बजार घट्दा पनि यी हुन् १,००० रुपैयाँभन्दा बढी सेयर मूल्य भएका ३५ कम्पनी



काठमाडौं । केही समय यता सेयर बजारमा उतार चढाब देखिएको छ । उतार चढाबका बीच अहिले बजार २ हजार बिन्दुभन्दा तल पुगेको छ ।

तर, बजारमा गिरावट आएको समयमा पनि केहि उच्च मूल्यका कम्पनीहरुमा सेयरधनीको भरोसा कायमै छ ।
लगानीकर्ताहरुले लाभांश नदिने, समयमा नै वित्तीय विवरण पेश नगर्ने, प्रति सेयर नेटवर्थ र प्रति सेयर आम्दानी थोरै भएका कम्पनीमा पनि भरोसा कायम राखेका देखिन्छ ।

बिहीबारको कारोबारलाई आधार मान्दा ३१३ कम्पनीको सेयर किनबेच भयो । यस दिन ३१३ कम्पनीमध्ये १ हजार रुपैयाँभन्दा बढी सेयर मूल्य हुने ३५ वटा कम्पनी रहेका छन् । जसमा अधिकांश लघुवित्त छन् भने जलविद्युत कम्पनी समेत रहेका छन् ।

१ हजार रुपैयाँभन्दा बढी मूल्य भएका ३५ कम्पनीमा वर्षौंदेखि साधारणसभा नगरेको बिशाल बजार कम्पनी र राष्ट्रिय बिमा कम्पनी समेत रहेका छन् । यी सरकारी स्वामित्वका कम्पनी हुन् । यी कम्पनीले नियामक निकाय धितोपत्र बोर्ड, बिमा प्राधिकरणलाई समेत अटेर गर्दै साधारणसभा पनि गरेका छैनन् भने वित्तीय विवरण समेत सार्वजनिक गरेका छैनन् ।

सरकारी स्वामित्वका कम्पनीले नै सेयर लगानीकर्तालाई ठगी रहेका भएपनि यी कम्पनीहरु १ हजार रुपैयाँचन्दा बढिमा कारोबार भइरहेका छन् । लगानीकर्तालाई सरकारी स्वामित्वका कम्पनीले ठग्दा राज्यका नियामक निकाय निरिह बनेका छन्।

बजारमा १ हजार रुपैयाँभन्दा बढी मूल्य भएका ३५ कम्पनी मध्ये १४ वटा कम्पनीले गत आर्थिक वर्षको असार मसान्तको नाफाबाट लाभांश बाँडेका छन् भने बाँकी कम्पनीको लाभांशको अत्तोपत्तो छैन । लाभांश नै नपाएपनि कम्पनीमाथि लगानीकर्ताको विश्वास भएको देखिन्छ ।

बिहीबारको कारोबारलाई आधारमान्दा सबैभन्दा धेरै मूल्य हुने पहिलो कम्पनीमा युनिलिभर नेपाल रहेको छ । युनिलिभरको सेयर मूल्य प्रतिकित्ता ३८ हजार ४०० रुपैयाँ रहेको छ ।

कम्पनीले गत आवको नाफाबाट सेयरधनीलाई १५८० रुपैयाँ नगद लाभांश दिएको थियो । चालु आर्थिक वर्षको नौ महिना अर्थात चैत मसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी २२०२ रुपैयाँ र प्रति सेयर नेटवर्थ ३१६२ रुपैयाँ रहेको छ ।
यस्तै, सेयर बजारमा दोस्रो महँगो बोटलर्स नेपाल बालाजुको सेयर मूल्य प्रतिकित्ता १५ हजार ४५४ रुपैयाँ रहेको छ । कम्पनीले गत आवको नाफाबाट २० प्रतिशत नगद लाभांश दिएको छ ।

तेस्रो महँगो सेयर भएको कम्पनी राष्ट्रिय बिमा कम्पनीले सेयरधनीलाई लाभांश नै नदिएपनि यसको प्रतिकित्ता १२ हजार ८३६ रुपैयाँ रहेको छ ।

चैत मसान्तसम्म कम्पनीको प्रति सेयर आम्दानी १९४ रुपैयाँ र प्रति सेयर नेटवर्थ १६११ रुपैयाँ रहेको छ ।
यस्तै, मूल्यको आधारमा चौथो कम्पनी बोटलर्स नेपाल तराईले सेयरधनीलाई ६० प्रतिशत नगद लाभांश दिएको थियो । कम्पनीको सेयर मूल्य प्रतिकित्ता १२ हजार ६०० रुपैयाँ रहेको छ ।

