१ करोड ५१ लाख बजेट खर्च हुने अनुमान गरेका छन् ।

यस्तै कृषि तथा सहकारी क्षेत्रका लागि प्रदेश सरकारले २ अर्ब ६७ करोड विनियोजन गरेको छ । कृषिमा कोशी प्रदेशलाई धानको बिउको स्रोत व्यवस्थापन गर्ने, व्याज अनुदान दिइने, चियाको अन्तराष्ट्रिय सम्मेलन गर्ने, खोरेत नियन्त्रण गर्ने तथा सबै जिल्लामा भेटनरी अस्पताल र पशुसेवा विज्ञ केन्द्र स्थापना गर्ने उल्लेख छ । उनले स्थानीय तहलाई ४ अर्ब ५८ करोड हस्तान्तरण गरिने पनि बताएका छन् ।

कोशी प्रदेश सरकारले चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर ३.५१ प्रतिशत पुग्ने अनुमान गरेको छ ।
उनले चालू आर्थिक ३६ अर्ब ७४ करोड ३५ लाखमध्ये सशर्त अनुदानमा ७ करोड ५५ लाख थप भई कूल बजेट ३६ अर्ब ८१ करोड ९० लाख कायम भएको बताए । यस्तै वैशाख मसान्तसम्ममा कूल खर्च १५ अर्ब ८८ करोड २३ लाख भएको छ ।

गत वर्षको सोही अवधिमा १९ अर्ब ७ लाखको तुलनामा ५ प्रतिशतले कमी आएको हो । वैशाख मसान्तसम्ममा ४३ प्रतिशत बजेट खर्च भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ४८ प्रतिशत खर्च भएको थियो । चालू आर्थिक वर्षको अन्तिमसम्ममा ८० प्रतिशत भन्दा माथि खर्च हुने अनुमान मगरले गरेका छन् ।

चालू आर्थिक वर्षमा आन्तरिक राजस्व ४ अर्ब ५७ करोड सङ्कलन हुने अनुमान गरिए पनि वैशाख मसान्तसम्ममा ३ अर्ब ३ करोड २३ लाख सङ्कलन भएको छ । गत आर्थिक वर्षमा भने २ अर्ब ९४ करोड प्राप्त भएको थियो । राजस्व सङ्कलनमा भने ३ प्रतिशत भन्दा बढीले वृद्धि भएको मगरले जनाए ।


क्लिकमान्डु