चिनियाँ प्रधानमन्त्रीले एलन मस्कलाई भने- टेस्लासँगको सहकार्य सफल उदाहरण



एजेन्सी । टेस्लाका प्रमुख कार्यकारी अधिकृत(सीईओ) समेत रहेका विश्वका सबैभन्दा धनी मध्येका एक एलन मस्क यतिबेला चीनमा छन् ।

बेइजिङ भ्रमणको क्रममा मस्कले चीनका प्रधानन्त्री ली क्वियाङसँग भेट गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । दोस्रो तहका चिनियाँ उच्च अधिकारीसँगको यो भेटपछि मस्कले आफूहरुबीच लामो समयदेखि चिनजान रहेको र भेटेर खुसी लागेको प्रतिक्रिया दिएका छन् ।

‘प्रधानमन्त्री ली क्वियाङसँग भेटेर धन्य महसुस गरेको छु । हामी एक आपसलाई वर्षौंदेखि चिन्थ्यौं,’ मस्कले भनेका छन् । टेस्लाको पछिल्लो इलेक्ट्रिक भ्यानलाई चिनियाँ प्रोमोटरले बेइजिङ मोटर सोमा राखेपछि मस्क चीन भ्रमणमा गएका हुन् । यद्यपि उनले आफ्नो चीन भ्रमणको तालिकाबारे सार्वजनिक गरेका थिएनन् ।

आइतबार मस्कको भ्रमणको क्रममा प्रधानमन्त्री लीले मस्क समक्ष अमेरिकाले चीनसँग विन विन सहकार्यमा काम गरोस् भन्ने अपेक्षा गरेको बताएका थिए । साथै अमेरिकी कम्पनी टेस्लासँग चीनको सहकार्यलाई लीले एक सफल उदाहरण बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यस्तै लीले चीनको ठूलो आकारको बजारले विदेशी लगानीकर्ताहरुलाई सधैं स्वागत गर्ने प्रतिक्रिया दिएका थिए ।

मस्कले भने प्रधानमन्त्री लीसँगको भेटपछि एक्समा आफ्नो भेटघाटको तस्बिर सार्वजनिक गर्दै आफू खुसी भएको प्रतिक्रिया दिएका छन् । टेस्लाले अमेरिका बाहिर साँघाइमा आफ्नो सबैभन्दा ठूलो निर्माण संयन्त्र सञ्चालन गर्दै आएको छ । जहाँ उसको लगभग आधा कार उत्पादन हुने गर्छन् । तर पछिल्लो समय चिनियाँ कम्पनीहरुसँग प्रतिस्पर्धा गर्नुपर्दा टेस्लाले चीनमा सुस्त बिक्रीको सामना गरिरहेको बताइन्छ ।

डेटा स्थानान्तरण लगायतका विषयमा जटिलताबीच मस्कले अचानक चीन भ्रमण गरेको बताइन्छ । उनी यसअघि भारत जाने कार्यक्रम तय भए पनि भ्रमण बीचमै रद्ध भएपछि मस्क अचानक चीन पुगेका हुन् ।


क्लिकमान्डु