विमानस्थलबाट साढे २ अर्बको हिरा आयात, छैन हिरा पत्ता लगाउने प्रविधि

केही वर्षअघि १०% रहेको भन्सार महसुल अहिले १% मात्र



काठमाडौं । गत आर्थिक वर्ष त्रिभुवन विमानस्थल हुँदै साढे २ अर्ब रुपैयाँको बहुमूल्य पत्थर हिरा आयात भएको पाइएको छ ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६१ औं प्रतिवेदनका अनुसार यो वर्ष हिराको १ हजार ४२६ कारोबार भएको छ ।

आम नागरिक वा सीमित एवं उच्च वर्गलाईमात्र प्रभाव पार्ने मालवस्तुको मूल्याङ्कन गरी समन्यायिक भन्सारका दर निर्धारण हुनुपर्नेमा विगत केही वर्ष अगाडि १० प्रतिशतका दरले भन्सार महसुल लिएको डायमण्डलाई यो वर्ष १ प्रतिशतमात्र भन्सार महसुल लिएको देखिएको प्रतिवेदनमा उल्लेख छ ।

‘यो वर्ष १ हजार ४२६ कारोबारबाट २ अर्ब ३२ करोड २२ लाख रुपैयाँको हिरा (डायमण्ड ) आयात भएको विवरण प्राप्त भएको छ’ प्रतिवेदनमा भनिएको छ ।

महालेखाले हिरा पत्ता लगाउने प्रविधि त्रिभुवन विमानस्थल भन्सार बिन्दुमा नरहेको र सुनको तुलनामा भन्सार दर न्यून हुँदा यसले समन्यायिकता स्थापित हुन सकेको नदेखिएको जनाएको छ ।

पैठारीकर्ताले सानो रूप र परिमाणको हिरा ल्याउने, बिक्री वा प्रयोग हुँदा कसैले जानकारी नपाउने एवं बजार अनुगमनसमेत नहुँदा यसको मूल्य र कारोबार समेत स्पष्ट छैन ।

वैदेशिक मुद्राको सटही सुविधा लिई टीटीमार्फत भुक्तानी गर्दा अन्य मालवस्तु पैठारीमा समेत उक्त रकम प्रयोग हुन जाने एवं राजस्व छली हुने जोखिम देखिएकोले हिरामा कराधार वृद्धि र करको दिगोपना समेतलाई ध्यान दिई भन्सार महसुल दर निर्धारण गर्नुपर्ने देखिएको महालेखाको प्रतिवदेनमा उल्लेख गरिएको छ ।


क्लिकमान्डु