सहकारीको ठगीबारे छानबिन गर्न गठित संसदीय समितिले कार्ययोजना र कार्यविधि बनाउने, भोली बैठक बस्ने



काठमाडौं । सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिको पहिलो बैठकले समितिको आन्तरिक कार्ययोजना र कार्यविधि बनाउने निर्णय गरेको छ ।

बानेश्वरस्थित संसद् भवनको शङ्कर हलमा बुधबार बसेको बैठकले समितिको आन्तरिक कार्ययोजना र कार्यविधि बनाउन सचिवालयलाई जिम्मेवारी दिने निर्णय गरेको समितिका सभापति सूर्यबहादुर थापाले जानकारी दिए ।

‘सभामुख स्वयं उपस्थित भएर बैठक शुभारम्भ गराउनुभयो, त्यसपछि हामीले बैठकमा छलफल गर्यौँ” सभापति थापाले भने, ‘निर्धारित समय ९तीन महिना० भित्रै काम सक्नुपर्छ भनेर छलफल गरेका छौँ ।’

समितिको आन्तरिक कार्ययोजना र कार्यविधि बनेपछि शुक्रबार पुनः बैठक बसेर छलफल गर्ने तय भएको छ ।

यही जेठ १५ गते सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न समिति गठन भएको थियो । नेकपा एमाले सांसद सूर्यबहादुर थापाको सभापतित्वमा सात सदस्यीय छानबिन समिति गठन भएको होे ।

समितिको सदस्यमा नेकपा एमालेबाट सरिता भुसाल, नेपाली कांग्रेसबाट ईश्वरी न्यौपाने र बद्री पाण्डे, नेकपा माओवादी केन्द्रबाट लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट धु्रबबहादुर प्रधान रहेका छन् ।


क्लिकमान्डु