वाणिज्य बैंकमा ८२ अर्ब लगानी गरेको डीएफआईले विकास बैंक र लघुवित्तमा लगानी गर्ने



काठमाडौं । नेपालका वाणिज्य बैंकहरुमा साढे ६१ करोड अमेरिकी डलर (करिब ८२ अर्ब रुपैयाँ) लगानी गरेको विदेशी वित्तीय नियोगहरु (डीएफआई)ले अब विकास बैंक र लघुवित्तमा पनि लगानी गर्ने भएका छन् ।

नेपालको निजी क्षेत्रमा ६ वर्षदेखि लगानी गर्दै आएको भए पनि ४ वर्षदेखि मात्रै संस्थागत हुन थालेका विभिन्न देशका वित्तीय संस्थाहरुको समुह डीएफआईले आफनो लगानी विविधीकरण गर्ने क्रममा विकास बैंक र लघुवित्त पहिचान गरेको इन्भेष्ट फर इम्प्याक्ट नेपाल (आइआइएन)का प्रमुख कार्यकारी अधिकृत विवेक श्रेष्ठले बताए ।

हाल क वर्गका ६ वटा वाणिज्य बैकमा लगानी गरेका डीएफआईले ख वर्गका ८ विकास बैंकमा लगानी गर्न छलफल अगाडि बढाएका छन् । नेपालमा कुल १६ विकास बैंक भए तापनि ८ वटा राष्ट्रियस्तरका विकास बैंक छन् । ख वर्गका ८ विकास बैंकमा लगानी गर्न छलफल अगाडि बढेको छ, श्रेष्ठले बताए ।

पछिल्लो समय विभिन्न समस्यामा आएका घ वर्गका लघुवित्तमा पनि डीएफआईले लगानी गर्ने चासो देखाउनु सकारात्मक भए तापनि यसले कस्तो परिणाम ल्याउला भन्ने बारे तत्कालै कुनै प्रतिकृया दिन सकिन्न ।

हाल नेपाल भ्रमणमा रहेको डीएफआईको मिसनले मंगलबार तथा बुधबार विकास बैंक तथा लघुवित्त वित्तीय संस्थाहरुलगायत नियामकीय निकायहरु नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालयलगायत सँग पनि छलफल गर्ने जनाएको छ ।

छलफलमा विकास बैंक तथा लघुवित्त वित्तीय संस्थाहरुका आवश्यकता तथा चाहना सुनेपछि डीएफआई आफनो लगानी रणनीति तथा चासो ब्यक्त गर्नेछ, उनी भन्छन्, त्यसपछि मात्र लगानीको प्रकृया अगाडि बढ्छ ।

त्यसो त हाल लगानी गरिरहेका वाणिज्य बैंकहरुमा पनि महिला शसक्तिकरण, साना तथा मध्यम उद्यमहरु जस्ता क्षेत्रमा नै आफ्नो लगानी लक्षित भएको बताउने श्रेष्ठ डीएफआईका लगानीमा समाजको लागी सार्थकता खोज्ने अर्थात् इम्प्याक्ट पनि हेर्ने गरेको दाबी गर्छन् ।

पछिल्लो समय विश्वमा जलवायु तथा विविध संकटका कारण वातावरणमा दीर्घकालीन तथा सकारात्मक प्रभाव पार्ने लगानीमा जोड दिन थालिएको छ । यसैक्रममा डीएफआईहरुले पनि समाज तथा पृथ्वीमा दीर्घकालीन तथा सकारात्मक प्रभाव पार्ने लगानीमा जोड दिने उनी बताउँछन् ।

विभिन्न देशका वित्तीय नियोगहरुको समुह डीएफआइलाई नेपालको निजी क्षेत्रमा लगानी गर्न इन्भेष्ट फर इम्प्याक्ट नेपालले (आइआइएन) समन्वय गर्दै आएको छ । आइआइएनको समन्वयमा नेपालमा हालसम्म डीएफआइहरुले १ अर्ब ९ करोड अमेरिकी डलर लगानी गरिसकेको छ ।

जसमध्ये, ५६ प्रतिशतभन्दा बढि वाणिज्य बैंकहरुमा लगानी भएको छ । जुन ६१ करोड ५० लाख अमेरिकी डलर (करिब ८५ अर्ब रुपैयाँ) भएको आइआइएनले जनाएको छ ।

आइआइएनका अनुसार दोस्रो ठूलो लगानीका रुपमा हालसम्ममा जलविद्युत क्षेत्रमा २६ प्रतिशत लगानी भएको छ । जलविद्युत क्षेत्रमा हालसम्म २८ करोड ९० लाख अमेरिकी डलर रहेको छ ।

यसका साथै, आइआइएनले प्राइभेट इक्विटी फन्ड, सेवाक्षेत्र तथा सूचना प्रविधिमा पनि लगानी गरेको छ । जसमध्ये, ऊर्जामा ५ करोड अमेरिकी डलर, इक्विटी फण्डमा ९ करोड ५० लाख अमेरिकी डलर, सूचना प्रविधिमा २ करोड अमेरिकी डलर लगानी गरेको आइआइएनले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ ।

आइआइएनमा हाल एसियाली विकास बैंक, ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट, डच इन्टरनेशनल डेभलपमेन्ट बैंक, स्वीस इन्भेस्टमेन्ट फन्ड फर इमर्जिङ मार्केट्स लगायत छन् । यी संस्थाहरुलाई नेपालमा गर्ने लगानीको विषयमा आवश्यक समन्वय गर्ने, सहजीकरण गर्ने तथा नेपालमा लगानी गर्न उत्प्रेरित गर्ने काम आइआइएनले गर्दछ ।


क्लिकमान्डु