नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस्: प्रधानमन्त्री (पूर्णपाठ)



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएको उल्लेख गर्दै यस अवसरलाई सदुपयोग गरेर फाइदा लिन आह्वान गरेका छन् ।

‘नेपाल लगानी सम्मेलन २०२४’को आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाल कानुनी, भौगोलिक एवं रणनीतिक तवरले लगानीका लागि सम्भावनायुक्त देश भएको बताए ।

नेपाल उदार आर्थिक नीतिप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले नेपालमा लगानीमैत्री वातावरण सिर्जना भएको जानकारी दिए । लगानीकर्ता, उद्योगी, नवप्रवर्तक र व्यवसायीलाई सहज अवस्था सिर्जना गर्न नेपाल निरन्तर अगाडि बढेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले हालै मात्र व्यवसाय र लगानीसम्बन्धी विभिन्न आठ कानून परिमार्जन गरेको जानकारी गराए । उनले भने, ‘मलाई विश्वास छ, यसले नेपालमा लगानी गर्ने लगानीकर्ताको आत्मविश्वास बढाउँछ ।’

नेपालमा शान्ति र स्थायित्व कायम भइ आर्थिक विकास र समृद्धिको लागि अनुकूल वातावरण सिर्जना भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सङ्घीय शासन प्रणालीले राष्ट्रव्यापी सामाजिक र आर्थिक रूपान्तरणलाई बढावा दिने सन्तुलित विकास दृष्टिकोण सुनिश्चित गरेको स्पष्ट पारे ।

‘नेपालले विदेशी लगानीकर्ताहरूलाई सबल नियामक ढाँचा, दोहोरो करबाट बच्ने व्यवस्था, बौद्धिक सम्पत्ति अधिकारको संरक्षण, प्रतिस्पर्धात्मक कर्पोरेट करलगायतका धेरै प्रोत्साहनहरू प्रदान गर्दछ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘नेपाल सरकारले हालै द्विपक्षीय लगानी सम्झौताको ढाँचालाई स्वीकृत गरेको छ, यसले द्विपक्षीय लगानीको संरक्षण र प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ ।’ उनले मित्र राष्ट्रहरूलाई द्विपक्षीय लगानी सम्झौतामा हस्ताक्षर गर्न आह्वान गरे ।

नेपालले अबलम्बन गरेका उदार नीतिहरूले प्राथमिकताका क्षेत्रमा विदेशी लगानीलाई प्रोत्साहन गर्ने प्रधानमन्त्रीको विश्वास छ । उनले नेपालमा भएका दक्ष जनशक्ति र कम श्रम लागत पनि अन्तर्राष्ट्रिय लगानीकर्ताहरूका लागि आकर्षण हुने बताए । प्रधानमन्त्री प्रचण्डले भने, ‘प्रत्यक्ष वैदेशिक लगानीकर्ता र राष्ट्रिय लगानीकर्तालाई कुनै पनि भेद्भावपूर्ण व्यवहार नगरिने प्रावधान र विदेशी मुद्रामा नाफा फिर्ता लैजान पाउने सुनिश्चितताले नेपालमा लगानीको आकर्षण अझ बढाउँछ ।’

नेपालको ६० प्रतिशतभन्दा बढी जनसङ्ख्या श्रमिक उमेर समूहभित्र पर्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले तीव्ररूपमा विस्तार हुँदै गएको मध्यमवर्गीय जनसङ्ख्याले उपभोक्तामुखी अवस्थाको अपार सम्भावना देखाएको बताए । उनले विदेशी भाषा बोल्ने युवाहरूको सङ्ख्या उल्लेख्य मात्रामा रहँदा अन्तर्राष्ट्रिय लगानीकर्ताहरूलाई श्रमशक्ति खोज्न मद्दत पुग्ने उल्लेख गरे ।

‘नेपालले पर्यटन, कृषि, उत्पादन, सूचनाप्रविधि, गार्मेन्ट, कृषि प्रशोधन र पूर्वाधारलगायत उच्च मूल्यका बाली उत्पादन जस्ता क्षेत्रमा लगानीका अवसरहरू उपलब्ध गराएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘जलविद्युत् उत्पादनको प्रचुर सम्भावनाले नवीकरणीय र स्वच्छ ऊर्जा आपूर्तिको प्रतिबद्धता व्यक्त गरेको छ । समृद्ध सांस्कृतिक सम्पदा र प्राकृतिक सौन्दर्यले पर्यटन क्षेत्रको बलियो सम्भावनालाई संकेत गर्दछ ।’

