धितोपत्र बोर्डसँग निर्जीवन बिमा लगानीकर्ताको गुनासो: अप्ठेरो पर्दा पनि सेयर बेच्न पाएनौं



काठमाडौं । नेपालमा सञ्चालनमा रहेको निर्जीवन बीमा कम्पनीका लगानीकर्ताहरुको छाता संगठन नेपाल निर्जीवन बीमा व्यवसायी संघले नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारीसँग भेट गरी संघको तर्फबाट सुझाव प्रस्तुत गरेको छ । संघका पदाधिकारीहरुबाट हाल सञ्चालकको सेयर पदमा रहँदा र पदबाट हटेको एक वर्षसम्म पनि बिक्री गर्न नपाइने व्यवस्थाले गर्दा आफूहरु समस्यामा परेको भन्दै सो प्रावधानलाई पुनरावलोकन गर्न अनुरोध गरेको हो ।

कैंयौं वर्षदेखि लगानीकर्ता सञ्चालकहरुले आफूलाई व्यक्तिगत रुपमा अप्ठ्यारो परेको बखतमा सेयर बिक्री नपाउँदा समस्या परेको, सबै लगानीकर्ताहरु जस्तै सञ्चालकहरु समेत कम्पनीको लगानीकर्ता नै रहेको र लगानीकर्ताहरुको तर्फबाट निर्वाचित भई सञ्चालक समितिमा प्रतिनिधित्व गरेको भरमा आफूसँग रहेको सेयर सधैं रोक्का नै गरिराख्नु न्यायोचित नहुने उनीहरुको ठहर छ ।

भारत लगायत अन्य मुलुकमा पनि अग्रिम रुपमा सञ्चालकले घोषणा गरेर सेयर बिक्री गर्ने व्यवस्था रहेको र नेपालमा पनि त्यस्तै व्यवस्था गरी वा नियमानकारी निकायको स्वीकृति लिई निश्चित सीमासम्म आफ्नो सेयर बिक्री गर्न सकिने व्यवस्था गर्न बोर्डको ध्यानाकर्षण गराइएको थियो ।

उक्त भेटघाटमा संघका तर्फबाट अध्यक्ष राजेन्द्र मल्ल, उपाध्यक्ष मनोहर दास मुल, कोषाध्यक्ष रमेश कुमार निरौला, सदस्य आजाद श्रेष्ठ एवं बालकृष्ण श्रेष्ठको उपस्थिति रहेको थियो ।


क्लिकमान्डु