रविलाई गगनको प्रश्न- ‘तपाईँ टेलिभिजन प्रस्तोता हो कि गृहमन्त्री हो ?’



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले गृहमन्त्री रवि लामिछानेले संसद्‍मा उठाएका प्रश्नहरुप्रति आपत्ति जनाउँदै प्रतिकार गरेका छन् । उनले गृहमन्त्री जस्तो जिम्मेवार पदमा बसेको व्यक्तिले ‘छानविन गरौं, फाइल खोलौं’ भनेर भन्नुको सट्टा आफैं छानविन गरेर कारवाही अगाडि बाउनुपर्ने बताए ।

महामन्त्री थापाले आफूमाथि छानविनका लागि तयार रहेको पनि बताएका छन् । आइतबार संसद्‍मा थापाले बोल्न नपाएपछि पत्रकार सम्मेलन गरेर आफूमाथि लामिछानेले उठाएका प्रश्नको जवाफ दिएका हुन् ।

‘तपाईँहरु सबै चोर हो त्यसैले मैले पनि चोर्न पाउनुपर्छ भन्ने आशयले रवि लामिछानेले संसदमा बोल्नुभयो,’ कांग्रेस महामन्त्री थापाले भने, ‘टेलिभिजन प्रस्तोता हुँदा उहाँले प्रश्न सोध्नुहुन्थ्यो । विषयहरू उठाउनु हुन्थ्यो । आज त्यही गर्नुभयो । गृहमन्त्रीको काम यो होइन ।’

यस्तै संसद्‍मा गृहमन्त्री लामिछाने निरिह रुपमा प्रस्तुत भएको पनि उनको भनाइ थियो । महामन्त्री थापाले भनेका छन्, ‘तपाईँ टेलिभीजन प्रस्तोता हो कि गृहमन्त्री हो ? गृहमन्त्रीले तेरो फाइल खोलिदिउँ, तेरो अनुसन्धान गरिदिउँ, भन्दै चर्किने होइन । धमाधम फाइल खोल्ने, अनुसन्धान गर्ने र दोषी भए कारवाही गर्ने हो ।’

तर गृहमन्त्री भएकै कारण कसैलाई पनि नधम्काउन उनले चेतावनी दिएका थिए । यस्तै थापाले एमालेले र रास्वपाबीच सहकारी काण्ड र गिरिबन्धु जग्गा प्रकरण नउठाउने समझदारी बनेको थापाले दाबी गरेका छन् । साथै उनले गृहमन्त्री लामिछानेलाई आफूले उठाएका सबै विषयमा धमाधम छानविन गर्न पनि चुनौती दिए ।


क्लिकमान्डु