पाँचौं महँगो साल्ट टे«डिङ कर्पोरेशनको सेयर मूल्य ४ हजार २७५ रुपैयाँ रहेको छ । कम्पनीले गत आवको नाफाबाट बोनस १५ प्रतिशत र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश दिएको छ । कम्पनीको प्रति सेयर आम्दानी २१ रुपैयाँ ६० पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ २८९ रुपैयाँ ६० पैसा रहेको छ ।

तर, बर्षौदेखि सेयरधनीलाई हात खाली बनाएको कम्पनी बिशालबजार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३ हजार ७४९ रुपैयाँ रहेको छ । बजारमा बिशालबजार कम्पनीको सेयर मूल्य छैठौं महँगो रहेको छ ।

सेयरधनीलाई २५ प्रतिशत बोनससहित २६.३२ प्रतिशत लाभांश दिएको नागरिक लगानी कोषको सेयर मूल्य प्रतिकित्ता २ हजार ७२ रुपैयाँ रहेको छ । नागरिक लगानी कोष सातौं महँगो सेयर हो । चैत मसान्तसम्म कम्पनीको प्रति सेयर आम्दानी २२ रुपैयाँ १४ पैसा र प्रति सेयर नेटवर्थ १७१ रुपैयाँ ४१ पैसा रहेको छ ।

आठौं महँगो गुँरास लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य २०५० रुपैयाँ रहेको छ । कम्पनीको प्रति सेयर आम्दानी २९ रुपैयाँ ५६ पैसा र प्रति सेयर नेटवर्थ १४३ रुपैयाँ २३ पैसा रहेको छ ।

सेयरधनीको हात खाली बनाएको तर नवौं महँगो उन्नती सहकार्य लघुवित्तको सेयर मूल्य २०१२ रुपैयाँ रहेको छ । कम्पनीको प्रति सेयर आम्दानी ५ रुपैयाँ ३२ पैसा र प्रति सेयर नेटवर्थ १४५ रुपैयाँ १३ पैसा रहेको छ ।

यसतै, दसौं महँगो सेयर भएको आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट १५ प्रतिशत लाभांश दिएको छ । जसमा बोनस १० र कर सहित नगद ५ प्रतिशत रहेको छ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य प्रतिकित्ता २ हजार रुपैयाँ रहेको छ ।

सेयर धनीलाई १४ प्रतिशत बोनससहित १५ प्रतिशत लाभांश दिएको एघारौं महँगो समाज लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १९५८ रुपैयाँ रहेको छ ।

सेयरधनीलाई १५ प्रतिशत नगद लाभांश दिएको नेष्डो समृद्ध लघुवित्तको सेयर मूल्य १८१० रुपैयाँ रहेको छ । कम्पनीको प्रति सेयर आम्दानी १५ रुपैयाँ ०७ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ ३९५ रुपैयाँ ०१ पैसा रहेको छ ।

यस्तै, महिला लघुवित्तको प्रति सेयर आम्दानी २४ रुपैयाँ ६८ पैसा र प्रति सेयर नेटवर्थ २०१ रुपैयाँ ९ पैसा रहेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता १७ सय ३५ रुपैयाँ रहेको छ ।

सेयर धनीलाई १९ प्रतिशत बोनस सहित २० प्रतिशत लाभांश दिएको युनिक नेपाल लघुवित्तको सेयर मूल्य प्रतिकित्ता १६८४ रुपैयाँ रहेको छ । कम्पनीको प्रति सेयर आम्दानी २५ रुपैयाँ ८७ पैसा, प्रति सेयर नेटवर्थ ३२८ रुपैयाँ ६५ पैसा रहेको छ ।

सीवाईसी नेपाल लघुवित्तले सेयरधनीको हात खाली बनाएको छ । तर, कम्पनीको सेयर मूल्य भने १५८४ रुपैयाँ रहेको छ । चैत मसान्तसम्म कम्पनीको प्रति सेयर आम्दानी १४ रुपैयाँ ०२ पैसा रहेको छ । यस्तै यसको प्रतिसेयर नेटवर्थ २१६ रुपैयाँ ४० पैसा रहेको छ ।

उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १४७९ रुपैयाँ रहेको छ । कम्पनीको प्रति सेयर आम्दानी १० रुपैयाँ ९१ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ २२१ रुपैयाँ २० पैसा रहेको छ ।

सेयरधनीलाई १३.६८ प्रतिशत लाभांश दिएको सपोर्ट लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य प्रतिकित्ता १४४० रुपैयाँ रहेको छ ।
चैत मसान्तसम्म प्रति सेयर आम्दानी १४ रुपैयाँ १० पैसा र प्रति सेयर नेटवर्थ १४४ रुपैयाँ ४५ पैसा रहेको इन्फिनिटी लघुवित्तको सेयर मूल्य प्रतिकित्ता १३७२ रुपैयाँ रहेको छ ।

