कतार जान लागेका भन्दै ट्रक चढिरहेका हात्तीको भाइरल भिडियो झुटो !



काठमाडौं । कतारका राजा कतारका अमिर(राजा)शेख तमिम बिन हमाद अल थानी बुधबार स्वदेश फर्किएसँगै सामाजिक सञ्जालमा दुईवटा हात्ती विमानमा राखेका विभिन्न एआई तस्बिरहरुका साथै भिडियो भाइरल भएका छन् ।

कतारी राजालाई नेपाल सरकारले उपहारस्वरुप दिने भनेको हात्ती कतार लैजान गाडीमा चढाउँदै गरिएको भन्दै सामाजिक सञ्जालमा भाइरल भएको छ । तर ति भिडियोहरु कतार पठाउनका लागि गाडीमा चढेका हात्ती भन्दै पोस्ट गरिएका भिडियोमा सत्यता नभएको पाइएको छ ।

हात्ती पठाउनेबारे केही निर्णय कतारी राजाको भ्रमणका क्रममा घोषणा भएको छैन । कानुनी र प्राविधिक प्रक्रिया पूरा हुन बाँकी भएकाले हात्ती पठाउने बारे कुनै घोषणा नभएको हो ।

यसअघि कतारी राजाको भ्रमणका क्रममा हात्ती पठाउने बताइएको थियो । हात्ती कतार पठाउनका लागि नेपालको तर्फबाट तयारी पूरा भएको बताइएको छ।

हात्ती दुर्लभ वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार महासन्धि (साईटीस) को अनुसूचीमा सूचीकृत छ । कतारलाई हात्ती दिनका लागि साईटीसले सिफारिस गर्नुपर्छ । तर त्यहाँबाट यसबारे सिफारिस आएको छैन ।

वन मन्त्रालयकाअनुसार साईटीसबाट पनि सिफारिस आइनपुगेका कारण हात्ती पठाउन समय लाग्ने भएको हो ।

दुर्लभ वन्यजन्तु तथा वनस्पतिको व्यापार नियन्त्रण र नियमन गर्ने अन्तर्राष्ट्रिय महासन्धिमा नेपालले हस्ताक्षर गरेको छ । त्यसैले साईटीसमा सूचीकृत वन्यजन्तु तथा वनस्पतिलाई एक देशबाट अर्को देशमा लैजान साईटीस सचिवालयको स्वीकृति चाहिन्छ ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले हात्तीहरु निकुञ्जमै रहेको बताए । भिडियोमा देखिएका ती हात्ती नेपालका नभएको उनको भनाइ छ ।

नेपालले रूद्रकली र खगेन्द्रप्रसाद नामका हात्तीहरूलाई कतार पठाउनका लागि तयारी भने गरेको छ । हात्तीसँगै माउते, फनेत र पछुवा पनि कतार पठाउने तयारी थियो । निकुञ्जका वरिष्ठ पशु चिकित्सक विजयकुमार श्रेष्ठसहितको टोलीले केही महिनाअघि कतार पुगेर हात्ती राख्न तयारी गरिएको चिडियाखानाको अवलोकन गरेर फर्किएको थियो ।


क्लिकमान्डु