नेपाल युरोपियन युनियनको हवाई सुरक्षा चासोबाट हटेन



काठमाडौं । नेपाल वायु सेवा कम्पनीलाई हवाई सुरक्षा चासोबाट हटाउन युरोपियन युनियन अन्तर्गतको मोभिलिटी एण्ड टान्सपोर्ट डिभिजनले पुन: अस्वीकार गरेको छ ।

गत बिहीबार डिभिजनले सार्वजनिक गरेको प्रतिवेदनमा नेपालका २० वटा वायुसेवा कम्पनीलाई हवाई सुरक्षा चासोमा निरन्तरता दिएको हो ।

युरोपियन युनियनले नेपालका सबै कम्पनीलाई हवाई सुरक्षा चासोमा राख्दै युरोपियन आकाशमा उडान गर्न रोक लगाएको छ ।

युरोपियन युनियनले प्रत्येक ६/६ महिनामा (मे र नोभेम्बर) हवाई सुरक्षा चासो सम्बन्धी प्रतिवेदन सार्वजिनक गर्ने गरेको छ । यसअघि गत मंसिरमा सार्वजनिक प्रतिवेदन पनि नेपाली वायु सेवा कम्पनीलाई हवाई सुरक्षा चासोमै राखिएको थियो ।

नेपाली वायु सेवा कम्पनीको सुरक्षा अवस्था कमजोर हुनुको साथै नेपालमा उड्डयन क्षेत्रको नियामक निकाय र सेवा प्रदायक निकायको रुपमा एउटै संस्थाले काम गरिरहेको भन्दै युरोपियन कमिसनले सन् २०१३ देखि नेपाललाई हवाई सुरक्षा चासोमा राख्दै आएको छ ।

कमिसनले नेपाल वायुसेवामा हवाई सुरक्षा चासोबाट नहटाएपछि नेपाली वायु सेवा कम्पनीलाई युरोपको आकास प्रयोगमा लागेको प्रतिबन्धले निरन्तरता पाएको हो ।

केही समयअघि नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले युरोपियन युनियन (ईयू) ले नेपाली उड्डयन क्षेत्रमा अपेक्षाभन्दा बढी सुधार भएको निष्कर्ष निकालेको दाबी गरेका थिए ।

गत भदौमा युरोपियन कमिसनको प्रतिनिधिमण्डल नेपालको उड्डयन सुरक्षाका विषयमा अध्ययन गर्न नेपाल आएको थियो । उड्डयन क्षेत्रमा भएका सुधारले नेपाल युरोपियन कमिसनको सुरक्षा चासोबाट हट्नेसमेत अधिकारीको दाबी थियो ।

‘नोभेम्बरमा बस्ने युरोपियन युनियन काउन्सिलको बैठकबाट नेपाल सुरक्षा चासोबाट बाहिरिने निश्चित छ,’ अधिकारीले भनेका थिए, ‘ईयूका प्रतिनिधिले नेपालको हवाई सुरक्षामा उल्लेखनीय सुधार आएको बताएका छन् ।’

प्राधिकरणका अधिकारीहरु गत माघमा यति एयरलाईन्सको दुर्घटना भएका नेपाली वायुसेवा कम्पनीहरु हवाई सुरक्षा चासोबाट नहटेको बताउँछन् ।

यति एयरलाइन्सको दुर्घटनापछि गत फेब्रुअरीमा नेपालको हवाई सुरक्षाका विषयमा अध्ययन गर्न आउन लागेको युरेपियन कमिसनको टोलीलाई प्राधिकरणले रोकेको थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका एक पूर्व महानिर्देशक नेपालले उड्डयन क्षेत्रमा नियामक निकाय र सेवा प्रदायक नछुट्याउँदासम्म युरोपियन युनियनको सुरक्षा चासोबाट हट्ने सम्भावना नरहेको दाबी गर्छन् ।

‘सन् २००९ देखि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन र सन् २०१३ देखि युरोपियन कमिसनले उड्डयन क्षेत्रमा नियामक निकाय र सेवा प्रदायक छुट्याउनु पर्ने विषय उठाउँदै आएका थिए,’ ति अधिकारी भन्छन्, ‘तर, अहिलेसम्म प्राधिकरणलाई टुक्र्याएर नियामक र सेवा प्रदायक निकाय बनाउने गरी काम भएको छैन । जसले गर्दा नेपालमा हवाई सुरक्षा चासोमा परेको हो ।’

तर महानिर्देशक अधिकारीले नेपालमा प्राधिकरणलाई टुक्र्याएर दुईवटा संस्था बनाउनु पर्ने विषयमा युरोपियन युनियनले चासो नदिएको अधिकारीको दाबी थियो ।

प्राधिकरणका एक उपमहानिर्देशक नेपालको उडान सुरक्षाको अवस्था राम्रो हुँदाहुँदै पनि नियमन गर्ने निकाय र सेवा प्रदायक एउटै हुँदा नेपाल हवाई सुरक्षा चासोमा परेको बताउँछन् ।


क्लिकमान्डु