बजेटमा स्वर्णिम वाग्लेको असन्तुष्टि- आन्तरिक ऋण बढाउँदा उद्योगी-व्यवसायीलाई असर गर्छ



काठमाडौं । सत्तारुढ दल रास्वपाका उपसभापति एवं सांसद स्वार्णिम वाग्लेले सरकारले सोसेर आन्तरिक ऋण लिँदा त्यसको असर उद्योगी व्यवसायीलाई पर्ने भन्दै बजेटमाथि टिप्पणी गरेका छन् ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमा ३ खर्ब ३० अर्ब आन्तरिक ऋण लिने लक्ष्य राखेको छ । तर उक्त ऋणको रकम धेरै भएको भन्दै सांसद वाग्लेले टिप्पणी गरेका छन् ।

‘उद्योगी व्यवसायीले ऋण लिन नपाउने,तर सरकारले बजारबाट सोसेर बढी ऋण लिँदा उद्योगी व्यवसायीलाई असर पर्ने हो कि भन्ने चिन्ता रहेको छ’ उनले भने । चालु आवको बजेट पनि समिक्षा मार्फत घटाएको र आगामी आवको बजेट पनि समिक्षा मार्फत घटाउने सम्भावना रहेको उनले बताए ।

आन्तरिक ऋण बाहेक सरकारले आगामी आवका लागि ल्याएको बजेट निकै जिम्मेवार खालको रहेको पनि उनको भनाइ छ । चालु आवका लागि ल्याएको १७ खर्ब ५१ अर्बको बजेट अलि बढी फुकाएर बनाएको र यो सरकारले आगामी आवका लागि बनाएको बजेट जिम्मेवार खालको रहेको पनि उनको तर्क थियो ।

सरकारको दायित्व निकै रहेको भन्दै यो बजेट सन्तुलित रहेको सांसद वाग्लेले बताए । ‘सरकारले चाँडै आयोजना बनाएर, दशैं अघि नै खर्च गर्न सकिने भयो भने पुरानो रोग कम हुँदै जाने छ,’ उनले भने ‘अर्थमन्त्रीले पुरानो रोग चिर्न सकेको खण्डमा बजेट कार्यान्वयन गर्न सकिने छ ।’ सरकारले आगामी आवको बजेटमा १२ खर्ब ६० अर्ब रहेको र यसमा केही बढाउन सकिने हो कि जस्तो आफूलाई लागेको उनको भनाइ छ ।

नेपालमा तीन वर्षदेखि नै विदेशी अनुदान कम उठेको भन्दै उनले ५० अर्ब उठाउने भनिएकोमा ३ अर्ब मात्रै उठेकोमा गुनासो गरेका थिए ।

यस पटक मन्त्री पुनले ५२ अर्ब उठाउने भनेको उल्लेख गरेका थिए । सांसद वाग्लेले भने, ‘राजस्व र विदेशी अनुदान १८ खर्ब ६० अर्ब ३० करोड खर्च गर्नुपर्ने छ । राजस्वबाट नउठेको पैसा ऋणबाट पुर्ति गर्नुपर्ने बाध्यता रहेको छ ।’ झण्डै ३ खर्ब आन्तरिक लोन लिने, २ खर्ब १७ अर्ब विदेशी लोन लिन खोजिएको र यो निकै ठूलो भएको पनि वाग्लेको भनाइ छ । यस्तै ५ खर्ब ऋण लिएर १८ खर्ब ६० अर्बको बजेट कार्यान्वयन गर्न आवश्यक रहेको पनि उनले बताए । साथै अर्थतन्त्रको आकारको ९ प्रतिशत ऋण भएकोमा यो अलि बढी नै भएको उनको गुनासो थियो ।


क्लिकमान्डु