ग्राहक बटुल्न टेलिकम अगाडि, आम्दानी भने एनसेलको धेरै !



टेलिकम कम्पनीहरुबीच जसकाे एभरेज रेभिन्यु पर युजर पर मन्थ (एआरपीयू) धेरै छ उसैकाे वार्षिक आम्दानी पनि बढी हुनु स्वभाविक भएपनि प्रतिस्पर्धी एनसेलको तुलनामा नेपाल टेलिकमकाे सेवा र ग्राहक संख्या धेरै छ । पछिल्लाे समय ओटीटी प्लेटफर्मका कारण टेलिकमकाे आम्दानी घट्दै जानु एउटा फरक पाटो हाे । तर, पछिल्लाे एक दशकको तथ्यांक टेलिकमको धेरै भएपनि आम्दानीमा भने एनसेल नै अगाडि छ ।

काठमाडौं । निजी क्षेत्रको टेलिकम सेवाप्रदायक कम्पनी एनसेल र नेपाल टेलिकम (एनटीसी)बीच एक दशक अगाडिको तथ्यांक हेर्दा कसको बजार हिस्सा बढी भन्नेमा प्रतिस्पर्धा गर्दै थिए । तथ्यांकमा ग्राहक संख्या वर्षेनी नेपाल टेलिकमको देखिए पनि आम्दानीका हिसाबले भने सधै एनसेल नै अगाडि छ ।

आर्थिक वर्ष २०७०/७१ मा टेलिकमकोभन्दा बढी ग्राहक बढाउन सकेको एनसेलको आम्दानी स्वभावैले टेलिकमभन्दा बढी भयो । दुई दशकअघि नेपालमा मोबाइल सेवा दिन थालेको एनसेलले १० वर्षमै टेलिकमकोभन्दा ग्राहक संख्या बढी बनाउन सक्यो । तर, आम्दानीका हिसाबले भने पछिल्लो एक दशकमा एनसेलले टेलिकमलाई अघि लाग्न दिएन ।

एनसेल र एनटीसीबीच भएको प्रतिस्पर्धा एक दशकअघि निकै रोचक हुँदै थियो । आर्थिक वर्ष २०७१/७२ मा दुबै सेवाप्रदायकका ग्राहक समान अनुपातमा पुगेका थिए । त्यतिबेला एनसेल र एनटीसी दुबैका ग्राहक सख्या १ करोड २९ लाखको समान अंकमा थिए ।

ग्राहक संख्या समान हुँदा एनसेलको आम्दानी साढे ५५ अर्ब रुपैयाँभन्दा बढी थियो । एनसेलले टेलिकमकै सरह ग्राहक पुर्याउँदा गरेको आम्दानीभन्दा टेलिकमको आम्दानी साढे १८ अर्ब रुपैयाँले कम हुन पुग्यो ।

त्यसपछिका वर्षहरुमा पनि ग्राहक संख्या र सेवाका हिसावले अब्बल बजार हिस्सा बनाएको देखिए पनि आम्दानीमा भने टेलिकम सधै पछाडि परेको छ । टेलिकमको ग्राहक संख्या एनसेलकोभन्दा निकै धेरै हुँदासमेत आम्दानी भने निकै कम देखिएको छ ।

१ करोड ४५ लाख ग्राहक पुर्‍याएर आर्थिक वर्ष २०७४/७५ मा ६० अर्ब ४९ करोड रुपैयाँ आम्दानी गर्न सकेको एनसेलको तुलनमा ग्राहक संख्या ३४ लाख बढी हुँदा पनि एनटीसीको आम्दानी भने १५ अर्ब रुपैयाँले कम हुन पुग्यो । टेलिकमको उक्त वर्ष १ करोड ९९ लाख ग्राहक संख्या पुर्‍याउँदा पनि आम्दानी भने ४५ अर्ब ४६ करोड रुपैयाँमा मात्रै सीमित हुन पुग्यो ।

क्लिकमान्डुले संकलन गरेको पछिल्लो एक दशकको तथ्यांक हेर्दा ग्राहक संख्यामा सधै अगाडि रहेको टेलिकमको आम्दानी एनसेलभन्दा सधै कम देखिन्छ । टेलिकमसँग एनसेलको तुलनामा ग्राहकलाई अवसरसमेत धेरै छ । नेपाल टेलिकमसँग फिक्स्ड लाइन टेलिफोन, फाइबर इन्टरनेट, इन्टरनेट टिभीसहितको सेवा र सुविधा छ । जुन एनसेलको तुलनामा धेरै हो ।

एनेलसँग मोबाइल डाटा र भ्वाइस सेवा मात्रै छ । तर, नेपाल टेलिकमसँग मोबाइल डाटा र भ्याइस सेवाको अतिरिक्त सुविधा हुँदाहुँदै आम्दानी भने प्रतिस्पर्धीको तुलनामा न्यून छ ।

भ्याइस सेवासँग तुलना गरेर नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गर्ने गरेको तथ्यांक अनुसार एनसेलको तुलनामा एनटीसीको बजार हिस्सा धेरै छ । यस्तो बजार हिस्सा पनि १० वर्ष पहिले २०७०/७१ मा एनसेलको ४९ प्रतिशत हुँदा टेलिकमको ४४ प्रतिशत मात्रै थियो । आर्थिक वर्ष २०७१/७२ मा दुबै सेवाप्रदायकको ४६ प्रतिशतको समान बजार हिस्सा हुँदासमेत आम्दानीको हिसाबले भने सधै एनसेल नै अगाडि भयो । त्यसपछिका हरेक वर्ष एनसेलभन्दा टेलिकम बजार हिस्सा र ग्राहक संख्याले अगाडि भए पनि आम्दानीका हिसाबले भने सधै पछाडि नै छ ।