नेपालमा जलविद्युत् उत्पादनको प्रचुर सम्भावना भए पनि हालसम्म ३ हजार २०० मेगावाट मात्रै उत्पादन भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले करिब ५ हजार ५६८ मेगावाटका ठूला आयोजना सार्वजनिक–निजी साझेदारी (पीपीपी) मार्फत निर्माण वा कार्यान्वयनको चरणमा रहेको बताए ।

प्रधानमन्त्री प्रचण्डले विद्युत् व्यापार सहज तुल्याउन भारतसँग भएको विद्युत् व्यापार सम्झौता, चीनसँग भएको सहकार्यका र समझदारी एवं बङ्गलादेशसँग भएको विद्युत् निर्यातको समझदारीले लगानीका लागि पर्याप्त पूर्वाधार तयार भएको बताए । उनले भने, ‘यसले नेपालमा जलविद्युत् क्षेत्रमा लगानी गर्ने प्रचुर अवसरहरू स्पष्ट रूपमा देखाउँछ । भारत र चीन जोड्ने निर्माणाधिन अन्तरदेशीय प्रसारण लाइनले यस क्षेत्रभित्र ऊर्जा आदानप्रदानलाई सहज बनाउँछ ।’

प्रधानमन्त्री प्रचण्डले तयारी पोशाक र नेपाली गलैंचा पनि विश्व बजारमा निकासी हुने र गुणस्तरका लागि प्रख्यात भएको उल्लेख गर्दै यस क्षेत्रमा पनि लगानीको प्रचुर सम्भावना रहेको बताए ।

नेपालमा दुई विशेष आर्थिक क्षेत्र सञ्चालनमा आएका र देशका अन्य स्थानमा त्यस्ता आर्थिक क्षेत्र विकास हुने चरणमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले यस्ता क्षेत्रले आर्थिक वृद्धि र औद्योगिक विकासमा बल पुर्‍याउने विश्वास व्यक्त गरे । उनले भने, ‘नेपालमा हाल दश औद्योगिक जिल्लाहरू रहेका छन्, थप छ वटा विकास गर्ने योजना छ, यसले लगानीका लागि आवश्यक पूर्वाधार र सेवाको पहुँच सुनिश्चित गर्दछ ।’

उदीयमान बजार भएका भारत र चीन बीचमा रहेको नेपाल रणनीतिक रूपमा पनि लगानीको लागि उपयुक्त गन्तव्य भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले क्षेत्रीय सम्झौताहरू साफ्टा/बिमिस्टेक र स्वतन्त्र व्यापार व्यवस्थाद्वारा द्विपक्षीय र क्षेत्रीय बजारहरू सुनिश्चित भएको स्पष्ट पारे ।

‘अन्तर्राष्ट्रिय निजी लगानी प्रवाहलाई सहज तुल्याउन उद्योग विभागले ६ अर्ब रुपैयाँभन्दा कमको लगानी अनुमोदन गर्दछ र लगानी बोर्ड नेपालले ६ अर्ब रुपैयाँभन्दा बढीको लगानी वा २०० मेगावाटभन्दा बढी ऊर्जा आयोजनाहरू व्यवस्थापन गर्छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यी दुबै सरकारी एजेन्सीहरू स्वदेशी र अन्तर्राष्ट्रिय लगानीकर्तालाई तोकिएको समयमा सहज सेवा प्रदान गर्न प्रतिबद्ध छन् ।’

वैदेशिक लगानीमा सञ्चालन भएका विभिन्न कम्पनीको हकमा नेपालमा लगानी नाफामुखी रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘ती कम्पनीहरूको लाभांश फिर्ताको अवस्था अकर्षक छ, जसले नेपालमा लगानीको उपयुक्त वातावरण छ भन्ने देखाउँछ ।’

