देशैभर परोपकारका कार्यक्रम गरी हिमालयन लाइफ इन्योरेन्सले मनायो १६औं वार्षिकोत्सव



काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड कम्पनीले १६ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशका विभिन्न स्थानमा परोपकारका कार्यक्रम गरेको छ । कम्पनीले विभिन्न आश्रम तथा विद्यालयहरुमा खाद्यान्न र स्टेसनरी सामाग्रीहरु वितरण गरेको हो ।

कम्पनीले कोशी प्रदेश अन्तर्गत बिराटनगरमा पूर्वाञ्चल बाल सेवा आश्रमलाई स्टेसनरी तथा बिराटेश्वर बृद्धाआश्रमलाई निर्माण सामग्री, बिर्तामोडस्थित नमस्ते बाल तथा बृद्धा आश्रमका बालबालिकाहरुलाई शैक्षिक सामग्री र बृद्धबृद्धाहरुको लागि खाद्यान्न वितरण गरेको छ ।

कम्पनीले मधेश प्रदेश अन्तर्गत जनकपुरस्थित राम जानकी बृद्धाश्रम, बर्दिबासस्थित भुवनेश्वरी बृद्धाश्रम र वीरगंजस्थित मानव सेवा आश्रममा खाना खुवाउने कार्यक्रम गरेको छ ।

यसैगरी वागमती प्रदेश अन्तर्गत अपांग पुनर्स्थापना केन्द्र गोकर्णमा खाद्यान्न वितरण, चितवनको देवघाटस्थित रामजानकी आश्रममा शैक्षिक सामग्री वितरण गरिएको छ भने गण्डकी प्रदेश अन्तर्गत बाग्लुङको मानव सेवा आश्रममा खाना खुवाउने, लमजुङ बेसीसहरस्थित लमजुङ विद्यालयका ४० जना विद्यार्थीहरुलाई स्टेसनरी सामग्री वितरण गरिएको कम्पनीले जनाएको छ । साथै पोखरास्थित वल्डएज होममा खाद्यान्न वितरण गरिएको छ ।

लुम्बिनी प्रदेश अन्तर्गत बुटवलस्थित अपांग आश्रममा खाद्यान्न वितरण, नेपालगंज, पाल्पा र घोराहीस्थित निलसागर सेवा आश्रमका बृद्धाबृद्धालाई खाद्यान्न वितरण, कपिलबस्तुको कैलाश आश्रममा खाना खुवाउने कार्यक्रम सम्पन्न गरिएको पनि कम्पनीले जनाएको छ । यस्तै कर्णाली प्रदेशको सुर्खेतस्थित मानव सेवा आश्रममा खाना खुवाउने कार्यक्रम सम्पन्न भएको छ ।

त्यस्तै सुदूरपश्चिम प्रदेश अन्तर्गत टिकापुरस्थित साहारा घर, डडेल्धुरास्थित उग्रतारा संस्कृत विद्यालय, झलारीस्थित विद्यालयमा र धनगढीस्थित परिवार वालगृहमा खाद्यान्न तथा विद्यार्थीहरुलाई स्टेसनरी सामग्री वितरण गरिएको छ । हिमालयन लाइफ इन्स्योरेन्स स्थापना भएको मंगलबार १६ वर्ष पूरा हुँदैछ । साविकको प्राइम लाइफ, गुराँस लाइफ र यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड मर्जर भई हिमालयन लाइफ इन्स्योरेन्स बनेको हो ।


क्लिकमान्डु