६ महानगरमध्ये भरतपुरको सबैभन्दा कम बेरुजु, सबैभन्दा बढी पोखराको



देशभरका महानगरपालिकामध्ये भरतपुर महानगरको ०.०१ प्रतिशत अर्थात् पाँच लाख १५ हजार मात्रै बेरुजु देखिएको छ ।

चितवन । ६ वटा महानगरपालिकामध्ये भरतपुर महानगरको बेरुजु सबैभन्दा कम देखिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८०को प्रतिवेदनमा भरतपुर महानगरको बेरुजु शून्य जस्तै छ ।

कार्यालयको ६१औँ वार्षिक प्रतिवेदनमा महानगरको बेरुजु ०.०१ प्रतिशत मात्रै छ । जुन रकमको हिसाबले पाँच लाख १५ हजार रुपैयाँ मात्रै हो । प्रतिवेदनअनुसार उक्त आर्थिक वर्षमा आठ अर्ब ५० करोड ९२ लाख ८७ हजारको लेखापरीक्षण गरिएको थियो ।

प्रतिवेदनअनुसार काठमाडौँ महानगरको बेरुजु १.११ प्रतिशत अर्थात् २५ करोड ७० लाख ३४ हजार रुपैयाँ, पोखरा महानगरको ७.९८ प्रतिशत अर्थात् ७९ करोड २३ लाख ७५ हजार रुपैयाँ रहेको छ । यस्तै वीरगञ्जको ७.१४ प्रतिशत अर्थात् ५७ करोड ९४ लाख ८२ हजार, विराटनगरको १.०३ प्रतिशत अर्थात् सात करोड ११ लाख ५३ हजार र ललितपुरको ०.४६ अर्थात् चार करोड ५१ लाख रुपैयाँ बेरुजु देखिएको छ ।

भरतपुर महानगरपालिकाका आर्थिक प्रशासन महाशाखा प्रमुख जगन्नाथ अर्यालले आर्थिक वर्ष २०७९/८० मा महानगरको बेरुजु विगतका वर्षको तुलनामा घटेको जानकारी दिए । आर्थिक वर्ष २०७८/७९ को प्रतिवेदनमा भरतपुरको बेरुजु ०.०८ प्रतिशत थियो । आर्थिक वर्ष २०७७/७८ मा पेस्की बाहेक बेरुजुमा ०.२५ प्रतिशत थियो ।

यस्तै असुल गर्नुपर्ने बेरुजु पनि घट्ने क्रममा रहेको बताइएको छ । महानगरपालिकाले वेरुजु नहुने गरी कार्यसम्पादनमा कडाई गरेका कारण बेरुजु घटेको उनले बताए ।

भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले पछिल्ला हरेक वर्षमा महानगरपालिकाको बेरुजु कम हुँदै गएको बताएकी छन् । “ऐन, नियम र मापदण्डको पूर्ण पालना गरिएको, उपभोक्ता समितिलाई पेस्की दिने कार्यमा कडाइ गरिएको र बेरुजु फर्छ्योटमा विशेष जोड दिएकै कारण अन्य महानगरपालिकाभन्दा भरतपुरको बेरुजु निकै कम बनाउन सकिएको हो,” मेयर दाहालले बताइन् ।

गतिशील, पारदर्शी एवं स्वच्छ नेतृत्व र लेखा समितिको क्रियाशीलताका कारण न्यून बेरुजु आएको मेयर दाहालले भनाइ छ । उनले भनेकी छन्, “हामी बेरुजुलाई शून्यमै झार्ने अभियानमा छौं ।” भरतपुर महानगरपालिकाले बेरुजु फर्छ्योटका लागि अभियान नै सञ्चालन गरिरहेको छ । दाहालले भनेकी छन्, “जवाफदेहीता, पारदर्शिता र आर्थिक मितव्ययितामा हामी प्रतिबद्ध छौँ ।”

उपप्रमुख चित्रशेन अधिकारीले सुशासनमा ध्यान दिँदै जनताको मन जितेर विकासमा महानगर जुटेको बताएका छन् । “छिटो–छरितो सेवा प्रवाहमा महानगर लागेको छ,” उनले भने । खर्चमा गरिएको मितव्ययिता, नियम कानुनको परिधिमा रहेर खर्च गर्ने पद्धतिको विकास, आन्तरिक नियन्त्रण पद्धतिमा सुदृढीकरणका कारण बेरुजु घटाउन सफल भएको अधिकारीले बताए । यस्तै, महानगरले तहगत रूपमा बलियो अनुगमन संयन्त्र बनाएको र मापदण्ड कार्यविधिको पूर्णपालना गरेको जनाएको छ ।


क्लिकमान्डु