ओलीले भने : बजेट माओवादीतिर मात्रै ढल्किएजस्तो देखियो



काठमाडौं । सत्ता गठवन्धन घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको आगामी आर्थिक बर्षको बजेटमा त्रुटी भएको पाइएमा आलोचना गर्न पाइने बताएका छन् ।

नयाँ बानेश्वरस्थित ल्होत्से हलमा भएको एमाले संसदीय दलको बैठकलाई शनिबार सम्बोधन गर्दै ओलीले आफ्नो क्षेत्रमा अनियमित ढङ्गले बजेट वितरण भएको पाइएमा आलोचना गर्न पाउने जानकारी दिए ।

ओलीले सरकारले ल्याएको बजेट अर्थमन्त्री र माओवादीतिर मात्रै ढल्किएजस्तो देखिएको टिप्पणीसमेत गरेका छन्।

उनले भने, ‘बजेटमाथि छलफल हामी खुलेर नै गर्छौँ। यो बजेट सरकारमा सहभागी दलहरुसँग परामर्श गरेर आएको भए धेरै राम्रो हुनसक्थ्यो। छलफल नहुँदा यो अर्थमन्त्रीको बजेट हो कि अर्थमन्त्रीको पार्टीको बजेट हो कि जस्तो बढ्ता देखिन गएको छ। रकमको बाँडफाँट पनि त्यसैगरी एकतर्फी ढल्किएजस्तो देखिन्छ। यसको निर्माण प्रक्रियामा कमजोरी रहँदा गम्भिर त्रृटी भएका छन्।’

उनले बजेटमा रहेका सकारात्मक पक्ष र कमिकमजोरी हेरेर प्रस्तुत हुनको लागि सांसदहरुलाई निर्देशन दिए।

उनले भने, ‘बजेटमाथि आलोचना नै गर्न नहुने भन्ने होइन । बजेटमा रहेको कमीबारे माननीयज्यूहरूले आफ्नो क्षेत्रमा, जिल्लामा, प्रदेशमा हिजोको अवस्थामा र आजको अवस्थामा के कमी कमजोरी छ, के बढ्नुपर्थ्यो वा के घट्यो त्यस्ता विषयहरूमा स्वाभाविक रूपमा प्रश्नहरू उठाउन सक्नुहुन्छ ।’

‘आफ्नो क्षेत्रमा भइरहेको बजेटमा कटौती भइरहेको छ भने आयोजनामा कटौती भएको छ भने बजेटको सम्पूर्ण आकार नघटेको अवस्थामा आयोजनाका लागि छुट्टाइएको रकम घट्यो भने त्यसको औचित्य के हो त ? कुनै आयोजनाका लागि हामी विशेष नै काम गर्दैछौँ कि ?’, ओलीले भने,नयाँ आयोजना, ठूलो आयोजना जसले एउटा रूपान्तरकारी काम गर्छ त्यस्तो आयोजना, त्यसमा ठुलो किसिमको बजेट छुट्टाउनुपर्यो भन्ने कुराहरू छन् कि ? यस्ता कुराहरू पनि हेर्नुपर्छ । यदि त्यस्तो छैन भने एउटालाई अनुकूल र अर्कोलाई प्रतिकूल हुनेगरी भएको छ भने पनि बोल्नुपर्छ ।’


क्लिकमान्डु