जीवन बिमा कम्पनीको लाभांश औसत १९ प्रतिशत, निर्जीवनको ६% भन्दा कम



काठमाडौं । आर्थिक वर्ष २०७९/८० को खुद मुनाफाबाट लाभांश घोषणा गरेका जीवन बिमाा कम्पनीहरुको औसत लाभांश करिब १९ प्रतिशत रहेको छ । गत आवसम्मको नाफाबाट ८ कम्पनीले औसतमा १८.७६ प्रतिशत घोषणा गरेका हुन् ।

गत आवको नाफाबाट लाभांश घोषणा गर्नेमा आइएमई, सुर्यज्योती, सन नेपाल, एशियन, रिलायबल नेपाल, प्रभु, सिटिजन र एलआईसी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी हुन् । यिनीहरुमध्ये एलआईसी नेपालले लाभांश नदिने भएको छ ।

यस्तै सानिमा रिलायन्स, हिमालयन र नेपाल लाइफले आव २०७९/८० को नाफाबाट लाभांश नदिने घोषणा गरिसकेका छन् । गत आवको नाफाबाट लाभांश घोषणा नगर्ने सूचीमा पछिल्लो ३ र नेसनल लाइफ पर्छन् ।

हालसम्म आइएमई लाइफले कुल २६.३१ प्रतिशत, सुर्यज्योतीले ३५ प्रतिशत, सन नेपालले २५.०५ प्रतिशत, एशियनले .१५७ प्रतिशत, रिलायबल नेपालले १६.८४ प्रतिशत, प्रभु लाइफले १०.३१५८ प्रतिशत लाभांश घोषणा गरेका छन् । सिटिजन लाइफले २८.४० प्रतिशत लाभांश घोषणा गरेको थियो । तर, बिमा प्राधिकरणको निर्देशन अनुसार रद्द भएको जनाएको छ ।

जीवन बिमा कम्पनीहरुमध्ये राष्ट्रिय जीवन बिमा कम्पनी सरकारी स्वामित्वको कम्पनी हो भने मेट लाइफ अमेरिकी कम्पनीको शाखा हो ।

यता निर्जीवन बिमा कम्पनीहरुको औसत लाभांश ५.७३ प्रतिशतमात्र छ । हालसम्म लाभांश घोषणा गर्ने निर्जीवन बीमा कम्पनीहरुमध्ये प्रभु र सगरमाथा लुम्बिनीले समान ५-५ प्रतिशत, सिद्धार्थ प्रिमियरले ११ प्रतिशत, युनाइटेड अजोडले १०.८० प्रतिशत, हिमालयन एभरेस्टले १५ प्रतिशत र नेपाल इन्स्योरेन्सले १०.५२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । यस्तै नेको, आईजीआई प्रुडेन्सियल, शिखर र सानिमा जीआईसीले लाभांश नदिने प्रस्ताव गरेका थिए ।

राष्ट्रिय बीमा कम्पनीको लाभांश घोषणा भएको छैन भने बाँकी ओरियन्टल र नेसनल इन्स्योरेन्स भारतीय कम्पनी हुन् । पुनर्बिमा कम्पनीहरु नेपाल रि इन्स्योरेन्स र हिमालयन रि इन्स्योरेन्सले क्रमशः ५ र ४.२१ प्रतिशत लाभांश प्रस्ताव गरेका छन् ।

यीमध्ये सन नेपाल लाइफको बुक क्लोज मिति बैशाख २७ गते रहेको छ । त्यसपछि साधारणसभाले अनुमोदन गरेपछि लाभांश वितरण हुनेछ ।

सिटिजन र सन नेपालबाहेक सबै कम्पनीको प्रस्तावित लाभांश साधारणसभाले पारित गरिसकेका छन् भने अधिकांश कम्पनीको सेयरधनीले प्रतिफल खातामा प्राप्त गरिसकेका छन् ।


क्लिकमान्डु