भारतमा अत्यधिक गर्मीले ५० भन्दा बढीको मृत्यु



सबैभन्दा धेरै बिहारमा मात्रै ४० भन्दा बढीको मृत्यु विज्ञहरु भन्छन्- धुलोसहितको आँधी आउनेछ

एजेन्सी । भारतका विभिन्न स्थानमा अत्यधिक गर्मीका कारण मानिसहरुको मृत्यु हुन थालेको छ । ओडिसाको रौकेला क्षेत्रस्थित एक सरकारी अस्पतालले त्यहाँ १० जनाको मृत्यु भएको जनाएको छ ।

यस्तै राजधानी दिल्लीसहित बिहार, राजस्थान र झारखण्डमा पनि गर्मीका कारण मानिसको मृत्यु भएको बताइएको छ ।

बिहारको भोजपुरा जिल्लाका जिल्ला अधिकारी महेन्द्र कुमारलाई उद्धृत गर्दै उक्त जिल्लामा अत्यधिक गर्मीका कारण तीन जना निर्वाचन अधिकृत र एक सुरक्षाकर्मीको मृत्यु भएको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ । कुमारका अनुसार गर्मीका कारण एक जना होम गार्ड अत्यधिक गर्मीले अचेत भएका थिए । उनलाई उपचारका लागि अस्पताल लैजाँदा उपचारकै क्रममा मृत्यु भएको थियो ।

भोजपुरा जिल्लामा ३० देखि ४० जना मानिस गर्मी तथा गर्मी सम्बन्धी बिमारका कारण विभिन्न समस्या भएर अस्पताल भर्ना भएको पनि महेन्द्र कुमारले बताएका छन् । यस्तै बिहीबार दिल्लीमा एक श्रमिक अत्यधिक गर्मीले बिरामी भएपछि अस्पताल भर्ना भएका थिए । त्यहाँ उपचारको क्रममा उनको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतीय सञ्चारमाध्यम दैनिक भास्करमा प्रकाशित समाचार अनुसार विभिन्न ७ राज्यमा तातो हावाका कारण मृत्यु हुनेको संख्या ७९ पुगिसकेको छ । हिन्दुस्तान टाइम्सको समाचारमा पनि मृत्यु हुनेको संख्या ७९ पुगेको बताइएको छ । सबैभन्दा धेरै बिहारमा मात्रै ४४ जनाको मृत्यु भएको छ । इन्डिया टुडेको समाचार अनुसार देशभर ५४ जनाको मृत्यु भएको छ । र सबैभन्दा धेरै मृत्युका घटना बिहारमा भएको पनि इन्डिया टुडेले जनाएको छ ।

यद्यपि कतिपय स्थानमा बिरामीहरुको पहिचान हुन नसक्दा विभिन्न स्रोतहरुबाट फरक तथ्यांक सार्वजनिक भएको छ । विज्ञहरुले भने गर्मी अझै बढ्नसक्ने बताएका छन् । साथै केही दिनमा धलोसहितको हुरी बतास र आँधी आउने चेतावनी दिएका छन् ।

भारतको राष्ट्रिय रोग नियन्त्रक केन्द्रले आम मानिसहरुको जीवन नै खतरामा रहेको जनाएको छ । भारतको उत्तरी क्षेत्र र राजधानी दिल्लीमा २ हप्तादेखि अत्यधिक गर्मी हुँदा जनजीवन कष्टकर बनेको छ । अधिकांश सहरहरुमा ४५ डिग्री सेल्सियसभन्दा माथि तापक्रम पुगेको बताइएको छ । कतिपय स्थानमा पानी र बिजुलीको अत्यधिक खपत भएपछि ती क्षेत्रमा बिजुली कटौती हुनुका साथै पानीको लाइन काटिएको छ ।

गत साता दिल्लीका कतिपय स्थानमा ५० डिग्री सेल्सियस तापक्रम पुगेको थियो भने यो साताको अन्त्यतिर ५२.९ डिग्री सेल्सियससम्म पुगेको छ । सरकारी अधिकारीहरुले तापक्रम नापिरहेका छन् । तर तापक्रम बढिरहेको पाइएको छ । भारतमा २००० देखि २००४ को अवधिमा ५५ डिग्री सेल्सियससम्म तापक्रम पुगेको बताइएको थियो ।


क्लिकमान्डु