सिंहदरबारभित्र कर्मचारीको बेथितिः ईभीको चार्जिङ स्टेसनमा बाइक पार्किङ                

नो पार्किङ भनेर सूचना टाँस्दै मन्त्रालय



काठमाडौं । ऊर्जा,जलस्रोत तथा सिंचाई मन्त्रालयले विद्युतीय सवारीसाधन (ईभी) प्रवर्द्धन गर्ने भन्दै सिंहदरबार परिसरभित्र निर्माण गरेको चार्जिङ स्टेसनमा बाईक पार्किङ हुने गरेको पाइएको छ ।

चार्जिङ स्टेसन सवारीसाधन पार्किङस्थल बनेको छ । ‘हामीले चार्जिङ स्टेसन त बनायौं तर साथीभाईहरुले बाईक पार्किङ गरेर हैरान छ । सबै चार्जिङ स्टेसनमा गाडी चार्ज नै गर्न नमिल्ने गरी बाइक र स्कुटर पार्क हुन्छ,’ ऊर्जा मन्त्रालयका सहसचिव नविनराज सिंहले क्लिकमान्डुसँग भने- ‘हामीले कतिपल्छ भन्यौं, मान्दैनन् । कुरेर बस्ने कुरा पनि भएन । हामी नो पार्किङ भनेर सूचना टाँस्छौं ।’

ऊर्जा मन्त्रालय, अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयमा चार्जिङ स्टेसन राखिएको छ । अर्थ र ऊर्जा मन्त्रालयमा दुई/दुईवटा चार्जिङ स्टेसन छन् । दुवैमा बाईक पार्किङ हुने गरेको छ । परराष्ट्र मन्त्रालयको  चार्जिङ स्टेसनमा सम्बन्धित कर्मचारी/व्यक्तिबाहेकलाई प्रवेश निषेध छ ।

ऊर्जा मन्त्रालयले चार्जिङ स्टेसन दुईपाङग्रे पार्किङ कै कारण प्रभावकारी सञ्चालनमा ल्याउन नसकिएको निष्कर्ष निकालेको छ। सवारीसाधन पार्किङ गरेकै कारण चार्ज गर्नै नसकिने अवस्था छ ।

ऊर्जा मन्त्रालयले सिंहदरबारभित्र ३० किलोवाटका चार्जिङ स्टेसन निर्माण गरेको छ । ८० लाख रुपैयाँ खर्चेर ५ वटा चार्जिङ स्टेसन निर्माण गरेको हो । यी चार्जिङ स्टेसनमा कारहरु मात्रै चार्ज गर्न मिल्छ । करिब डेढ घण्टामा फुल चार्ज गर्न मिल्ने फाष्ट चार्जरहरु राखिएका छन् ।

नेपाल विद्युत प्राधिकरणले देशका विभिन्न स्थानमा ५१ वटा चार्जिङ स्टेसन निर्माण गरेर सञ्चालनमा ल्याएको  छ । भने ११ वटा चार्जिङ स्टेसन निर्माण गरिरहेको छ । निजी क्षेत्रले साना ठूला गरी करिब ४०० चार्जिङ स्टेसन सञ्चालनमा ल्याएका छन् ।

बिवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले असारभित्रै १००  चार्जिङ स्टेसन निर्माण गर्ने गरी काम गरिरहेको छ ।


क्लिकमान्डु