चितवनबाट वाली उपचार शिविर सुरु, सरकारले ल्यायो कार्यविधि



चितवन । जिल्ला एकीकृत शत्रु जीव व्यवस्थापन कृषक संघ चितवनले क्याव इन्टरनेशनको सहकार्यमा बाली उपचार शिबिर सुरु भएको छ ।

भरतपुर महानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष दण्डपाणी रिजालले उक्त शिबिरको उद्घाटन गरेका थिए । रिजालले ल्याएको बिरुवा संघका सल्लाहकार तथा कृषक प्लान्ट डाँक्टर रिता वस्ताकोटीले परीक्षण गरी शिविरको शुभारम्भ गरेकी थिइन् ।

वडा अध्यक्ष रिजालले आफ्नो वडाको नीति तथा कार्यक्रममा कृषकहरूको सेवाको लागी यो कार्यक्रम प्राथमिकताका साथ समावेश गर्ने प्रतिवद्धता जनाए ।

सरकारले यस्ता कार्यक्रम निती तथा कार्यक्रममा पनि समावेश गरे नेपाली कृषकहरू बाली संरक्षणका साथै खाद्य सुरक्षामा पनि ठोसपूर्ण काम गर्न सक्ने कृषक प्लाण्ट डाँक्टर बस्ताकोटीले जानकारी दिइन ।

शिबिरमा प्लान्ट क्वारेन्टाइन व्यवस्थापन केन्द्र हरिहरभवन काठमाडौंका बाली संरक्षण अधिकृत डा.देवराज अधिकारी, संघका कृषक प्लान्ट डाँक्टर तथा अध्यक्ष रमा ढुङ्गानाले किसानले ल्याएको कृषि उपजसम्बन्धी बोटविरुवाको स्वास्थ्य परीक्षण गरेका थिए ।

शिबिरमा कृषि तथा वन विश्व बिद्यालयका बिएस्सी का बिद्यार्थी सौरभ शर्मा र प्लान्ट वाइज प्लस कार्यक्रमतर्फको डिजिटल टुल कार्यक्रमका प्रज्वल सेडाईले बाली संरक्षण गर्ने विविध पक्षबारे जानकारीका साथै सेवा प्रदान गरेका थिए ।

क्याव इन्टरनेशनलले सन् २०१३ देखि नेपालमा बाली संरक्षणको क्षेत्रमा काम गर्दैआएको छ । यो संस्थाले बालीको बोटविरुवामा लाग्ने विभिन्न प्रकारको रोगकिराको बिषयमा स्थानीय स्तरमा प्लाण्ट डाँक्टरसम्बन्धी तालिम प्रदान गर्दैआएको छ ।

किसानलाई प्राबिधिक सहयोग पुर्याउने यो कार्यक्रम नेपालमा छरिएर रहेका ग्रामीण क्षेत्रको साना सिमान्त र महिला किसानमा निक्कै लोकप्रिय हुन थालेको छ ।

यो कार्यक्रम चितवन, मकवानपुर र काभ्रेमा आगामी डिसेम्बर महिनासम्म सञ्चालन हुने संघकी अध्यक्ष तथा कृषक प्लाण्ट डाँक्टर रमा ढुंगानाले जानकारी दिइन ।

प्लान्ट क्वारेन्टाइन व्यवस्थापन केन्द्र हरिहरभवन काठमाडौंका बाली संरक्षण अधिकृत अधिकारीले यो कार्यक्रम कृषकहरूको बाली संरक्षणमा निक्कै उपयोगी भएकाले स्थानीय सरकारले पनि प्राथमिकतामा राख्नु पर्ने सुझाव दिए ।

शिविरबाट करिब ६ दर्जनको संख्यामा कृषकहरुले सेवा लिएका थिए । खाद्यान्न, तरकारी, फलफूल, लहरेवालीलगायतको बोटविरुवाको स्वास्थ्यसम्बन्धी परीक्षण गरिएको थियो ।

भरतपुर महानगरपालिका २७ स्थित मेघौलीमाा आईपिएम कृषक पाठशालामा पहिलो पटक यो कार्यक्रमको आयोजना गरिएको थियो । यस्तो कार्यक्रम वडा नम्बर १६, १७ र २२ मा पनि सञ्चालन भएको थियो । यो कार्यक्रम खैरेनि नगरपालिका र रत्न नगरपालिकामा पनि सञ्चालन गरिएको थियो ।

अधिकांश शिबिरमा बसन्ते सिजन लहरे तरकारी लगाउने भएकाले फल कुहाउने औंसा देखिएको थियो भने मकै बालीमा अमेरिकन फौजी किरा मुख्य रुपमा देखा परेको थियो ।

सरकारले स्वीकृत गर्यो बाली उपचार शिबिर कार्यक्रम कार्यविधि

कृषक पलान्ट डाँक्टर बस्ताकोटीका अनुसार सरकारले केहि दिन अघि बाली उपचार शिबिर कार्यक्रम सञ्चालन कार्यविधि २०८१ स्वीकृत गरेको छ । अगुवा किसानहरुको दबाबपछि सरकारले बाली उपचार शिविर कार्यक्रमसम्बन्धी कार्यविधि ल्याएको उनले जानकारी दिइन् ।

विभिन्न निकायबाट बाली उपचार शिबिर सञ्चालन भइरहे पनि यसअघि सरकारले यो क्षेत्रलाई सम्बोधन हुने गरी सरकारले कार्यविधि ल्याउन सकेको थिएन् । सरकारले ल्याएको यो कार्यविधिपछि अब बाली उपचार शिविरले औपचारिकता पाएको भन्दै बस्ताकोटीले सरकारले ल्याएको यो कार्यविधिको स्वागतसमेत गरेकी छन् ।

जीवनाशक बिषादी व्यवस्थापन ऐन २०७६ को दफा २० मा वनस्पतिजन्य र जैविक विषादीको उत्पादन र प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने व्यवस्था छ ।

उक्त ऐनको दफा ४३ ले रसायनिक बिषादीको प्रयोगबाट वातावरण, मानव, पशुपन्छी, जलचर, विरुवालगायतका स्वास्थ्यमा पर्न सक्ने असरलाई न्युनिकरण गर्न तथा जैविक विषादीको प्रवद्र्धनको लागि विकल्पको रुपमा बिशेष कार्यक्रम सञ्चालन गर्ने व्यवस्था गरेअनुसार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उक्त अधिकार प्रयोग गरी यो कार्यविधि ल्याएको बस्ताकोटीले जानकारी दिइन् ।


क्लिकमान्डु