कोरोनापछि ह्वात्तै बढ्यो बैंकिङ कसुरका मुद्दा, ‘अनुसन्धान गर्न छुट्टै कार्यालय आवश्यक’

चेक काट्नुअघि ध्यान पुर्याउनुः प्रहरी



काठमाडौं । कोरोनापछि अर्थतन्त्रमा सुस्तता आउँदा व्यापार, व्यवसायमा त्यसको नकारात्मक असर परेका कारण बैंकिङ कसुरमा मुद्दा बढिरहेको प्रहरीको अनुसन्धानले स्पष्ट पारेको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) दिनेश राज मैनालीका अनुसार कोरोनापछि बढेको बैंकिङ कसुरको मुद्दा अहिले पनि तीब्र गतिमा बढ्ने क्रममा रहेको छ ।

कोरोनापछि ठप्प भएको व्यापार व्यवसाय ऋणको सावाँ ब्याज भुक्तानी गर्न समस्या हुँदा यस्तो मुद्दाहरु अझै बढिरहेका छन् । ‘ब्याज बढ्दै जाने तर, समयमा नै तिर्नका लागि आम्दानी नभएपछि चेक दिएर हिसाब मिलान गर्न खोजिएको देखिन्छ,’ उनले भने, ‘चेक दिनुभन्दा पहिला नै चेक कतिलाई दिएको छ, खातामा पैसा छैन भने फिर्ता लिनु पर्छ र पैसा भए अनुसारको चेक जारी गर्नुपर्छ । विश्वास गरेर गरेको कारोबारमा पछि विश्वास टुट्दै जाने बैंकिङ कसुरमा उजुरी पर्ने गरेको छ ।’

चेक दिँदा खाली चेकमा हस्ताक्षर गरेर दिने, तत्कालको हिसाब मिलान गरौ भनेर पैसा नभएको चेक दिने गर्दा पनि बैंकिङ कसुरको मुद्दा बढेको प्रहरीको अनुसन्धानले देखाएको छ ।

बैंकिङ कसुरका घटना कतिपय बाध्यात्मक र कतिपय परिस्थितीजन्य रहेको पनि देखिएको प्रहरीको भनाइ छ । प्रहरीले १ लाख भन्दा माथिको चेकको उजुरी लिने गरेको छ । मुद्दाको चाप घटाउन पीडित पिडक दुवै राखेर एक साताको समय दिएर मिलापत्र गर्न भन्ने र समयमा नै मिलापत्र हुन नसकेको खण्डमा मुद्दा दर्ता हुने गरेको छ ।

बैङ्किङ कसुर तथा सजाय ऐन, २०६४’ले १० लाख रुर्पयाँसम्म बिगो भए एक वर्षसम्म कैद, १० लाख रुपैयाँभन्दा बढी ५० लाख रुपैयाँसम्म बिगो भए एकदेखि दुई वर्षसम्म कैद, ५० लाख रुपैयाँभन्दा बढी एक करोड रुपैयाँसम्म बिगो भए दुईदेखि तीन वर्षसम्म कैद र एक करोड रुपैयाँभन्दा बढी बिगो भए तीनदेखि पाँच वर्षसम्म कैद सजाय हुने व्यवस्था रहेको छ ।

बैंकिङ कसुरका उजुरी बढ्न थालेपछि प्रहरीमा छुट्टै ब्यूरो नै खोल्नुपर्ने आवश्यकता औल्याउन थालिएको छ । वित्तीय अपराधमा केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान गर्ने गरेको छ । बैंकिङ कसुरका उजुरी दैनिकजसो बढ्न थालेपछि ब्यूरो मातहत हुनेगरी आर्थिक अपराध अनुसन्धान ब्यूरो आवश्यक रहेको प्रहरी अधिकारीहरु बताउँछन् ।

प्रहरी जनशक्तिको ठूलो संख्या बैंकिङ कसुरको मुद्दाको अनुसन्धान तथा फैसला कार्यान्वयनमा संलग्न हुनुपर्दा प्रहरीद्वारा सम्पादन गरिनुपर्ने दैनिक शान्ति, सुरक्षा र गम्भीर तथा जघन्य प्रकारका अपराध अनुसन्धानमा प्रत्यक्ष एवं परोक्ष रूपमा असर पुर्याउने भन्दै छुट्टै कार्यालय आवश्यक रहेको बताइन्छ ।

