सहकारीपीडितले मलाई कालोझण्डा देखाएर ‘ब्लण्डर’ गरे: प्रधानमन्त्री

896
Shares

कास्की । प्रधानमन्त्री पुष्कमल दाहालले आफूलाई कालोझण्डा देखाएर ‘ब्लण्डर’ गरेको टिप्पणी गरेका छन् ।

बुधबार पोखरा पुगेका प्रधानमन्त्री दाहालले सूर्यदर्शन सहकारी लगायतका पीडितले कालो झण्डा देखाएका थिए । सहकारी पीडितले लामो समयदेखि आन्दोलन गरिरहे पनि सरकारले कुनै चासो नदिएको भन्दै उनीहरुले कालो झण्डा देखाएको बताएका छन् । तर प्रधानमन्त्रीले भने त्यस्तो बुद्धितिर नलाग्न सुझाव दिए ।

कार्यकर्ता प्रशिक्षणमा प्रधानमन्त्री दाहालले ५ लाखभन्दा कम बचत भएका सहकारी पीडितलाई फिर्ता दिन सरकारले बजेटमै कार्यक्रम ल्याएको बताए । सहकारी पीडितको पक्षमा रहेको सरकारका प्रधानमन्त्रीलाई कालोझण्डा देखाउनु गल्ती भएको उनको भनाइ छ।

‘५ लाख भन्दा कम बचत भएकालाई पैसा दिने भनेर सरकारले बजेटमै योजना ल्याएको छ। त्यहाँ बाहिर कालोझण्डा देखाउनुभयो,’ प्रचण्डले भने, ‘कालो झण्डा देखाउनुहुने साथीले ब्लण्डर गर्नुभयो । यस्तो बुद्धितिर नलाग्नुहोला, तपाईंहरुको पक्षको सरकारलाई ।’

प्रधानमन्त्रीलाई कालो झण्डा देखाएको भन्दै प्रहरीले १ दर्जन प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ ।