अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प फौजदारी मुद्दामा दोषी ठहर



ट्रम्पविरुद्धको मुद्दामा पोर्नस्टार स्टोर्मी ड्यानियलसहित २२ जनासँग बयान लिइएको थियो । अमेरिकी राष्ट्रपति बनिसकेको व्यक्ति फौजदारी मुद्दामा दोषी ठहर भएको यो पहिलो घटना हो ।

एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प फौजदारी मुद्दामा म्यानहटन अदालतले दोषी ठहर गरेको छ । विभिन्न दस्तावेजहरुमा किर्ते गरेको भन्दै ३४ वटा कसुरमा ट्रम्प दोषी ठहर भएका हुन् ।

अमेरिकाको राष्ट्रपति बनिसकेको व्यक्ति फौजदारी मुद्दामा अदालतबाट दोषी ठहर भएको यो पहिलो घटना हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार ट्रम्पलाई आगामी जुलाइ ११ मा अदालतले जेल सजाय सुनाइन सक्नेछ । अदालतले ६ हप्ताको सुनुवाइको क्रममा विभिन्न २२ जना व्यक्तिहरुसँग बयान लिएपछि फैसला सुनाएको हो । बयान लिनेमध्ये पोर्नस्टार स्टोर्मी ड्यानियल पनि एक थियन् ।

स्टोर्मीले भने ट्रम्पले आफूसँग यौन सम्बन्ध राखेको र पैसा दिएर उक्त घटना लुकाउनका लागि दबाब दिएको दाबी गर्दै आएकी थिइन् ।

तर स्टोर्मीलाई दिएको उक्त रकमको हिसाब लुकाउन ट्रम्पले व्यावसायिक अभिलेखहरुमा किर्ते गरेको आरोप लागेको थियो । स्टोर्मीले ट्रम्पका वकिल माइकल कोहेनबाट २०१६ को चुनावअघि १ लाख ३० हजार अमेरिकी डलर लिएको आरोप लगाएपछि ट्रम्पका ती वकिल जेलमा छ ।

पूर्वराष्ट्रपति ट्रम्प फौजदारी मुद्दामा दोषी ठहर भए पनि २०२४ को नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनमा भाग लिनका लागि संविधानले नरोक्ने बताइएको छ । अदालतको फैसलापछि ट्रम्पले भने यस फैसलालाई कलंकको संज्ञा दिएका छन् भने उनका प्रतिस्पर्धी जो बाइडेनले यस फैसलालाई ऐतिहासिक भन्दै कानुनभन्दा माथि कोही नहुने प्रतिक्रिया दिएका छन् ।


क्लिकमान्डु