१४ बैंकले ३% ब्याजमा राखे २५ अर्ब रुपैयाँ, प्रणालीबाट आजै थप ३५ अर्ब प्रशोचन गर्दै राष्ट्र बैंक



काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले थप ३५ अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोलमार्फत् निक्षेप संकलन गर्ने भएको हो ।

बैंकहरुले कबोल गरेको न्युनतम ब्याजलाई प्राथमिकता दिने गरी केन्द्रीय बैंकले निक्षेप राख्न आवेदन आह्वान गरेको छ । त्यसका लागि अनलाइनमार्फत् बैंकहरुले ३ बजेअघि रकम र ब्याजदर कबोल गर्नुपर्नेछ । राष्ट्र बैंकले यतिको निक्षेप बिहीबारै खिच्नेछ ।

बजारमा अधिक तरलता हुँदा प्रशोचन गर्ने एक बिही बोलकबोलमार्फत् गरिने निक्षेप संकलन हो ।

बैंकहरुले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म राख्ने पैस्ताव पेश गर्न पाउनेछन् ।

बिहीबार प्रशोचन गरिएको निक्षेप १४ दिनका लागि हो । यो रकम परिपक्व भएपछि स्वतः फिर्ता हुनेछ । यसअघि जेठ २४ र २५ गते केन्द्रीय बैंकले ७० अर्ब रुपैयाँ रकम यही माध्यमबाट प्रशोचन गरिसकेको छ ।

केन्द्रीय बैंकले तरलता प्रशोचन गर्ने अर्को औजार स्थायी निक्षेप सुविधा (एसडीएफ) हो । एसडीएफमार्फत राष्ट्र बैंकले बुधबार करिब २५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ । एसडीएफको ब्याजदर ३ प्रतिशत तोकिएको छ ।

यो सुविधामार्फत् बुधबार १४ बैंक वित्तीय संस्थाले २४ अर्ब ७५ करोड रुपैयाँ राखेका छन् । केन्द्रीय बैंकले हरेक आइतबार र बुधबार यो सुविधा दिने गर्छ ।

अन्तर बैंक सापटीलाई ३ प्रतिशतभन्दा कम दरमा राख्ने अभिप्रायले एसडीएफ सुविधा दिइएको हो । तर, अन्तरबैंक ब्याजदरलाई कोरिडोरभित्र राख्न यो औजार प्रभावकारी भएको छैन ।


क्लिकमान्डु