चिनियाँ बजारमा पश्चिमा कम्पनीहरुलाई किन मुस्किल हुँदैछ ?
टेस्लासँगै एप्पल, स्टारबक्स, म्याकडोनाल्ड जस्ता ठूला कम्पनीलाई पनि चीनमा कठिनाइ भइरहेको छ
एजेन्सी । पश्चिमा कम्पनीहरुले दशकौंदेखि चिनियाँ उपभोक्तामाझ आफ्नो राम्रो बजार बनाएका छन् । तर आर्थिक मन्दी र प्रतिस्पर्धीको रुपमा उदाएका स्थानीय कम्पनीहरुका कारण पश्चिमा कम्पनीहरुले पहिले झैं बलियो व्यापार गर्न नसक्ने देखिएको छ ।
खाना, कपडादेखि इलेक्रोनिक कारसम्मको व्यापारमा अब पश्चिमा कम्पनीहरुले उपभोक्ताहरुलाई छुट र विशेष अफरहरु दिन थालेका छन् । यसले विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको चिनियाँ बजारको उपभोग्य ढाँचामा आमूल परिवर्तन आइरहेको बताइन्छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार सबैभन्दा तीव्र प्रतिस्पर्धा इलेक्ट्रिक सवारीहरुमा देखिएको छ । जसमा विदेशी कम्पनीहरु अहिलेसम्मकै कठिन प्रतिस्पर्धा गरिरहेका छन् । कतिपयले टिक्नकै लागि संघर्ष गरिरहेका छन् ।
कार उत्पादक कम्पनी टेस्लाको चिनियाँ मार्केट गत अप्रिलमा मात्रै ४ प्रतिशतले गिरावट आएको छ । जवकि मार्चमा ७.७ प्रतिशत व्यापार गरेको टेस्लाले अप्रिलमा आधा खस्किएको हो । चाइना प्यासेन्जर कार एसोसिएसनको शुक्रबार सार्वजनिक तथ्यांक अनुसार सांघाइस्थित टेस्लाको फ्याक्ट्रीको वितरण गत महिनामा अघिल्लो महिनाको तुलनामा १८ प्रतिशत खस्किएको छ । जुन यस कम्पनीको विश्वभरकै फ्याक्ट्रीमध्ये सबैभन्दा धेरै खस्किएको व्यापार हो ।
टेस्लाको व्यापार चीनमा भारी रुपमा खस्किँदा सबैभन्दा ठूलो चिनियाँ प्रतिस्पर्धी कम्पनी बीवाइडीको ईभी व्यापार सोही अवधिमा यसको विपरीत २९ प्रतिशतले बढेको छ । जोसुकैले पनि चीनको बारेमा सोच्ने तरिकामा परिवर्तन ल्याइसकेको विश्लेषकहरुको भनाइ छ । जे क्यापिटल रिसर्चका सहसंस्थापक एवं व्यवस्थापक एन्ने स्टेभेन्सन याङका अनुसार चीनमा पछिल्लो समय व्यवसायिक माहोल सम्पूर्ण रुपमा परिवर्तन भइसकेको छ । गत महिना टेस्लाले चीनमा आक्रामक रुपमा मूल्य कटौतीको घोषणा गरेको थियो ।
गत वर्ष चिनियाँ अर्थतन्त्र ५.२ प्रतिशतले बढेको थियो । जुन कोरोना महामारीबाहेक १९९० पछि पहिलो पटक वार्षिक वृद्धिको सुस्त गति थियो । उपभोक्ताहरुले पनि रोजगारी र आय घटेसँगै खर्चमा कटौती गर्न थालेका छन् । देशकै ७० प्रतिशत क्षेत्र ओगटेको क्षेत्र रियल इस्टेटमा लामो समयदेखि देखिएको संकट र स्टक मार्केटको गिरावटले पनि थप समस्या निम्त्याएको छ ।
१९९० को दशकमा पश्चिमा कम्पनीहरुले धमाधम सल्लाहकार नियुक्त गरिरहेका थिए । उनीहरु चीनमा कसरी राम्रो व्यापार गर्न सकिन्छ भन्दै निरन्तर बैठक गर्नुका साथै आक्रामक रुपमा खटिएका थिए । अहिले कसरी व्यापार बढाउने भन्ने समयमा उनीहरु धमाधम सल्लाहकार हटाउन थालेका छन् ।
चीन अब ब्राजिलकै अवस्थामा पुगिसकेको बताउँछिन् विश्लेषक एन्ने स्टेभेन्सन याङ । भन्छिन्- ‘ठूलो, महत्त्वपूर्ण तर कठिन’।
खाद्य कम्पनीलाई पनि उस्तै कठिन
टेस्ला र ईभी उद्योग मात्रै नभएर चीनमा पछिल्लो समय एप्पल, स्टारबक्स र म्याकडोनाल्ड जस्ता ठूला अमेरिकी कर्पोरेटहरुले पनि कठिन अवस्था झेलिरहेका छन् । उनीहरु अहिले परिवर्तित बजारका लागि आफ्नो नयाँ व्यावसायिक रणनीतिका लागि संघर्ष गरिरहेका छन् ।
चिनियाँ उपभोक्ताहरु पछिल्लो समय विशेषगरी बजेटमैत्री बन्न थालेको विश्लेषकहरु बताउँछन् । फलस्वरुप विलाशिताका वस्तुको खरिदमा उनीहरु उत्साही देखिएका छैनन् । चिनियाँ उपभोक्ताहरु बढी खपत हुने सामग्री वा वस्तुको सामान्यत: कम उपभोग गर्न थालेका छन् ।
एप्पलको समग्र चीनको कुल राजश्व मार्चसम्मको तीन महिनाको अवधिमा ८ प्रतिशत अर्थात् १६ बिलियन डलरले गिरावट भयो । जसमा चीनसहित ताइवान, हङकङ र मकाउको व्यापार पनि जोडिएको थियो । तर विदेशी कम्पनीहरुको प्रमुख प्रतिस्पर्धी हुवावेले भने आफ्नो व्यापार राम्रो गरिरहेको छ । २०२४ को पहिलो त्रैमासमा यसले ७० प्रतिशतले व्यापार बढाएको छ ।
खाद्य लडाइँ
यसैगरी कफी चेनहरुले पनि मूल्य घटाउने प्रतिस्पर्धा गरिरहेका छन् । गत फेब्रुअरीमा लुकिन कफीका पूर्वअधिकारीहरुले सञ्चालन गरेको स्टार्टअप कट्टी कफीले लाट्टेको मूल्य १.४ घटाउनुपर्ने भन्दै अभियान नै चलाएका थिए । फलस्वरुप देशकै ठूलो चेन कफी लुकिनले आफ्नो लाट्टेको मूल्य घटाउन बाध्य भयो ।
भारी छुटले ग्लोबल ब्रान्डलाई नै असर पारेको थियो । यतिसम्म कि स्टारबक्सले पनि चीनमा मूल्य युद्ध गर्ने कुनै रुची देखाएन । यससँगै स्टारबक्सले कुपन प्रणाली ल्याउन थाल्यो । जसले गर्दा यसको लाट्टेको मूल्यमा २० युयान अर्थात् २.४ डलर मूल्य घटायो। यससँगै चीनमा खानाहरुको मूल्य घटाउने विषयले सामाजिक सञ्जालमा व्यापक रुपमा चर्चा पाएको थियो ।