सहकारीका समस्या समाधान गर्न सम्मेलन गरिने, दुई सय बढी संस्थाका अध्यक्ष र व्यवस्थापक भेला हुने



काठमाडौं । बचत तथा ऋण सहकारी संस्थाका समस्या समाधान गर्न चितवन सहकारी सम्मेलन आयोजना गरिने भएको छ ।

चितवन जिल्ला बचत तथा ऋण सहकारी संघले यही २५ र २६ गते सम्मेलन गर्न लागेको हो ।

सङ्घले सहकारीका सदस्यको बचत संरक्षण र संस्थाको स्थायीत्व एवं विकासका लागि सम्मेलन गर्न लागेको जनाएको छ । सङ्घकी अध्यक्ष बिद्या कोइरालाले सङ्घमा आबद्ध दुई सय पाँच सहकारीका अध्यक्ष र व्यवस्थापक गरी सम्मेलनमा चार सय हाराहारीको सहभागिता रहने जानकारी दिइन् ।

पछिल्लो समय बचत तथा ऋण सहकारी संस्थामा देखिएका समस्याका कारण बचतकर्ताको बचत असुरक्षित बन्दै जानुमा जिल्लालाई कार्य क्षेत्र बनाएर खोलिएका सहकारीबाट नभई बाहिरी जिल्लामा प्रधान कार्यालय भएका सहकारी धेरै रहेको उनले बताइन् ।

जिल्लामा मुख्य कार्यालय भएका केही सहकारीमा समस्या देखिए पनि ती समस्या समाधान हुँदै गएको उनले बताइन् । सुरक्षित लगानी नभएका थप तीनवटा सहकारीमा समस्या देखिएको उनको भनाइ छ । सम्मेलनले ऋण असुलीका लागि स्थानीय तहलाईसमेत झकझक्याउन मद्दत पुग्ने उनले विश्वास छ ।

सहकारीलाई गुणस्तरीय बनाउन सात वर्षपछि सम्मेलन आयोजना गरिएको सङ्घका सल्लाहकार तेजेन्द्रबहादुर खड्काले बताए । मनोमानी सञ्चालन गरिएका सहकारीमा ऋण असुलीमा समस्या देखिने गरेको उनको भनाइ थियो ।


क्लिकमान्डु