बचतकर्ता ठगेर नारायणगोपाल चोकको नेशनल सहकारीका अध्यक्षसहित ६ जना फरार



काठमाडौं । काठमाडौं महानगरपालिका-३ नारायणगोपाल चोकमा रहेको नेशनल बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकले बचतकर्ताको करिब डेढ करोड रुपैयाँ ठगी गरेका छन् ।

उक्त सहकारीका सञ्चालकले २० जना बचतकर्ताको १ करोड ३४ लाख ४२ हजार ४९५ रुपैयाँ ठगी गरेर फरार भएको अनुसन्धानले देखाएको छ । बचतकर्ताको उक्त बचत ठगेर ६ जना फरार भएका छन् ।

फरार हुनेमा सहकारीका अध्यक्षदेखि सञ्चालक समेत रहेका छन् । बचतकर्ताको बचत अपचलन गरेर फरार हुनेमा सहकारीका अध्यक्ष काठमाडौं महानगरपालिका–३ कपन बस्ने ७५ वर्षका कटक बहादुर श्रेष्ठ, सहकारीका सचिव बालुवाटार बस्ने ७० वर्षका शंकर प्रसाद श्रेष्ठ, सहकारीका उप सचिव महाराजगंज बस्ने ४९ वर्षका विकास प्रसाद जोशी रहेका छन् ।

यस्तै प्रहरीको फरारको सूचीमा सहकारीका सञ्चालक समिति सदस्य महाराजगंज बस्ने ५० वर्षका सुनिल कुमार महर्जन, सञ्चालक समिति सदस्य महाराजगंज बस्ने ६८ वर्षका किशोर कुमार श्रेष्ठ र सञ्चालक समिति सदस्य महाराजगंज बस्ने ४५ वर्षकी स्मृता श्रेष्ठ रहेका छन् ।

उनीहरुका विषयमा महाराजगंज प्रहरीले अनुसन्धान गरेको छ । प्रहरीले अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा समेत दायर गरेको छ ।

सहकारीका सञ्चालकले बचतकर्तालाई धेरै ब्याज दिने प्रलोभनमा पारेर ठगी गरेको पीडित बचतकर्ताको आरोप छ ।
सहकारीले सुरुमा बचतकर्तालाई प्रलोभनमा पारेर राम्रो ब्याज दिने भन्दै बचत लिएको र पछि आफ्नो रकम लिएर सञ्चालक सबै फरार भएको बचकर्ताको दाबी छ ।

बचतकर्ताको बचत अपचलन गरेर फरार ६ जना विरुद्ध १ करोड ३४ लाख ४२ हजार ४९५ रुपैयाँ बराबरको रकम ठहर गरेको भन्दै मुलुकी अपराध संहिता २०७४ को दफा २४९ को उपदफा (३) को खण्ड (ग) बमोजिम सजाय माग दाबी गरिएको छ ।


क्लिकमान्डु