सुरक्षाकर्मीको सेवानिवृत्त उमेर पुनरावलोकन गरिने



काठमाडौँ । सरकारले सुरक्षाकर्मीको सेवानिवृत्त हुने उमेर पुनरावलोकन गर्न अध्ययन गर्ने भएको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को सरकारको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागको संस्थागत सुदृढीकरण गरी दक्ष एवं व्यवसायिक बनाइने बताए ।

मुलुकमा शान्ति सुरक्षा तथा अमनचयन कायम गर्दै जनतामा सुरक्षाको प्रत्याभूति गराइने तथा अध्यागमन प्रणाली ‘डिजिटलाइज’ गरी अत्याधुनिक बनाइने बजेट वक्तव्यमा उल्लेख छ । अनलाइनमार्फत ई-भिसाका लागि आवेदन दिनसक्ने प्रणाली लागू गरिने साथै कारागारलाई सुधारगृहका रुपमा विकास गरिने पनि उनले बताए ।

खुला कारागाारको अवधारणा अनुसार कैदीबन्दीलाई लघु, घरेलु तथा साना उद्यम तथा रोजगारीसँग आबद्ध गरिने बजेट वक्तव्यमा उल्लेख छ । कारागारमा कैदी बन्दीको चाप कम गर्न ‘प्रोवेसन’ र ‘प्यारोल’ को व्यवस्था कार्यान्वयनमा ल्याइने बताइएको छ । साथै निर्माणाधीन एक हजार तीन सय ७० क्षमताको नुवाकोट कारागारलाई सञ्चालनमा ल्याइने पनि उनले बताए । कसूरजन्य सम्पत्ति रोक्का, नियन्त्रण र जफतसम्बन्धी एकीकृत केन्द्रीय अभिलेख अद्यावधिक गरी कसूरजन्य सम्पत्ति तथा साधनको उचित व्यवस्थापन गरिनेछ ।

अन्तर्राष्ट्रिय सीमा सुरक्षा व्यवस्थालाई सुदृढ र प्रभावकारी बनाउँदै सीमा सुरक्षामा स्थानीय नागरिकको सहभागिता र अपनत्व बढाउने कार्यक्रम सञ्चालन गरिने अर्थमन्त्री पुनले बताए । विपद् व्यवस्थापनसम्बन्धी कार्यलाई प्रभावकारी रुपमा अघि बढाइने पनि बजेटमा उल्लेख छ । साथै विपद्, उद्धार तथा राहतको क्षेत्रमा नागरिकको क्षमता अभिवृद्धि गर्दै विपद्मा नागरिक सहभागितासम्बन्धी कार्यक्रम सञ्चालन गरिने बताइएको छ । गृह मन्त्रालयतर्फ एक खर्ब ९९ अर्ब २४ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

अर्थमन्त्री पुनले देशको सार्वभौमसत्ता, स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रियता र स्वाधिनताको संरक्षण गर्दै राष्ट्रिय एकतालाई अक्ष्युण राख्न राष्ट्रिय सुरक्षा नीतिको प्रभावकारी कार्यान्वयन गरिने बताए । नेपाली सेनालाई प्रविधियुक्त, दक्ष एवं व्यावसायिक बनाउन बङ्करदेखि ब्यारेकसम्मका कार्यक्रमलाई एक अर्ब ५० करोड बजेट विनियोजन गरिएको छ । यस्तै राष्ट्रिय सेवा दल तालिमलाई स्थानीयस्तरसम्म विस्तार गरिने बताइएको छ । रक्षा मन्त्रालका लागि ५९ अर्ब ८७ करोड विनियोजन गरिएको उनले बताए ।


क्लिकमान्डु