९ महिनामा ११ खर्ब रेमिट्यान्स आप्रवाह, चैतमा मात्रै सवा १ खर्ब भित्रियो



काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा करिब ११ खर्ब रेमिट्यान्स आप्रवाह भएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आवको चैत मसान्तसम्ममा गत आवको तुलनामा १९.८ प्रतिशतले वृद्धि भई १० खर्ब ८२ अर्ब ६२ करोड रुपैयाँ आप्रवाह भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४.२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.७ प्रतिशतले वृद्धि भई ८ अर्ब १५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.९ प्रतिशतले बढेको थियो ।

त्यस्तै चालु आवको चैतमा मात्रै १ खर्ब २१ करोड ४० लाख रुपैयाँ रेमिट्यान्स आप्रवाह भएको छ । तथ्याङ्कअनुसार चैतसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३ लाख २९ हजार ४२२ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख १२ हजार ७२१ रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३ लाख ८७ हजार ८३९ र २ लाख १७ हजार ९५९ रहेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर १७.८ प्रतिशतले वृद्धि भई ११ खर्ब ७४ अर्ब ५० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २२.८ प्रतिशतले बढेको थियो ।


क्लिकमान्डु