तेस्रो लगानी सम्मेलन: के के हुँदैछन् सम्झौता ?



काठमाडौं । तेस्रो लगानी सम्मेलनमा चारवटा सम्झौता हुने भएको छ ।

लगानी बोर्डको कार्यालयको अहिलेसम्मको तयारी अनुसार सम्मेलन चारवटा सम्झौतामा सीमित हुने देखिएको हो । बोर्डका अनुसार आइतबार एउटा सम्झौता भएको छ भने सोमबार ३ वटा सम्झौता गर्ने तयारी छ ।

आइतबार व्यवसायी बसन्त चौधरीको विएलसी होल्डिङ्स र भारतको योट्टा डाटा सर्भिसबिच लगानी सम्झौता भएको छ । विएलसीको तर्फबाट मेघा चौधरीले हस्ताक्षर गरेको ३ अर्ब रुपैयाँ लगानीमा नेपालमा बनाइने डाटा सेन्टरको लागि लगानी सम्मेलनको उद्घाटन सत्रमा सम्झौता भएको हो । बसन्त चौधरीको बिएलसी होल्डिङ्सले भारतीय योट्टा डाटा सर्भिससँग मिलेर नेपालमा डाटा सेन्टरमा लगानी गर्ने भएको हो ।

विएलसी होल्डिङ्स र भारतको योट्टा डाटा सर्भिसबिच सम्पन्न लगानी सम्झौता

सोमबार तीनवटा सम्झौता गर्ने तयारी छ । चीन नेपाल मैत्री औद्योगिक पार्क  विकासको सम्झौता हुदै
छ । चिनियाँ कम्पनीसंग सम्झौता गर्ने तयारी भएको छ ।

बोर्डले २५० मेगावाटको ग्रीड कनेक्टेड सोलार आयोजनासंग आयोजना विकास सम्झौता (पीडीए) गर्न लागेको छ । सोलार आयोजनाको पीडीए हङकङको कम्पनीसंग सम्झौता गर्ने तयारी छ । आयोजना कोहलपुर र बाणगंगामा निर्माण हुनेछ ।यो ब्याट्री स्टोरेज सोलारको आयोजना हो  । ब्याट्रीको स्टोरेज क्षमता ४० मेगावाट हुनेछ ।

डाबर नेपालसँग पीआईए गर्ने तयारी छ । डाबर नेपालको क्षमता अभिवृद्धि र उत्पादनमा विविधीकरणका  लागि सम्झौता हुन लागेको हो ।

‘केहि समझदारीहरु हुन सक्छ । पछि कागजात मिलाउने गरी समझदारीको सम्भावना छ, ‘ लगानी बोर्डका एक अधिकारीले भने, ‘बिहान यस्ता विषयहरुमा पनि छलफल भएको सुनिन्थ्यो । हामीले नै कतिपय विषय मिडियाबाट थाहा पायौं ।’

अप्पर मर्स्याङदी-२ जलविद्युत् आयोजनासँग पीडीए गर्न लागिएको थियो । तयारी नपुगेपछि पीडीए रोकिएको छ ।

पर्याप्त गृहकार्य नै नगरी तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन औपचारिकतामा सीमित हुने भएको छ ।  आयोजना छनोट समेत हचुवामा गरिएको पाइएको छ ।


क्लिकमान्डु