सहकारीको समस्यालाई सम्बोधन गर्न अर्को मन्त्रीपरिषद् बैठकले ठोस योजना ल्याउँछ : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारीको समस्यालाई सम्बोधन गर्न अर्को मन्त्रीपरिषद् बैठकले यसबारे ठोस योजना ल्याउने बताएका छन् ।

शनिवार काठमाडौँमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकलाई संशोधन गर्दै अध्यक्ष प्रचण्डले सहकारीको विषयमा उत्पन्न समस्या हल गर्न लागिरहेको बताएका छन् । बैठकमा सहभागी एक सदस्यका अनुसार यसबारेमा विपक्षी दलसँग पनि संवाद जारी राखेको तर निचोड ननिस्किएको प्रचण्डको भनाई छ ।

‘सहकारीको जटिलता गम्भीर बनेको छ, अर्को क्याबिनेटमा यसबारे ठोस योजना आउँछ । कुनै नेतालाई ताकेर होइन समग्र समस्या समाधानका लागि संसदीय छानबिन समिति बनाएर हल गर्न सकिन्छ कि भनेर पहल गरिरहेको छु,’बैठकमा उनले भने,’ विपक्षी दलसँग संवाद जारी छ, निचोड निक्लिएको छैन । केही दिनमा सर्वदलीय बैठक बोलाएर निकास खोज्न लागेको छु ।’

सरकारले महत्त्वपूर्ण विधेयक संसद्मा पेस गरेको बताउँदै सबै सक्रिय भएर छिटो पास गर्नका लागि पनि प्रचण्डले आग्रह गरेका छन् । टिआरसी विधेयकबारे संसद्मा गम्भीर बहसमा भाग लिन र संसदीय गतिविधिमा प्रभावकारी भूमिका खेल्नका लागि सांसदहरूलाई निर्देशन समेत दिएका छन् ।

संसद्को चौथो अधिवेशनलाई प्रभावकारी बनाउन सबै संसदहरुलाई सक्रिय भूमिका खेल्न आग्रह गर्दै नीति तथा कार्यक्रम र बजेट रचनात्मक र प्रभावकारी बनाउन सुझाव दिन प्रचण्डले आग्रह गरेका छन् ।


क्लिकमान्डु