यही वर्खाबाट बंगलादेश बिजुली निर्यात हुने, त्रिपक्षीय सम्झौताको अन्तिम तयारी



काठमाडौं । नेपालले यही वर्खाबाट ४० मेगावाट बिजुली बंगलादेश निर्यात गर्ने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल, भारत र बंगलादेशका निकायहरुबीच विद्युत व्यापारका लागि त्रिपक्षीय सम्झौता छिट्टै हुन लागेको बताए ।

मर्स्याङदी-काठमाडौं २२० केभी प्रसारणलाइनको उद्घाटनपछि उनले यही आर्थिक वर्षबाट बंगलादेशलाई पनि ४० मेगावाट विद्युत् निर्यात गर्ने बताए । नेपाल र बंगलादेशबीच विद्युत व्यापारका लागि समझदारी भइसकेको छ । अन्तिम सम्झौता भने हुन बाँकी छ । विद्युत व्यापारका लागि महसुल दरमा समेत सहमति भइसकेको छ । ८.६ रुपैयाँ प्रतियुनिटमा प्रारम्भिक सम्झौता भएको छ । भारतको प्रसारणलाइन प्रयोग गरेबापत ह्‍विलिङ चार्ज बंगलादेशले नै तिर्नेछ । नेपालको अहिले भारतसंग मात्रै विद्युत व्यापार सम्झौता छ ।

आइतबार प्रधानमन्त्री दाहालले मर्स्याङदी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत काठमाडौ उपत्यकामा ल्याउन निर्माण गरिएको मर्स्याङदी-काठमाडौं २२० केभी डबल सर्किट प्रसारण लाइन तथा २२० केभी मातातीर्थ सबस्टेसन उद्घाटन गरे ।

काठमाडौंको चन्द्रागिरि नगरपालिका-८ निर्माण गरिएको सबस्टेसन परिसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रसारण लाइन तथा सबस्टेसन उद्घाटन गरेका हुन् । काठमाडौं उपत्यकामा विद्युत् आपूर्तिका लागि २२०÷१३२ केभी, ३२० एमभिए  क्षमताको मातातीर्थ सबस्टेसन काठमाडौं उपत्यकामा विद्युत् आपूर्तिका लागि सबैभन्दा ठूलो सबस्टेसन हब हो ।

दाहालले विद्युत् प्रणालीमा देखिएको यस्तो प्रकारको मौसमी असन्तुलन हटाउन सरकारले १२०० मेगावाटको बूढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना, १०६३ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजना, ६७० मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनाको निर्माण प्रक्रिया अगाडि बढाइसकेको बताए ।

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले जलविद्युत तथा प्रसारण लाइन निर्माणमा मूख्य समस्यको रुपमा रहेको बन कटानी तथा जग्गा प्राप्ति सम्बन्धी कार्यलाई सहज एवम् छिटो छरितो नबनाएसम्म विकास आयोजनाहरु पूर्व निर्धारित समय र लागतभित्र सम्पन्न गर्न सम्भव नदेखिएको बताए ।

‘एउटा प्रसारण लाइन लामो समय लगाएर सम्पन्न गर्दा युद्ध जितेको महशुस गर्नु पर्ने अवस्थाबाट हामी चाडै मुक्त हुन सकेनौ भने सरकार र जनताले चाहेको द्रुत गतिका विकासको अपेक्षा पुरा हुने सम्भावना न्यून देखिन्छ,’ उनले भने, ‘तसर्थ ऐन कानूनमा व्यापकरुपले परिवर्तन गरी विकास मैत्रि बनाउन जरुरी छ । साथै सम्बन्धित निकायहरु विकास मैत्री रुपले व्यवहारिक भै दिन पनि आवश्यक छ ।’     

मर्स्याङदी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत काठमाडौ उपत्यकामा ल्याउन तनहुँको आँबुखैरनीस्थित मार्कीचोक सबस्टेसनबाट काठमाडौंसम्मको मर्स्याङदी-काठमाडौं २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण गरिएको हो।

