सरकारको नीति तथा कार्यक्रम जेठ १ गते सार्वजनिक हुने, यी हुन् मन्त्रिपरिषद्का निर्णय



काठमाडौं । सरकारले जेठ १ गते आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ १ गते प्रस्तुत गर्ने निर्णय गरेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जेठ १ गते दिउँसो ३ बजे संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेस गरिने जानकारी दिइन् ।

सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्नेछन् ।

बैठकले प्रहरी नायब महानिरीक्षक (डीआईजी) उमेशराज जोशी र भीम ढकाललाई बढुवा गर्ने निर्णय गरेको छ । बैठकले जोशी र ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेको उनले जानकारी दिइन् ।

संवत् २०८१ वैशाख २७ गतेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरुः

१. प्रहरी नायवमहानिरीक्षकहरु श्री उमेशराज जोशी र श्री भिमप्रसाद ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा नियुक्त गरी पदस्थापन गर्ने ।

२. अन्तर्राष्ट्रियस्तरको क्रिकेट, कराँते, तेक्वान्दो र कबड्डी प्रतियोगितामा विजयी तथा पदक प्राप्त खेलाडी, प्रशिक्षक तथा व्यवस्थापक गरी जम्मा ४२ जनालाई पुरस्कार तथा सम्मान गर्न स्वीकृति दिने ।

३. समाजकल्याण परिषदको रिक्त उपाध्यक्ष पदमा श्री नन्दलाल माझी, सुनसरीलाई मनोनयन गर्ने । ४. भाषा आयोगको रिक्त सदस्य पदमा श्री सुरेश मानन्धर, काठमाडौंलाई नियुक्त गर्ने ।


क्लिकमान्डु