सम्मेलनमा प्रस्तुत परियोजनाहरूले नेपाल र सम्भावित लगानीकर्ताहरू दुवैलाई फाइदा पुग्ने ठोस नतिजा प्राप्त हुने विश्वास व्यक्त गर्दै प्रधानमनत्री प्रचण्डले आगामी दशकमा दिगो र उच्च आर्थिक वृद्धि हासिल गर्ने नेपालको लक्ष्य पूरा हुने बताए । उनले सबैको सहकार्यबाट नेपाल आर्थिक रुपान्तरण र समृद्धिको दिशामा अघि बढ्ने आशा व्यक्त गरे ।

यस्तो छ प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठ

पूर्व प्रधानमन्त्रीहरू
मन्त्रीपरिषद्का सदस्यहरू
विशिष्ट अतिथिहरू
आदरणीय अतिथिहरू
महिला तथा सज्जनवृन्दहरू

सुभप्रभात, नमस्ते

सर्वप्रथम म तेस्रो नेपाल लगानी शिखर सम्मेलन, २०२४ मा तपाईंहरू सबैलाई हार्दिक स्वागत गर्दछु । आजको दिन आर्थिक समृद्धि र दिगो विकासतर्फको हाम्रो यात्राको महत्वपूर्ण अवसर हो ।

यस सम्मलेन हुँदै गर्दा म गहिरो आशा र विश्वासमा छु किनभने नेपाल एक प्रमुख लगानी गन्तव्यको रूपमा उदाइरहेको छ, यसले विश्वभरका लगानीकर्ताहरूका लागि महत्त्वपूर्ण अवसरहरू प्रदान गर्दैछन् ।

नेपाल गौतम बुद्ध, सगरमाथा र वीर मानिसहरूको भूमि हो । त्यसैगरी, यो विदेशी लगानीलाई हृदयदेखि स्वागत गर्ने देश हो । नेपाल प्रयोग नभएका अपार सम्भावना र अवसरका केन्द्रमा उभिएर लगानीकर्ताहरूलाई स्वागत गर्दैछ । हाम्रो उदार आर्थिक नीतिप्रतिको अटल प्रतिबद्धता जीवन्त र लगानीकर्तामैत्री व्यापार वातावरणको जग हो । लगानीकर्ता, उद्योगी, नवप्रवर्तक र व्यवसायीहरूलाई सहजता प्रदान गर्न हामी निरन्तर सुधार गर्न दृढ छौँ । यस सन्दर्भमा नेपाल सरकारले हालै व्यवसाय र लगानीसम्बन्धी विभिन्न आठ कानुन परिमार्जन गरेको छ । मलाई विश्वास छ, यसले नेपालमा लगानी गर्ने लगानीकर्ताको आत्मविश्वास बढाउँछ ।

विशिष्ट अतिथितिहरू

शान्ति र स्थायित्व भएको देशका रूपमा हामीले आर्थिक विकास र समृद्धिको लागि अनुकूल वातावरण सिर्जना गरेका छौँ । सङ्घीय शासन प्रणालीले देशभर सामाजिक र आर्थिक रूपान्तरणलाई बढावा दिने सन्तुलित विकास दृष्टिकोण सुनिश्चित गरेको छ।

नेपालले विदेशी लगानीकर्ताहरूलाई सबल नियामक ढाँचा, दोहोरो करबाट मुक्त रहने व्यवस्था, बौद्धिक सम्पत्ति अधिकारको संरक्षण, प्रतिस्पर्धात्मक कर्पोरेट करलगायतका धेरै प्रोत्साहनहरू प्रदान गरेको छ । नेपाल सरकारले हालै द्विपक्षीय लगानी सम्झौता (बिआइए) को ढाँचालाई स्वीकृत गरेको छ, यसले द्विपक्षीय लगानीको संरक्षण र प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ । म हाम्रा सबै मित्र राष्ट्रहरूलाई चाँडोभन्दा चाँडो ‘बिआइए’ मा हस्ताक्षर गर्न प्रोत्साहित गर्दछु ।

हाम्रा उदार नीतिहरूले प्राथमिकताका क्षेत्रमा विदेशी लगानीलाई प्रोत्साहन गर्छ । हाम्रो दक्ष जनशक्ति र कम श्रम लागतले अन्तर्राष्ट्रिय लगानीकर्ताहरूको लागि आकर्षण गर्दछ । राष्ट्रिय एवं सबै ‘एफडीआई’ बीच हुने गैर–भेदभावपूर्ण व्यवहारको प्रावधान र विदेशी मुद्रामा नाफा लैजाने सुनिश्चितताले नेपालमा लगानीको आकर्षणलाई अझ बढाउँछ ।