तनहुँ, गोरखा, चितवन धादिङ र काठमाडौंमा निर्माण गरिएका प्रसारण लाइनको लम्बाइ ८२ किलोमिटर छ । प्रसारण लाइनमा २३३ वटा टावर निर्माण गरिएको छ । प्रसारण लाइनलाई हाल १३२ केभीमा चार्ज गरी सञ्चालनमा ल्याइएको छ ।

मार्कीचोकबाट चन्द्रगिरि नगरपालिकाको बाडभञ्ज्याङसम्म मर्स्याङदी-काठमाडौं प्रसारण लाइन र त्रिशूली नदी जलाधार क्षेत्रका जलविद्युत आयोजनाहरुको विद्युत काठमाडौं उपत्यकामा ल्याउन निर्माण गरिएको त्रिशूली-काठमाडौं २२० केभी प्रसारण लाइनलाई बाडभञ्ज्याङमा एक आपसमा आवद्ध गरिएको छ । त्रिशूली र मस्याङ्दीका दुवै प्रसारण लाइनलाई बाडभञ्ज्याङबाट मल्टिसर्किट (चार सर्किट ) मा आवद्ध गरी मातातीर्थ सबस्टेसनमा समाहित गरिएको छ ।

मर्स्याङदी-काठमाडौं र त्रिशूली-काठमाडौं प्रसारण लाइनबाट आएको करिब १/१ हजार मेगावाट विद्युत् बाडभञ्ज्याङमा आवद्ध भई त्यहाँबाट करिब २ हजार मेगावाट विद्युत् मल्टिसर्किट प्रसारण लाइनमार्फत मातातीर्थ सबस्टेसनमा समाहित हुने छ । मर्स्याङदी र त्रिशूली नदी बेसिनमा उत्पादित विद्युत् प्रवाह हुने भएकाले काठमाडौं उपत्यकाको भविश्यको विद्युत् मागलाई सम्बोधन गर्न र  देशको समग्र विद्युत् प्रणाली सुधार गर्न प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसन मेरुदण्ड हो ।

मर्स्याङदी-काठमाडौं प्रसारण लाइन निर्माणका लागि भारतीय कम्पनी टाटा प्रोजेक्ट लि.सँग १६ असार २०७३ ९घण् व्गलभ द्दण्ज्ञट०मा १ करोड ३ लाख अमेरिकी डलर र ७६ करोड ६३ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । आयोजना निर्माण भदौ २०७३ सुरु भएको थियो ।

प्रसारण लाइनको रुटको विभिन्न ठाउँमा स्थानीयको अवरोध र कोभिड-१९ महामारीका कारण निर्माणमा केही ढिलाइ भएको थियो । धादिङको सिद्धलेक गाउँपालिका-७ स्थिति पिपलटारमा स्थानीयको अवरोधका कारण झण्डै दुई वर्ष निर्माण प्रभावित भएको थियो ।

आयोजनाअन्तर्गत मातातीर्थ र मार्कीचोक सबस्टेसन निर्माण ठेक्का पाएको कम्पनीको कार्यसम्पादन सन्तोषजनक नभएपछि ठेक्का तोडी २०७७ पुसमा चाइना मेसेनरी इन्जिनियरिङ कर्पोरेसनसँग नयाँ ठेक्का सम्झौता गरी बाँकी निर्माण कार्य अगाडि बढाइएको थियो । यसमध्ये मातातीर्थ सबस्टेसन निर्माण सम्पन्न भइसकेको छ भने मार्कीचोक अन्तिम चरणमा छ । 

नेपाल सरकार तथा प्राधिकरणको लगानी र नर्वे सरकारको अनुदान तथा एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा मर्स्याङदी-काठमाडौं प्रसारण लाइन आयोजना सुरु गरिएको हो । आयोजनाको लागत करिब ८ अर्ब रुपैयाँ रहेको छ ।


क्लिकमान्डु