सनातन धर्म-संस्कृतिका अन्तर्राष्ट्रिय सम्मेलनलाई सरकारको प्रोत्साहन



काठमाडौँ । सरकारले सनातन धर्म र संस्कृतिसम्बन्धी अन्तर्राष्ट्रियस्तरका सभा र सम्मेलन आयोजना गर्ने घोषणा गरेको छ ।

सङ्घीय संसद्को संयुक्त बैठकमा मंगलबार अर्थमन्त्री वर्षमान पुनबाट प्रस्तुत आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्यमा जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गरिने उल्लेख छ । यस्तै सिम्रौनगढलाई विशेष संरक्षण गर्ने कार्यक्रम सरकारले अघि सारेको छ ।

समुदायसँगको सहकार्यमा पुराना बस्ती भएका कीर्तिपुर, बन्दीपुर, बुङ्मती, थिमी, गोरखा, जनकपुर र मटिहानीलगायतका स्थानको इतिहास, संस्कृति, भाषा र सभ्यतालाई संरक्षण र सम्वर्द्धन गर्न विविध कार्यक्रम सञ्चालन गरिने बजेट वक्तव्यमा उल्लेख गरिएको छ ।

भाषा, साहित्य, दर्शन, संस्कृति, कला, सङ्गीत, नाट्यलगायतका अमूर्त सांस्कृतिक क्षेत्रको विकास र प्रवर्द्धनलाई पनि सरकारले प्राथमिकताका साथ बजेट विनियोजन गरेको अर्थमन्त्री पुनले बताए । यस्तै प्रतिलिपि अधिकारको संरक्षण र नियमन गरिने पनि भएको छ ।

साथै तनहुँको चुँदी रम्घामा सबै नेपाली भाषाभाषीका मूर्धन्य स्रष्टाको प्रतिमा र सप्तधामसहितको भानु साहित्य उद्यान स्थापना गरिने सरकारको घोषणा छ । गोरखामा राजतन्त्रदेखि गणतन्त्रसम्मको अभिलेख रहने गरी ऐतिहासिक सङ्ग्रहालय निर्माण गरिने पनि अर्थमन्त्री पुनले बताए । सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका लागि ११ अर्ब ९१ करोड विनियोजन गरेको छ ।


क्लिकमान्डु