विशिष्ट अतिथितिहरू

नेपालका ६० प्रतिशतभन्दा बढी जनसङ्ख्या श्रमिक उमेर समूहभित्र रहेको र तीव्र रूपमा विस्तार हुँदै गएको मध्यमवर्गीय जनसङ्ख्याले उपभोक्ता वृद्धिका अपार सम्भावना देखाएको छ ।

यसबाहेक, विदेशी भाषा बोल्ने युवाहरूको सङ्ख्या उल्लेख्य रहेकाले अन्तर्राष्ट्रिय लगानीकर्ताहरूलाई नेपालमा मनपर्ने स्थानीय दक्ष श्रमशक्ति खोज्न मद्दत पुग्छ । नेपालले पर्यटन, कृषि, उत्पादन, सूचनाप्रविधि, गार्मेन्ट, कृषि प्रशोधन र पूर्वाधार एवं उच्च मूल्यका बाली उत्पादनलगायत विभिन्न क्षेत्रमा लगानीका अवसरहरू उपलब्ध गराएको छ ।

जलविद्युत् उत्पादनको प्रचुर सम्भावनाले नवीकरणीय र स्वच्छ ऊर्जा आपूर्तिको प्रतिबद्धता व्यक्त गर्दछ । त्यस्तै पर्यटन क्षेत्रले समृद्ध सांस्कृतिक सम्पदा र प्राकृतिक सौन्दर्यलाई संकेत गरेको छ ।

नेपालमा जलविद्युत् उत्पादनको प्रचुर सम्भावना भए पनि हालसम्म ३ हजार २०० मेगावाट मात्रै उत्पादन भएको छ । करिब ५ हजार ५६८ मेगावाटका ठूला आयोजना सार्वजनिक–निजी साझेदारी (पीपीपी) मा निर्माण चरणमा छन् । यसले नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्ने प्रचुर अवसरहरू स्पष्ट रूपमा देखाएको छ ।

विद्यमान एवं योजनामा रहेका भारत र चीनसँग जोड्ने अन्तरदेशीय प्रसारण लाइनहरूले ऊर्जा आदानप्रदानलाई सहज बनाउँछ । यस क्षेत्रभित्र विद्युत् सहकार्यलाई सहज तुल्याउन भारतसँग विद्युत् व्यापार सम्झौता, चीनसँग समझदारी र बङ्गलादेशसँग विद्युत् निर्यात समझदारीमा हस्ताक्षर गरेका छौँ ।

पर्यटन उद्योग अर्थतन्त्रको महत्त्वपूर्ण योगदानकर्ताको रूपमा देखिएको छ । सन् २०२३ को जुनमा १२ लाखभन्दा बढी अन्तर्राष्ट्रिय पर्यटकको आगमनले गत वर्षको तुलनामा उल्लेखनीय १७ प्रतिशत वृद्धि भएको तथ्य प्राप्त भएको छ । त्यस्तैगरी सूचना प्रविधि क्षेत्रले सन् २०२१ मा सेवा निर्यातमा लगभग ६५ प्रतिशतको उल्लेखनीय बृद्धिदर कायम गरी उच्चस्तरको लगानी मार्ग देखाएको छ । त्यसैगरी नेपालले उच्च मूल्यवान नगदे बालीहरू निर्यातका लागि आकर्षक अवसरहरू प्रस्तुत गरेको छ, यसले लगानी आकर्षणलाई अझ बढाउने र आर्थिक वृद्धिमा योगदान पुर्‍याउने देखिएको छ ।

तयारी पोशाक र नेपाली गलैंचा पनि विश्व बजारमा निकासी हुने र गुणस्तरका लागि प्रख्यात, लगानीको प्रचुर सम्भावना भएका प्रमुख उत्पादन हुन् । दुई विशेष आर्थिक क्षेत्रहरूको सञ्चालनसँगै देशभर निर्माणको चरणमा रहेका अन्य आर्थिक क्षेत्रले देशको आर्थिक वृद्धि र औद्योगिक विकासलाई बढावा दिने हाम्रो प्रतिबद्धतामा जोड दिएको छ ।