नेपाल प्रहरीका पूर्व डिआईजी हेमन्त मल्ल अहिलेको जसरी बैंकिङ कसुरमा मुद्दा बढ्दै जाने हो भने प्रहरीलाई धान्न गाह्रो हुने बताउँछन् ।

प्रभावकारी रुपमा अनुसन्धान गर्नका लागि, प्रहरीले गर्ने सबैकाम समान रुपमा अघि बढाउनका लागि छुट्टै ब्यूरो खडा गर्ने बेला भएको मल्लको बुझाइ छ । ‘प्रहरीमा रिसोर्सं घट्दै जाने, अपराध बढ्दै जाने देखिएको छ’ उनले भने ‘प्रहरीलाई रिसोर्सफूल बनाएर छुट्टै कार्यालय खडा गरेर अनुसन्धान गर्नुपर्छ । यसले न्याय निरुपणमा समेत सहयोग गर्छ ।’

यसका लागि सरकारले पनि ध्यान दिनु पर्ने उनको सुझाव छ । सरकारले चाहना राख्ने हो भने छुट्टै कार्यालय खोलेर अनुसन्धान गर्न सकिने उनको बुझाइ छ । बैंकिङ कसुरको अनुसन्धान गर्न दक्ष जनशक्ति आवश्यक रहेको उनको भनाइ छ । प्रहरीका पूर्व डिआईजी पुष्कर कार्की संगठनमा भएका योग्य, दक्ष कर्मचारी सहित छुट्टै कार्यालय बनाएर नै अनुसन्धान गर्ने बेला भएको बताउछन् ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता मैनालीका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा बैंकिङ कसुरका ४ हजार १४४ मुद्दा दर्ता भएको थियो । जुन समग्र मुद्दाको ३८ प्रतिशत हो । उक्त आवमा बैंकिङ कसुर मुद्दामा अभियुक्तको संख्या ३० प्रतिशत रहेको थियो ।

आव २०७९/०८० मा ८ हजार २५१ मुद्दा दर्ता भएको थियो । यो समग्र मुद्दाको ५१ प्रतिशत हो । उक्त आवमा बैंकिङ कसुर अभियुक्तको संख्या ४५ प्रतिशत हो । आव २०८०/०८१ वैशाखसम्म ६ हजार ४७ मुद्दा दर्ता भएको छ । यो कुल मुद्दाको ४६ प्रतिशत हो । बैंकिङ कसुर मुद्दामा अभियुक्त संख्या ३९ प्रतिशत हो ।

आव २०७८/०७९ देखि चालु आवको वैशाखसम्म १८ हजार ४४२ वटा मुद्दा दायर भएका छन् । जुन कुल दर्ता भएका मुद्दाको ४६ प्रतिशत हो । अभियुक्तको संख्या आव २०७८/०७९ देखि चालु आवको वैशाखसम्म १९ हजार ४६४ रहेको छ । यो भनेको कुल अभियुक्तमध्ये ३९ प्रतिशत हो ।

चालु आवको साउनमा बैंकिङ कसुरमा ८०२, भदौमा ७५४, असोजमा ६२७, कासत्तकमा १८३, मंसिरमा ५१२, पुसमा ६०४, माघमा ५७१, फागुनमा ५३०, चैतमा ५३५ र वैशाखमा ९२९ वटा मुद्दा दर्ता भएको छ ।

आफ्नो चेकबुक, वन टाइम पासवर्ड (ओटीपी)लाई सुरक्षित राख्न, खातामा रकम नभएको अवस्थामा चेक काटी अन्य व्यक्तिलाई नदिन, आफ्नो रकमले खाम्ने अंकको मात्र चेक जारी गर्न, खाली चेकमा हस्ताक्षर गरी कोही कसैलाई नदिन, चेक भर्दा आफ्नै हातले अंक र अक्षरमा स्पष्ट रूपमा भर्न, संयुक्त रूपमा सञ्चालन भएको खातामा साझेदारद्वारा खाली चेकमा हस्ताक्षर गरी छाड्ने कार्य नगर्न प्रहरीको सुझाव रहेको छ ।


सोभित थपलिया