ओलीमाथि कांग्रेसले लगाएको आरोपमा क्षमा नमागे प्रतिवादमा उत्रिने एमालेको चेतावनी

ओलीमाथि कांग्रेसको आरोप यस्तो



काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले नेकपा एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति नेपाली कांग्रेसले लगाएको आरोपको लिखित र सार्वजनिक माफी नमागे आरोपहरु सुनेर नबस्ने चेतावनी दिएका छन् ।

सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सहकारी प्रकरणबारे संसदीय छानबिन समिति बनाउन निष्कर्षमा पुग्ने भनिएको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले उपाध्यक्ष पौडेलले कांग्रेसले आफ्नो दल र अध्यक्ष ओलीबिरुद्ध लक्षित गरेर दिएको अराजनीतिक र पूर्वाग्रही आरोप लगाएको तर्क गरे ।

कांग्रेसले अध्यक्ष ओलीप्रति लगाएको आरोपमा लिखित रुपमा क्षमा याचना नमागे एमाले राजनीतिक प्रतिवादमा उत्रिने उनको चेतावनी छ ।
‘पछिल्ला दिनमा कांग्रेसले एमालेबिरुद्ध, पार्टीका अध्यक्षबिरुद्ध प्रायोजित, पूर्वाग्रही, तथ्यहिन, गलत, भ्रामक, प्रतिशोधपूर्ण, आधारहिन लाञ्छनाहरुको प्रचार गरिरहेको छ,’ उनले भने, ‘सबैभन्दा पहिला कांग्रेसलाई आधारहीन, अराजनीतिक लाञ्छनाबाट पछि हट्न आग्रह गन चाहन्छु । यदि यस प्रकारका आफ्ना अभिव्यक्तिहरुबाट कांग्रेस पछि हट्दैन भने एमाले यस्त अभिव्यक्तिबिरुद्ध राजनीतिक रुपमा प्रतिवादमा उत्रिन्छ ।’

उनले एमाले र ओलीविरुद्ध लक्षित गरेर कांग्रेसले लगाएको आरोपमा लिखित क्षमायाचना गर्नुपर्ने बताए।
‘ओलीबिरुद्धमा टार्गेट गरेर जुन प्रकारका अराजनीतिक र पूर्वाग्रही आरोप लगाइरहेको छ, कांग्रेसले यो आरोपमा लिखित क्षमा याचना गर्नुपर्दछ । सार्वजनिक रुपमा माफी माग्नुपर्छ,’ उनले भने, ‘ अन्यथा नेपाली कांग्रेससँगको हाम्रो सम्बन्ध ठिक ढंगले अघि बढ्न सक्दैन । कांग्रेसले बुझोस्, नेकपा एमाले यस प्रकारका अराजनीतिक र प्रतिशोधपूर्ण आरोपहरु सुनेर बसिरहने पक्षमा छैन ।’

कांग्रेसले गिरीबन्धु टि-इस्टेटमा एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारको संलग्नता रहेको तथ्य अदालतले प्रमाणीत गरिसकेको भन्दै उनीमाथि कारबाहीको माग गर्दै आएको छ ।


क्लिकमान्डु