हाल नेपालमा दश औद्योगिक जिल्लाहरू सञ्चालनमा आएका छन्, थप छ वटा विकास गर्ने योजना रहेको छ, यसले कम लागतमा प्रारम्भिक लगानी सुनिश्चित गर्दछ र आवश्यक पूर्वाधार एवं अन्य सहयोग गर्नेछ ।

उदीयमान बजार भारत र चीन बीचमा अवस्थित नेपालको रणनीतिक स्थानका कारण पनि नेपाल लगानीको लागि उपयुक्त गन्तव्य हो भन्ने सङ्केत गर्दछ । बजारमा शुल्कमुक्त पहुँच, क्षेत्रीय सम्झौताहरू साफ्टा/बिमिस्टेक एवं स्वतन्त्र व्यापार सम्झौताले पनि द्विपक्षीय र क्षेत्रीय बजारहरू सुनिश्चित गरेको छ ।

अन्तर्राष्ट्रिय निजी लगानीको सहज प्रवाहलाई सहज बनाउन उद्योग विभागले ६ अर्ब रुपैयाँभन्दा कमको लगानीका लागि अनुमोदन गर्छ भने लगानी बोर्ड नेपालले ६ अर्ब रुपैयाँभन्दा बढीको लगानी वा २०० मेगावाटभन्दा बढी ऊर्जा आयोजनाहरू व्यवस्थापन गर्छ । दुबै सरकारी संस्थाहरू स्वदेशी र अन्तर्राष्ट्रिय लगानीकर्ताहरूलाई तोकिएको समय सीमाभित्र सहज सेवा प्रदान गर्न प्रतिबद्ध छन् ।

नेपालमा वैदेशिक लगानी गरेका कम्पन्नीहरू नाफामुखी देखिएका छन् । ती कम्पनीहरूले लाभांश फिर्ता लगेको अवस्थाले पनि नेपालमा लाभदायक लगानीको वातावरण भएको प्रष्ट देखाउँछ ।

विशिष्ट अतिथितिहरू

हालै भएका सम्झौता र समझदारीको आदानप्रदान सहकार्य र साझेदारीको नयाँ युगको सुरुआत भएको प्रतीक हो । मलाई विश्वास छ निकट भविष्यमा यसको परिणाम आउनेछ । मलाई विश्वास छ, दुई दिनको यो महत्त्वपूर्ण सम्मेलनमा विभिन्न तहमा केही घोषणाहरू गरिनेछन् । यसले सरकार–सरकार, सरकार–व्यवसाय र व्यवसाय–व्यवसाय–सरकारको तहमा नेपाललाई विश्वव्यापी लगानी गन्तव्यको रूपमा प्रस्तुत गर्नेछ ।

यस शिखर सम्मेलनमा प्रस्तुत गरिने परियोजनाहरूले हाम्रो देश र सम्भावित लगानीकर्ताहरू दुवैलाई फाइदा पुग्ने ठोस नतिजाहरूको प्रतिज्ञासहित नेपालमा लगानीका विशाल अवसरहरू सिर्जना हुनेछ । आगामी दशकमा दिगो र उच्च आर्थिक वृद्धि हासिल गर्ने नेपालको लक्ष्य स्वदेशी र विदेशी दुवै निजी क्षेत्रसँगको सामूहिक साझेदारीमा सम्पन्न हुनेछ भन्नेमा म विश्वस्त छु । सबैको सहकार्य र सहयोगले नेपालको आर्थिक सम्भावनालाई सदुपयोग गरी आर्थिक रुपान्तरण र समृद्धिको दिशामा अघि बढ्नेमा म आशावादी छु ।

अन्तमा, म सबै प्रतिनिधिहरूलाई फलदायी र सफल शिखर सम्मेलनको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । हामी यस शिखर सम्मेलनको नतिजालाई साकार तुल्याउने छौँ । नेपालमा तपाईंहरूको समय, सहयोग र अवसर प्रेरणादायी रहोस् । साथै उज्ज्वल भविष्यको लागि बाटो प्रशस्त गरौँ ।

यहाँहरूको नेपाल बसाइ आनन्दायी हरोस् ।

धन्यवाद !


क्लिकमान्डु