नेपाल टेलिकमका प्रवक्ता हरिप्रसाद ढकाल भने आम्दानी बढी/घटी हुनुलाई स्वभाविक रुपमा लिनु पर्ने तर्क गर्छन् ।

‘ग्राहक संख्या बढी हुँदा आम्दानी पनि बढ्नै पर्छ भन्ने छैन । टेलिकमका ग्राहकले सेवा प्रयोग गर्ने तर खर्च कम गरेको पनि हुनसक्छ,’ उनले भने ।

दुई प्रतिस्पर्धी कम्पनी नेपाल टेलिकम र एनसेलको पछिल्लो एक दशकको आम्दानी

कुल ग्राहकमा कति ग्राहक सक्रिया छन् भनेर पनि हेर्नुपर्ने तर्क ढकालको छ । उनकाअनुसार टेलिकमले जति ग्राहकलाई सीमकार्ड वितरण गरेर सेवा दिएको छ ति ग्राहकमध्ये निष्कृय छुट्याइएको छैन । एनसेलले आफ्नो निस्कृय ग्राहक संख्या घटाउँदै जाने र कुल संख्या कम देखाइरहेको तर टेलिकमले अहिलेसम्म वितरण गरेको सिमकार्डलाई आधार मानेर ग्राहक संख्या गणना गर्ने गरेको उनको भनाइ छ ।

टेलिकमको भन्दा एनसेलका ग्राहकले बढी खर्च गरेको र प्याकेज खरिद धेरै भएको पनि हुनसक्छ । टेलिकम क्षेत्रको आम्दानीको राम्रो स्रोत नै जीएसएमका ग्राहकले गर्ने भ्याइस कल नै हो । तर, ग्राहक संख्या र आम्दानीको हिसाबमा टेलिकम प्रतिस्पर्धीसँग बढी वा घटी कसरी भए भन्ने विषयमा विश्लेषण नभएको तर्क पनि ढकालले दिए ।

यद्यपी पछिल्लो समय मोबाइल फोनमा आधारित भएर दिइने सेवा ओभर दि टप (ओटीटी)को प्रयोग बढेको छ । ह्वाट्एप, भाइवर, म्यासेन्जरसहितको कारणले टेलिकम क्षेत्रको आम्दानी भने वर्षेनी कम हुँदै गइरहेको छ । समग्रमा टेलिकम क्षेत्रको आम्दानी ओटीटीकै कारण घटेको छ । तर, भ्याइस कम हुँदै गएको भए पनि डेटा सेवाको प्रयोग पनि बढ्दै गएकोले इन्टरनेट बेचेर हुने आम्दानी पनि उल्लेख्य हुँदै गएको तर्क टेलिकमका प्रवक्ता ढकालको छ ।

दुई प्रतिस्पर्धी कम्पनी नेपाल टेलिकम र एनसेलको पछिल्लो एक दशकको ग्राहक संख्या

टेलिकमले वर्षोदेखि पुराना ग्राहकलाई महत्व दिइएको छ । टेलिकमको सेवा प्रयोग गर्नेहरु २/३ वर्षलाई विदेश गएका छन् भने ति ग्राहक फर्केर आँउदा पनि सोही नम्बर प्रयोग गर्न पाउने सुविधा पनि दिइरहेको छ । केही समय नचलाउँदै ती ग्राहकलाई हटाइहाल्ने काम टेलिकमले नगरेको हुँदा पनि धेरै संख्या देखिएको र वास्तविक सक्रिय ग्राहक कम हुँदा आम्दानी नै कम हुन पुगेको प्रवक्ता ढकालको दाबी छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका सहप्रवक्ता प्रदीप पौडल तथ्यांकमा टेलिकम र आम्दानीमा एनसेल अगाडि हुनुको विषय अध्ययनबिना भन्न नसकिने बताए । औषत ग्राहक खर्च प्रतिमहिना एनसेलको बढी हुन सक्ने उनी बताउँछन् ।

ग्राहक संख्या बढी हुँदैमा आम्दानी पनि बढी भइहाल्छ भन्ने नहुने उनी बताउँछन् । एनसेको आन्तरिक प्रयोग बढी भएको पनि हुनसक्ने, प्याकेज राम्रो भएर ग्राहक आकर्षित भएको पनि हुनसक्ने भएकोले सम्बन्धित विषयमा अध्ययन बिना धारणा बनाइहाल्न नहुने पौडेल बताउँछन् ।

नेपाल दूरसञ्चार प्राधिकरणले एभरेज रेभिन्यु पर युजर पर मन्थ (एआरपीयू) एनसलेको बढी भएको कारण उसको ग्राहक संख्या तुलनात्मक रुपमा कम हुँदा पनि आम्दानी भने बढी भएको हुनसक्ने उल्लेख गरेको छ । प्राधिकरणले केही समय अगाडि सार्वजनिक गरेको तथ्यांमा पनि एनटीसीको तुलनामा एनसेलको एआरपीयू बढी थियो ।


राजु बास्कोटा