पर्यटन बोर्डमा सीईओ नियुक्ति अनिश्चितकालका लागि स्थगित



काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति प्रक्रिया अनिश्चितकालको लागि स्थगित भएको छ । पर्यटन बोर्डका कर्मचारी युनियनका अध्यक्ष कुन्दन शर्मा मिश्रसहितका ११ जना कर्मचारीले वैशाख ९ गते दर्ता गरेको रिट निवेदनमा १० गते उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

पाटन उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र कैलाशदेव सुवेदीको संयुक्त इजलासले यस अघि जारी अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने आदेश दिएको हो । यो आदेशसँगै अब मुद्दाको टुंगो नलाग्दासम्म पर्यटन बोर्ड सीईओ छनोट उपसमितिले कुनै काम कारबाही गर्न पाउने छैन ।

बोर्डमा सीईओ नियुक्तिका लागि उपसमितिले आवेदन माग गरेर १६ जनाको सूचीसमेत तयार पारेको थियो । सीईओका उम्मेदवारको लागि अन्तरवार्ता र प्रस्तुतीकरण गर्ने समय सार्वजनिक भएपछि प्रक्रिया रोकिएको हो ।

बोर्डको सीईओ नियुक्तिमा बोर्ड ऐन २०५३ विपरीत छनोट कार्यविधि बनाएको, कार्यविधिले बोर्डका कर्मचारीको मूल्यांकन अंक कम हुने र बाहिरबाट आउने उम्मेदवारको बढी हुने गरी गरेको व्यवस्था नै बोर्ड ऐन विपरीत भएको दाबीसहितका विषयमा रिट दायर भएको थियो ।

त्यसो त पर्यटन बोर्ड सञ्चालक समितिले गठन गरेको सीईओ छनोट उपसमितिका संयोजक तथा पर्यटन मन्त्रालयका सहसचिव चक्रबहादुर बूढाको सरुवा भएको छ । बूढाकै संयोजकत्वमा गठन भएको उक्त उपसमितिमा बोर्ड सदस्यद्वय मिलन देवकोटा र मदन आचार्य सदस्य छन् । यी दुई सदस्य देवकोटा र आचार्यको नियुक्तिसमेत मन्त्रिपरिषदले गर्नुपर्नेमा मन्त्रीस्तरीय निर्णयबाट मात्रै भएकोले भन्दै प्रश्न उठेको छ ।

सीईओ छनोट उपसमितिका संयोजकको नै सरुवा भएकोले नयाँ संयोजक तोक्नुपर्ने भएकोले पनि अदातलको फैसलापछि मात्रै पर्यटन बोर्डको सीईओ छनोट कार्य अगाडि बढ्ने भएको छ । बूढाको सरुवा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भएपनि अहिलेसम्म रमाना भने आइनसकेको बूढाले बताए ।


क्लिकमान्डु