चीनले अष्ट्रेलियन गाईको मासुमा लगाएको प्रतिबन्ध हटायो



एजेनुसी । चीनले अष्ट्रेलियाका गाई-गोरुको मासु विक्री तथा प्रशोधन गर्ने प्रमुख पाँचवटा कम्पनीको आयातमा लगाएको प्रतिबन्ध हटाएको छ । चीनको यस कदमले दुई देशबीचको तिक्ततापूर्ण सम्बन्धमा सुधार आउने अपेक्षा गरिएको छ ।

यससँगै चीनले अहिलेसम्म आठ वटा मासु विक्रेता कम्पनीहरुमाथिको आयात प्रतिबन्ध हटाइसकेको छ । जवकि अरु दुईवटा कम्पनीमाथिको प्रतिबन्ध कायम छ ।

कोभिड १९ को उत्पति भएको हुनसक्ने भन्दै अष्ट्रेलियाले त्यसबारे स्वतन्त्र छानबिनको आह्वान गरेपछि चीनले त्यसको प्रतिक्रिया स्वरुप अष्ट्रेलियाबाट आयात हुने कोइला, काठ र वाइन लगायतका वस्तुसहित मासुको आयातमा पनि प्रतिबन्ध लगाएको थियो । २०२० देखि २०२२ को अवधिमा चीनले अष्ट्रेलियालाई दबाब दिन ती सामानको आयातमा प्रतिबन्ध लगाएको थियो ।

तर उक्त प्रतिबन्धको असर प्रत्यक्ष रुपमा मासुको आयातमा परेको थियो । किनकि चीन अष्ट्रेलियाको सबैभन्दा दोस्रो ठूलो मासु निर्यातको बजार थियो । पछिल्लो वर्षमा चीनले १ अर्ब ६० करोड अमेरिकी डलर बराबरको २ लाख ४० हजार टन मासु खरिद गरेको थियो ।

दुई वर्षअघि अष्ट्रेलियाको सरकार फेरिने क्रममा चीनले अष्ट्रेलियाको अधिकांश सामानमा लगाएको प्रतिबन्ध हटाएको थियो । यद्यपि अष्ट्रेलियाबाट आयात हुने भुरा माछाहरुको आयातमा चीनले प्रतिबन्ध फुकुवा गरेको छैन । अष्ट्रेलियन विदेशमन्त्री पेनी ओङले भने चीनलाई आफूहरुले प्रतिबन्ध हटाउन निरन्तर रुपमा दबाब दिइरहेको प्रतिक्रिया दिएका छन् ।


क्लिकमान्डु