दूध किसानलाई चाँडै भुक्तानी दिइनेछ : कृषि मन्त्री साह



झापा । कृषि, पशुपंक्षी तथा सहकारी मन्त्री ज्वालाकुमारी साहले दुग्ध उत्पादक किसानलाई चाँडै भुक्तानी दिइने प्रतिपद्धता जनाएकी छन् ।

विश्व दूध दिवसको उपलक्ष्यमा राष्ट्रिय दुग्ध विकास बोर्डद्वारा शनिबार मेचीनगरमा आयोजित कार्यक्रममा उनले यस्तो प्रतिवद्धता जनाएकी छन् । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान र निजी डेरीले किसानबाट खरिद गरेको दूधको महिनौंदेखि भुक्तानी नदिएको भन्ने गुनासो आएकाले त्यो यथाशीघ्र समाधान गर्न सघाउने मन्त्री साहले बताइन् ।

‘दुग्ध उत्पादक किसानहरुले चाँडोभन्दा चाँडो भुक्तानी पाउनुपर्छ भन्नेमा हामी स्पष्ट छौं,’ उनले भनिन,’मैले थुप्रै व्यावसायिक किसानको गाईगोठ र डेरी उद्योगहरु अवलोकन गरेको छु । किसानहरुले दुधको भुक्तानी नपाएको गुनासो सुनाउनु भएको छ । जसरी भए पनि भुक्तानी हुनुपर्छ भन्ने हाम्रो मान्यता हो ।’

मुलुकमा दुधको उत्पादन बढेको जनाउँदै उहाँले यसलाई निर्यात गर्न आवश्यक पहल जारी रहेको बताइन। दुग्ध विकास संस्थानको भण्डारमा एक अर्ब ७५ करोड रुपैयाँभन्दा बढी मूल्यको दुग्धजन्य उत्पादन विक्री नभएर थन्किरहेको उनले जानकारी दिइन् ।

मुलुकलाई समृद्ध र जनतालाई सुखी बनाउने राष्ट्रिय आकांक्षा पूरा गर्नका लागि दूधमा आत्मनिर्भर भएरमात्र नपुग्ने बताउँदै उनले यसको विदेश निर्यात अपरिहार्य भइसकेको औंल्याइन । दुधबाट बनेका बस्तुहरु निर्यातका लागि निर्यातको सहज व्यवस्था हुन सके किसानले बेचेको दुधको भुक्तानी गर्न कुनै समस्या नहुने उनको भनाई थियो ।

कोशी प्रदेश सरकारकी राज्यमन्त्री सिर्जना राईले दुग्ध पदार्थमा आधारित उद्योग सञ्चालन र बस्तु प्रबर्धनमा प्रदेश सरकारले उल्लेखनीय अनुदान दिदै आएको बताइन् ।

किसानहरुलाई दुध उत्पादनका आधारमा र व्यावसायिक कृषकहरुलाई गोठ निर्माण र आहार उत्पादनमा अनुदान दिने गरिएको उनले जानकारी दिइन् ।

दुग्ध विकास संस्थानका महाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारीले चरणबद्ध रूपमा किसानको दुधको भुक्तानी गर्ने व्यवस्था मिलाइएको जनाउँदै दुई दिनभित्र नयाँ भुक्तानी रकम आइपुग्ने जानकारी दिए ।

उनले दुध उत्पादक किसान र व्यवसायीका समस्या समाधानका लागि संस्थानले पहल गर्ने बताए । उनले संस्थान र निजी क्षेत्रका गोदामहरु दूधजन्य उत्पादनको भण्डारणले भरिएको हुँदा यसको विक्री वितरणको चाँडो व्यवस्था नभए आउँदो आर्थिक वर्षको सुरुदेखि नै नयाँ उत्पादन राख्ने ठाउँ नहुने बताए ।

कोशी प्रदेश डेरी उद्योग समितिका संयोजक रामचन्द्र उप्रेतीले एक दशकमा कोशी प्रदेशमा ११ वटा ठूला डेरी उद्योग सञ्चालनमा आएको उल्लेख गर्दै प्रदेश सरकारको २० करोड अनुदानमा निजी क्षेत्रका उद्योगीले ३० करोड रुपैयाँको लागतमा पाउडर उद्योग स्थापना गरेको बताए ।

मेचीनगर–१४ दुहागढीस्थित एनएमसी एग्रो फार्ममा आयोजित उक्त कार्यक्रममा उत्कृष्ट डेरी उद्योगका रूपमा एनएमसी डेरी उद्योग, उत्कृष्ट सहकारीका रूपमा चितवनको पिठुवा दुग्ध उत्पादक सहकारी र सुनसरीको कामधेनु दुग्ध विकास सहकारी संस्था, उत्कृष्ट कृषकका रूपमा झापाका राजकुमार तामाङ र मोरङका विज्ञान बस्नेतलाई सम्मान गरिएको थियो ।

किसानलाई अझै ४ अर्ब रुपैयाँभन्दा बढि रकम भुक्तानी गर्न बाँकी छ । यसमध्ये पौने २ अर्ब रुपैयाँ डीडीसीको दायित्वमा छ भने बाँकी रकम नीजि क्षेत्रका डेरी उद्योगले तिर्न बाँकी छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार नेपालमा बर्सेनि २० लाख मेट्रिक टनभन्दा बढी दुध उत्पादन हुन्छ । आर्थिक वर्ष २०७८/०७९ मा नेपालमा कुल २५ लाख ६६ हजार मेट्रिक टन दुध उत्पादन भएको थियो । आर्थिक वर्ष २०७७/२०७८ मा २४ लाख ७९ हजार मेट्रिक टन, आर्थिक वर्ष २०७६/०७७ मा २३ लाख मेट्रिक टनभन्दा बढी दुध उत्पादन भएको थियो ।


क्लिकमान्डु