एमालेलाई विश्‍वप्रकाशको जवाफ- कमरेड, यो उत्तर कोरिया हैन, नेपाल हो !



‘तथ्यहीन आरोप लगाउँदा मौन धारण गर्न सकिएन । खुला प्रतिवाद गरेकै हो । निम्छरो भन्दा र गिरीबन्धुमा झुठो आरोप लगाउँदा माफी माग्नु नपर्ने, कांग्रेसले सही प्रतिवाद गर्दा माफी माग्नुपर्ने ? अचम्म !’

काठमाडौं । एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमालेमाथिको आरोपमा माफी माग्नुपर्ने भन्दै कांग्रेसलाई चेतावनी दिएपछि नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रति टिप्पणी गरेका छन् ।

एमाले उपाध्यक्ष पौडेलको प्रतिक्रियाप्रति लक्षित गर्दै महामन्त्री शर्माले आफूहरुले माफी नमाग्ने बरु कांग्रेसमाथि लगाएको आरोपको खण्डन गरेको बताएका छन् ।

सोमबार उनले सामाजिक सञ्जाल एक्समा लेख्दै भनेका छन्, ‘गिरीबन्धु प्रकरणमा अदालतको पूर्णपाठपछि कांग्रेस केही बेलेकै थिएनौं । ओलीले फायर खोल्दै भन्न्भयो-कांग्रेसले सत्तरी बिघा बेचेर कमिसन खायो । रौद्र रुप धारण गरेर यस्तो तथ्यहीन आरोप लगाउँदा मौन धारण गर्न सकिएन । खुला प्रतिवाद गरेकै हो । निम्छरो भन्दा र गिरिबन्धुमा झुठो आरोप लगाउँदा माफी माग्नु नपर्ने, कांग्रेसले सही प्रतिवाद गर्दा माफी माग्नुपर्ने ? अचम्म !’

एमाले उपाध्यक्ष पौडेलले कांग्रेसले माफी नमागे आफूहरु राजनीतिक प्रतिवादमा उत्रने भन्दै कांग्रेसलाई चेतावनी दिएका थिए । त्यसको जवाफ स्वरुप कांग्रेस महामन्त्रीले प्रति टिप्पणी गरेका हुन् । शर्माले पौडेलको चेतावनीलाई निरंकुश कम्युनिस्ट शासनबाट प्रेरित भएको संकेत गरेका छन् ।

जहाँ उनले यो उत्तर कोरिया नभएर नेपाल भएको भन्दै कटाक्ष गरेका छन् । ‘नम्रसँग स्पष्ट गर्छु-आदरणीय कमरेडहरु, यो उत्तर कोरिया होइन । नेपाल हो !’

एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री छँदा गिरीबन्धु टी स्टेटको जग्गा अनियमितता गर्दै व्यक्तिको नाममा सार्न खोजेको विषयमा सर्वोच्चले उक्त कदमलाई सर्वोच्च अदालतले रोकेको छ । यही विषयमा छानबिन हुनुपर्ने माग उठिरहेको छ ।

कांग्रेसका नेताहरुले पूर्वप्रधानमन्त्री केपी ओलीमाथि छानबिन हुनुपर्ने माग गरेपछि गत साता ओलीले कांग्रेसले नै उक्त जग्गा बेचेर अनियमितता गरेको आरोप लगाएका थिए । कांग्रेसले भने गिरीबन्धु र सहकारी ठगी प्रकरणमा छानबिन नगर्ने सम्बन्धमा केपी ओली र गृहमन्त्री रवि लामिछानेबीच सहमति भएको पनि आरोप लगाउँदै आएको छ ।


क्लिकमान्डु