वन नेपाल लघुवित्तको सेयर मूल्य १३३० रुपैयाँ रहेको छ ।

सेयरधनीलाई १४ प्रतिशत बोनस सहित १४.७४ प्रतिशत लाभांश दिएको जीवन बिकास लघुवित्तको सेयर मूल्य १३१७ रुपैयाँ रहेको छ । चैत मसान्तसम्म कम्पनीको प्रति सेयर आम्दानी २६ रुपैयाँ ३७ पैसा र प्रति सेयर नेटवर्थ २४३ रुपैयाँ ०५ पैसा रहेको छ ।

यसैगरि, १० प्रतिशत बोनस र १५ प्रतिशत नगदसहित २५ प्रतिशत लाभांश दिएको हिमालयन डिष्ट्रिलरी कम्पनीको सेयर मूल्य १३०४ रुपैयाँ रहेको छ । चैत मसान्तसम्म कम्पनीको प्रति सेयर आम्दानी १० रुपैयाँ ५० पैसा र प्रति सेयर नेटवर्थ ११९ रुपैयाँ ७४ पैसा रहेको छ ।

नेशनल लघुवित्तले सेयरधनीलाई नगद ७.५ र बोनस ७.५ सहित १५ प्रतिशत लाभांश दिएको छ भने कम्पनीको सेयर मूल्य प्रतिकित्ता १२७२ रुपैयाँ रहेको छ । कम्पनीको प्रति सेयर आम्दानी २१ रुपैयाँ ८२ पैसा र प्रति सेयर नेटवर्थ २४३ रुपैयाँ २९ पैसा रहेको छ ।

यसैगरि, मानुषि लघुवित्तको सेयर मूल्य १२६९ रुपैयाँ, लाइफ इन्स्योरेन्स कर्पोरेशनको १२५० रुपैयाँ, सृजनशिल लघुवित्तको सेयर मूल्य सेयर मूल्य प्रतिकित्ता १२४८ रुपैयाँ रहेको छ ।

चैत मसान्तसम्म स्वाभिमान लघुवित्त वित्तीय संस्थाको प्रति सेयर आम्दानी ०.९२ पैसा र प्रति सेयर नेटवर्थ १४३ रुपैयाँ ७६ पैसा रहेको छ भने कम्पनीको सेयर मूल्य प्रतिकित्ता १२४२ रुपैयाँ रहेको छ ।

सेयर बजारमा माहुली लघुवित्तको प्रतिकित्ता १२२३ रुपैयाँ र धौलागिरी लघुवित्तको ११८९ रुपैयाँ रहेको छ ।

यस्तै, मिथिला लघुवित्तको सेयर मूल्य ११८३ रुपैयाँ रहेको छ । चैत मसान्तसम्म कम्पनीको प्रति सेयर आम्दानी २० रुपैयाँ ४४ पैसा रहेको छ । यस्तै कम्पनीको प्रति सेयर नेटवर्थ १६९ रुपैयाँ ४१ पैसा रहेको छ ।

फरवार्ड माइक्रोफाइनान्सको सेयर मूल्य ११८० रुपैयाँ रहेको छ । चैत मसान्तसम्म १४ रुपैयाँ ७२ पैसा र प्रति सेयर नेटवर्थ २६९ रुपैयाँ ३४ पैसा रहेको छ ।

चैत मसान्तसम्म ७ रुपैयाँ ५५ पैसा र प्रति सेयर नेटवर्थ १४५ रुपैयाँ ३० पैसा रहेको गणपति लघुवित्त वित्तीय संस्थाका सेयर मूल्य ११८० रुपैयाँ रहेको छ ।

सेयरधनीलाई १० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको ग्लोबल आइएमई लघुवित्तको सेयर मूल्य प्रतिकित्ता ११४५ रुपैयाँ रहेको छ ।

यसैगरि, चैत मसान्तसम्म १३ रुपैयाँ ४१ पैसा र प्रति सेयर नेटवर्थ १८७ रुपैयाँ ०४ पैसा रहेको लक्ष्मी लघुवित्तको सेयर मूल्य १०८० रुपैयाँ रहेको छ ।

एक हजारभन्दा बढि मूल्यको सेयरमा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था पनि पर्दछ । कम्पनीको सेयर मूल्य १०२१ रुपैयाँ छ भने कुथेली बुखरी स्मल हाईड्रोपावर कम्पनीको सेयर मूल्य १०२० रुपैयाँ रहेको छ ।


सोभित थपलिया