पाँचखालमा डेढ अर्ब खर्चेर विशेष आर्थिक क्षेत्र बनाउने लगानीकर्ता खोज्दै सरकार



काठमाडौं । सरकारले लगानी सम्मेलनको शोकेसमा पाँचखाल विशेष आर्थिक क्षेत्रलाई पनि समावेश गरेको छ ।

कृषि वस्तुको प्रशोधन, उत्पादन र प्रविधि क्षेत्रका लागि अति उत्तम क्षेत्रको रुपमा सरकारले पाँचखाल विशेष आर्थिक क्षेत्रलाई लगानी सम्मेलनको शोकेसमा समावेश गरेको हो ।

काठमाडौंबाट ५० किलोमिटर पश्चिम र चीनको सीमाबाट ७० किलोमिटर दक्षिणी भेगमा पर्ने पाँचखालमा यो आयोजनामा वैदेशिक लगानी भित्र्याउन लगानी बोर्डले आगामी लगानी सम्मेलनको शोकेसमा समावेश गरेको हो । यो आर्थिक क्षेत्र निर्माण गर्न ५० हेक्टर जग्गा आवश्यक पर्ने अनुमान गरिएको छ ।

यो क्षेत्रमा दूध र दुग्धजन्य पदार्थ, प्राकृतिक तथा हर्वल औषधी, प्राकृतिक तरकारी, चाउचाउ र पास्ता, तरकारी, घिउ, जुस र जामका २५ साना र मध्यम उद्योग स्थापना गर्ने गरी लगानी सम्मेलनमार्फत यो आयोजना वैदेशिक लगानीको लागि प्रस्ताव गरिएको हो ।

यस्ता उद्योगमार्फत निर्यातजन्य वस्तुको प्रवद्र्धन हुने अपेक्षासहित यो विशेष आर्थिक क्षेत्रमा ५२ औद्योगिक प्लट, आन्तरिक सडक सञ्जाल, विद्युत तथा सञ्चार, खानेपानी, पार्किङलगायतको सुविधा उपलब्ध हुनेछ ।

पव्लिक प्राइभेट पार्टनरशिप(पीपीपी) अवधारणा अन्तर्गत अघि सारिएको यो आयोजनाका लागि लगानी बोर्डले डेढ अर्ब रुपैयाँ प्रस्ताव गरेको छ । यो आयोजनाको वर्तमान मूल्य(एनपीभी) १ अर्ब ९४ करोड रुपैयाँ छ । अर्थात यो बनाउँदा आर्थिक हिसावले फायदाजनक रहेको बताइएको छ । यो विशेष आर्थिक क्षेत्र निर्माण हुँदा लागत लाभ अनुपात २.४९ प्रतिशत छ ।

आर्थिक वर्ष २०६९ मा सम्भाव्यता अध्ययनसमेत भइसकेको यो आयोजना सञ्चालन हुँदा २ हजार ६ सय जनाले प्रत्यक्ष रोजगारी प्राप्त गर्न सक्षम हुनेछन् । यस्तै १० हजार जनाले अप्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् ।

लगानी बोर्डले शक्तिखोर औद्योगिक क्षेत्रलाई पनि लगानीको लागि आकर्षित गर्ने योजनामा समावेश गरेको छ ।

लगानी आकर्षित गर्न बोर्डले चिया अक्सन केन्द्र र वेयरहाउस, थोक कोल्ड स्टोर, कम्प्रेस्ड वायो ग्यास प्लान्ट, अन्डरग्राउण्ड पालिका बजार लगनखेल, फिस ह्याचरी, मासु प्रशोधन तथा बद्यशाला, छुर्पी निर्यात प्रवद्र्धन तथा गुणस्तर सुधार, ग्रीन हाइड्रोजन तथा ग्रीन एमोनिया प्लान्ट, अदुवा मूल्य श्रृंखला, ठूलो अलैंची मूल्य श्रृंखला, टिमुर मूल्य श्रृंखला, पोखरामा मासु प्रशोधन तथा बद्यशालालगायतका योजनालाई पनि समावेश गरेको छ ।


क्लिकमान्डु