भौतिकमन्त्री महासेठ र अर्थमन्त्री पुनको टसल परेपछि सहरी विकास मन्त्रालयको बजेट २७ अर्ब बढ्यो !



काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र अर्थमन्त्री वर्षमान पुनबीच टसल परेपछि सहरी विकास मन्त्रालयको बजेट बढेको छ ।

सबै पार्टीका नेताका खुद्रे योजना हाल्न अर्थमन्त्रीले दबाब दिएका थिए । तर महासेठले नमानेपछि टसल परेको हो । सोही कारण अर्थमन्त्री पुनले सहरी विकास मन्त्री धनबहादुर बुढालाई प्रयोग गरेर सांसदका योजना हालेका छन् ।  

चालु आर्थिक वर्ष ६६ अर्ब १७ करोड ५५ लाख रुपैयाँ बजेट पाएको सहरी विकास मन्त्रालयले आगामी वर्षका लागि  ९२ अर्ब ६३ करोड ५४ लाख रुपैयाँ पाएको छ । चालु आर्थिक वर्ष सहरी विकास मन्त्रालयको बजेट २६ अर्ब ७५ करोड रुपैयाँले बढाइएको छ ।

यसको मुख्य कारण सहरी विकास मन्त्रालय अन्तर्गत नेताका पकेटका योजनाहरु हालिएका छन् । अर्थ मन्त्रालय स्रोतका अनुसार सहरी विकास मन्त्री धनबहादुर बुढालाई प्रयोग गरेर स्थानीय सडक,पुल, नयाँ शहर, शहरी क्षेत्र विकासलगायतका योजनाहरु हालिएका हुन् ।

‘नेताका खुद्रे योजनाहरु हाल्न मानेपछि सहरी विकास मन्त्रालयको बजेट बढाइएको हो । यसमा एमाले,माओवादी र समाजवादीका नेताका खुद्रे योजनाहरु छन्,’ स्रोतले भन्यो, ‘सांसद योजनाहरु यो मन्त्रालयमार्फत हालिएको छ ।’

हरेक सांसदका ५ वटा खुद्रे योजना छन् । २७५ सांसदका लागि  १० अर्ब रुपैयाँ बढीको सांसदका योजना हालिएको छ । ‘भौतिक मन्त्रालयले नमानेपछि अर्थमन्त्री तनावमापरेका थिए । सहरी विकास मन्त्रीले मानेपछि बजेट बढाइएको हो,’ स्रोतले भन्यो, ‘सहरी विकासमन्त्रीले सहजै मानेका छन् । नेतालाई चुनाव जित्ने योजनाहरु समेत परेका छन् ।

भौतिक पूर्वाधार मन्त्रीले भने अधिकांश एमाले नेताका टुक्रे योजनामा बजेट छरेका छन् । मन्त्री महासेठले १६ अर्ब रुपैयाँभन्दा बढीका टुक्रे योजना हालेका छन् । ३ खर्ब रुपैयाँभन्दा बढीको सिर्जित दायित्व विर्सिएर टुक्रे योजनामा बजेट छरेका हुन् । मन्त्रालयले आगामी आर्थिक वर्षका लागि १ खर्ब ५० अर्ब रुपैयाँ बजेट पाएको छ ।


दिनेश खड्का