सहकारी पीडितको माग : प्रधानमन्त्री प्रचण्डमाथि पनि छानबिन गर्नुपर्छ



पोखरा । सरकारले समस्या समाधानका निम्ति पहल नगरेको भन्दै कास्कीका सहकारी पीडित बचतकर्ताले विरोध प्रदर्शन गर्ने भएका छन्।

सहकारी पीडितले आइतबार दिउँसो सडकमा विरोध प्रर्दशनसँगै कोणसभा गर्न लागेका हुन्।

आइतबार १२ बजे सिर्जनाचोकदेखि पृथ्वीचोकसम्म विरोध प्रदर्शन गर्ने सहकारी बचत पीडित संघर्ष समिति कास्कीका संयोेजक किरण श्रेष्ठले जानकारी दिए। उनका अनुसार पृथ्वीचोकमा कोणसभासमेत हुनेछ।

पोखराका ७ वटा सहकारीका पीडित बचतकर्ता सहभागी हुने उनले बताए। सूर्यदर्शन, शिवशिखर, इमेज, मित्रमिलन, बलिदानी, विन्दवासिनी र प्राइम बचत तथा ऋण सहकारीले बचतकर्ताको रकम हिनामिना पारेका छन्। झन्डै ४० हजार बचतकर्ताको ७ अर्ब रुपैयाँ सहकारीका सञ्चालक हिनामिना गरेका हुन्।

सहकारी पीडितलाई राहत मिल्ने कार्यक्रम सरकारले नल्याएकाले संघर्ष जारी रहेको श्रेष्ठले बताए। राज्यसँगै प्रहरी प्रशासन पनि पीडितको विपक्षमा उभिएको उनले आरोप लगाए। ७ वटा सहकारीविरुद्ध उजुरी परे पनि टुंगो नलाग्दा पोखराका समस्याग्रस्त अन्य सहकारीका बचतकर्ता चुप लागेर बसेको उनको भनाइ छ।

पछिल्लो समय सहकारी प्रकरण सडकमा मात्रै नभएर सदनसम्मै चर्चा विषय बनेको छ। गोर्खा मिडियामा गृहमन्त्री रवि लामिछाने प्रबन्ध निर्देशक हुँदा सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम स्थानान्तरण भएकाले छानबिनको माग गर्दै प्रतिपक्ष नेपाली कांग्रेसले संसद चल्न दिएको छैन। संसदीय समिति गठनमा पनि सहमति हुन सकिरहेको छैन। गृहमन्त्री लामिछानेको नाम राख्ने नराख्ने विषयमा सत्तापक्ष र प्रतिपक्ष विभाजित छन्।

लामिछानेकै नाम उल्लेख गर्नुपहिले दरिलो छानबिन समितिको आवश्यकता रहेको श्रेष्ठले बताए।

‘एउटा दरिलो निष्पक्ष छानबिन हुने समिति बनाउँ। रवि लामिछानेलाई छानबिन गर्छु भन्न जरुरी भएन’, उनले भने, ‘संसदीय छानबिन समिति बनोस्। सबै दलका मान्छे त्यहाँ बसुन्। र समिति बनाइसकेपछि जिबी राई समूहको सहकारीबाट सुरु गरौँ छानबिन गर्न। सहकारीसँग जोडिएका छानबिनमा आइहाल्छन्।’

छानबिन हुँदा सहकारी प्रकरणमा जोडिएका हरकोहीले सरकारबाट तुरुन्तै राजीनामा दिनुपर्ने उनको तर्क छ। गृहमन्त्रीको मात्रै नभएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सहकारी प्रकरणमा छानबिन गर्नुपर्ने संयोजक श्रेष्ठको माग छ।

उनले भने, ‘छानबिन त प्रचण्डमाथि पनि हुनुपर्छ। सामाजिक सञ्जालमा प्रचण्डले पनि जिबी राईसँग पैसा पैसा खाएको हल्ला छ।’


क्लिकमान्डु