लगानी सम्मेलनमा ५५ देशबाट ३८५ प्रतिनिधि सहभागी, आएनन् अडानीसहितका हाइप्रोफाइल बिजनेसम्यान



काठमाडौं । आजबाट सुरु लगानी सम्मेलनका लागि विभिन्न ५५ देशबाट ३८५ प्रतिनिधि काठमाडौं आएका छन् ।
तेस्रो लगानी सम्मेलनमा सहभागी हुन आएका लगानीकर्तामध्ये एकजना पनि हाइप्रोफाइल बिजेसम्यान परेका छैनन् ।

लगानी बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायले लगानी सम्मेलनमा को को विदेशी सहभागी भए भन्ने विषयमा रजिस्ट्रेसन भएकाको सूचीबाट हेर्नुपर्ने बताए । आइतबार (विहान ११ बजेसम्म) रजिस्ट्रेसन गर्ने काम भइरहेकोले विदेशी डिलिगेट्सको विवरण अहिले नै उपलब्ध गराउन नसकिने उनको भनाइ छ । ‘तर, हामीले बेलाएका विदेशी हाइप्रोफाइल बिजनेसम्यान भने आएनन्’ उनले भने ।

लगानी सम्मेलनमा आउन लगानी बोर्ड नेपालले फेसबुकका संस्थापक मार्क जुकरवर्ग, भारतीय धनाड्य अडानी ग्रुपका अध्यक्ष गौतम अडानी, अलिबाबाका संस्थापक ज्याक मा, टेस्लाका संस्थापक एलन मस्कससहित विश्वका धनी तथा बिजनेश टाइकुनलाई निम्ता पठाएको थियो ।

लगानी सम्मेलनमा सहभागी हुन भारतबाट अडानी आउने भनिए पनि उनको उपस्थिति सम्मेलनमा भएन । सम्मेलनमा आउने र दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलसहितका ठूला परियोजनामा लगानी गर्न सक्ने भनेर चासोका साथ हेरिएका अडानीले आउने भनेर निश्चित नगराएकोले आफूहरुले उनी कार्यक्रममा सहभागी हुने बारे केही नभनेको बोर्डका अधिकारीहरुको भनाइ छ ।

बोर्डले १४ सय भन्दा बढीलाई निम्तो पठाएको भए पनि सम्मेलनमा सहभागी हुन निश्चित गरेका विदेशी भने जम्मा ३८५ जना मात्रै रहेको बोर्डले जानकारी दिएको छ । निश्चित गरेका विदेशी पहुनामा हाइप्रोफाइल लगानीकर्ता तथा बिजनेसम्यान एक जना पनि परेका छैनन् ।

स्वदेशी तथा विदेशी लगानी भित्र्याएर आर्थिक समुन्नति हासिल गर्ने उद्देश्यका साथ सरकारको आयोजनामा आइतबारदेखि दुई दिनसम्मका लागि काठमाडौंमा तेस्रो लगानी सम्मेलन सुरु भएको छ । सम्मेलनमा विभिन्न क्षेत्रका करिब एक सय ५१ परियोजना शोकेसमा छन् ।

‘इमर्जिङ नेपाल इन्भेष्टमेन्ट समिट–२०२४’ मा स्वदेश तथा विदेशबाट गरेर एक हजार ६ सय जनाभन्दा बढीको सहभागिता रहेको लगानी बोर्डले अनुमान गरेको छ । सम्मेलन अहिले सोल्टी होटल काठमाडौंमा चलिरहेको छ ।

सम्मेलनमा चीनका दुई सय ६५, भारतका एक सय ४३, संयुक्त राज्य अमेरिकाका ३३, जापानका २८, संयुक्त अधिराज्यका १४, बङ्गलादेशका १३, संयुक्त अरब इमिरेट्स (युएई) का १३ र जर्मनीका १० जना सहभागी भएका छन् । दक्षिण कोरिया, अस्ट्रेलिया र मलेसियाका ९/९ जना सम्मेलनमा सहभागी भएको उनीहरुले गरेको कम्र्फेसनका आधारमा लगानी बोर्डले जानकारी दिएको छ ।

सम्मेलनमा पाकिस्तानबाट आठ, सिङ्गापुरबाट ६, कतार र घानाबाट पाँच/पाँच, साउदी अरब, फ्रान्स र बहराइनबाट चार/चार जनाको सहभागिता रहने जनाइएको छ ।

स्विजरल्यान्ड, फिनल्यान्ड, रुस, अस्ट्रिया, श्रीलङ्का र कोलम्बियाका तीन/तीनजना सम्मलेनका लागि नेपाल आउँदैछन् । फिलिपिन्स, कुवेत, क्यानडा, मौरिसस, बेलारुस र बेल्जियमबाट दुई/दुईजना सम्मेलनमा सहभागी भएको पनि यस अघि नै गरिएको कन्र्फमको तथ्यांकमा उल्लेख छ । तर, आएकाको विवरण भने संकलन गर्ने बाँकी भएको पनि बोर्डले जानकारी दिएको छ ।

सम्मेलनमा इजिप्ट, नर्वे, इटाली, सेनेगल, नेदरल्यान्ड, पोल्यान्ड, इन्डोनेसिया, ताजकिस्तान, दक्षिण अफ्रिका, रोमानिया, मेक्सिको र साइप्रसबाट पनि सम्मेलनमा सहभागिता रहने छ । आयरल्यान्ड, स्लोभेनिया, भियतनाम, बोस्निया, मोरक्को, टर्की, भानुआटु, मौरिटानिया र हङकङबाट पनि सम्मेलनका सहभागी भएको अनुमान बोर्डको छ ।


क्लिकमान्डु